I love writing and reading articles, traveling places, making friends etc...
Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.
Posted by
Nobal Niraula ( नोवल निरौला )Saturday, January 3, 2009
नयाँ वर्षको खुसियाली मनाउनै लाग्दा पाएको प्रज्ञा दिदीको म्यासेजले मेरो मनलाई निकै दु:खित वनायो। अकालमा मैले मेरी कान्छी सानीमा (खेम कुमारी दाहाल) लाई गुमाउन वाध्य भएँ।यो जुनीमा मैले मेरी कान्छी सानिमासंग अव कहिल्यै पनि भेट्न पाउने छैन :(
यो काल पनि कस्तो हुने रहेछ, न त रोल नै कुर्ने न त मर्ने दिन नै थाहा दिने। जन्मिने मर्ने एक नियमित प्रक्रिया भएपनि आफ्नोमा शोक पर्दा आफूलाई मात्रै परेको हो कि जस्तो लाग्ने रहेछ। म अनुभव गर्न सक्छु दाइ दिदीहरुलाई परेको चोटको। सानिमालाई चिरआत्माको कामना अनि हार्दिक श्रद्दान्जली ! दाइहरु र दिदीहरु तपाइहरुलाई पनि धैर्यधारण गर्ने शक्तिमिलोस भन्ने कामना!!
जाँदा जाँदै : --------------------------------------------------------------- भाका , भुल , दया , क्षमा र ममता - सन्तोष जान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो - रोजेर छान्दैन त्यो । ईन्द्रै बिन्ती गरुन झुकेर पदमा - त्यो बिन्ती मान्दैन त्यो आयो टप्प टिप्यो लग्यो मिती पुग्यो - टारेर टर्दैन त्यो ।। ---------------------------------------------------------------
हेर्दा हेर्दै अंग्रेजीको नयाँ वर्ष यानेकी सन् 2009 लागिसकेको छ। नयाँ वर्ष संगै पुराना यादहरुले पनि मस्तिष्कमा ठाउँ पाए। नेपाल छँदा अंग्रेजीको कुनै पनि नयाँ वर्ष मनाईएन। तर जव देश छोडियो, तब मात्र यसको चर्चा र महत्व बुझीयो। ति नयाँ वर्षहरु :
2007 - Pattaya, Thailand
2008 - Venice, Italy
2009 - Paris, France
तीन वर्षका नयाँ वर्षहरु तीन भिन्न भिन्न देशमा मनाएर त्यहाँको मनाउँने चलनहरु देख्न पाईयो। Pattaya मा मनाएको नयाँ वर्ष सायद पहिलो पाली भएर होला बिषेश महत्वको थियो। त्यो बेला हामी Pattaya घुम्न गएका थियौं। खासमा Pattaya घुमिसकेर Bangkok मा नयाँ वर्ष मनाउने मेरो योजना परिवर्तन भएको थियो,साथिहरुले Pattaya मै नयाँ वर्ष मनाउने भनेर गरेको निर्णयले। विष्नु आचार्य र म भने Bangkok मा नै जाने निर्णय गर्दै थियौ। केहि समयमा उसको पनि मन परिवर्तन भयो, र नजाने निर्णय गर्यो। म एक्लो के जानु भनेर Pattaya मा नै वस्ने निर्णय लिएको थिएँ। नयाँ वर्ष लाग्ने ३ घन्टा अघि बैंकक शहरमा वम पड्केर नयाँ वर्ष सुनसान गहेछ। धन्न बैकक नगएको राम्रै भएछ। Pattaya मा आताशवाजीका विच नयाँ वर्ष मनाईयो। माथिको डाँडावाट उडेका मान्छेहरु, Walking Street को अंतमा भएको Musical Concert, र भयानक आताशवाजीले नयाँ वर्ष विशेष नै हुने रहेछ भनेर जानकारी दियो।
Venice मा जाने योजना चाहिँ ढिला बनेकोले सहरको नजिकै वस्ने योजना सफल बनेन। Abha, Bharat र Prajwalan सहित को ४ जनाको टोलीले भेनिस सहरको केही टाढाको होटलमा नयाँ वर्ष मनाएको थियो। टाढा टाढा का आतासवाजीहरुलाइ होटेलको कोठावाट नियाल्दै विताईयो। यो दिन नै त हो मैले जिवनमा पहिलो पल्ट Wine चाखेको। एक कप White Wine के खाएको थिएँ जिउ तातेर सार्है निद्रा लाग्यो। अनि सुतें।
Paris को नयाँ वर्ष विशेष रह्यो। मेरो जागिर सकाएर म Paris मा शिद्दार्थ, जगदिश, शोफि, र शानलाइ चर्चित वाटो Champs Elyseeमा भेटें। Notre Dame मा पनि घुमियो अनि Eiffel Tower मा फर्किइयो। फर्किदा त पाईला सार्न पनि गार्हो हुने भिडले Eiffel Tower को त्यत्रो भू-भागलाई ढपक्क ढाकेको थियो। यति धेरै मान्छेहरु त मेरो जीवनमा देखे जस्तो लाग्दैन। जे होस संसारको एक चर्चित पर्यटकिय स्थलमा नयाँ वर्ष मनाईदै थिइयो। युरोपियन युनियनको ताराहरु एक एक गरी निव्दै गए र सवै निभे पछि नयाँ वर्षको शुरुवात भयो अनि Eiffel Tower मा वत्ती वल्न शुरु भयो। त्यति धेरै आताशवाजी नहुने रहेछ। Music पनि थिएन Pattaya को जस्तो। सायद सुरक्षाको दिस्टिले हो पो हो कि? केवल थियो त लाखौं मानिसको होहल्ला र खुसियालिको क्षण! Wine का वोतलहरु चाही यत्र तत्र सर्वत्र जस्तै गरी भुईभरि छरिएका देखिन्थे। अचम्म मान्नु पर्ने कुरा त त्यत्रो भिडलाई पनि सुरक्षा कर्मिले सहज नियन्त्रणमा लिएका थिए। मान्नै पर्दछ वा.........।
यसरी २००९ को नयाँ वर्ष पनि लागि सकेको छ। आशा छ यो नयाँ वर्षले संसारमा सवैको भलो हुने काम गर्ने छ। सम्पूर्ण साथी, आफन्तहरु लगायत यो व्लग पढ्ने सवैलाई मेरो हार्दिक मंगलमय शुभ-कामना।
Posted by
Nobal Niraula ( नोवल निरौला )Friday, December 19, 2008
यो पालिको दशैं पनि पेरिस सहरमा नै वित्यो। गत साल फ्रान्समा भएको रेलको हडतालले छुटेको भएपनि यो पालि भने त्यस्तरी छुटेन। २ भाइहरु (जगदिश र सिद्दार्थ) सहित हाम्रो तिनजनाको टोली पहिलो पल्ट कुनै नेपाली कार्यक्रमको लागि जाने योजना वनाउँदै थियो। भाइहरु नयाँ भएकोले दिउँसो घुमेर वेलुका जमघटहुने स्थल नजिकै (पेरिसको एक हल) मा मलाइ कुर्ने र म चाँही दिनका दिन पेरिस जाने भएकोले वेलुका त्यो वेलामा मात्रै जाने सरसल्लाह भएको थियो। भाइहरु पुगेछन्, म नआएको देखेर हल खोज्न थालेछन्। म त ढुक्कले म्याप नलिई भेट्ने सल्लाह गरेको ठाउँमा पुगें। १० मिनेट भो छैन, १५ भो छैन देख्दिन मोराहरुलाई। फोन गरेको उठाउँदैनन्, न त फोन नै आउँछ। व्याड लक, मैले रुमको नंवर पो डायल गरिरहेको रहेछु मोवाईलको सट्टा अनि जगदिसको मोवाईमा पैसा सकेर मलाइ फोन नै नगर्ने स्थितिमा रै छ। धन्न थाईकान्छो (एडिसन) संग कुरा गरेर सवै कुरो मिल्यो।
जिवनमा पहिलो पल्ट पेरिसमा यति धेरै नेपालीसंग भेटघाट गर्न पाउँदा खुसिको सिमा थिएन। ३ महिनासम्म एक्लो नेपाली भएर विताईरहेको थिएँ। यस्तो जमघटले त म खुसिले पागल भएको थिएँ। जिवन सर र निता दिदीहरुसंग (काउन्सिलर, नेपाली दुतावास) चिनजान भयो। जम्मा एक हप्ता अघि आउनु भएको रहेछ उहाँहरु। छोरीहरु प्रतिभावान, गायन र न्रित्य दुवैमा। दिदी आफैंमा एक कवियत्री अनि राम्रो नाच्नुहुदो रहेछ (भिडियो भाग ३ मा हेर्न सकिन्छ)।
साँच्चि मेट्रोदेखि हलसम्म जाने क्रममा "भु जेड नेपाली?" भनेर २ जना युवतीले सोधे हामीहरुलाई। "उई-उई" (हो हो) भनेर हाम्लेनि उत्तर फर्कायौं। पछि थाहा पाईयो तिनिहरु पनि त्यही कार्यक्रममा पो जाँदै रहेछन, नेपाली चेलिहरु। यसरी जिवनमा पेरिस सहरमा नेपालीहरुले नेपालीहरुसंग फ्रेन्चमा चिनजान गरेको अनुभव पनि वटुलियो।
अर्को रमाईलो कुरो थाहा पाईयो। साउदी अरवको राजाको दरवार त संसारभर रहेछन। अमेरिका, फ्रान्स ... उन्को देशमा त हुने नै भो। तेल दिएको उपलक्षमा उपहार पाएको रे। यति धनि छ रे कि कुरै नगरौ। रमाइलो कुरा त त्यो दरवारहरुको रक्षा गर्ने जवानहरु त नेपाली पो रहेछन्। उनिहरुलाई दरवार भएको हरेक देशको भिषा हुने रै छ र हरेक ३ महिनामा पालो पालो गरी ठाउँ सर्नु पर्ने रहेछ। जस्तो कि ३ महिना अमेरिकाको दरवारको रक्षा गर्यो , वाकि अर्को ३ महिना फ्रान्स, आदि आदि। यो दशैको वेला चाहि उहाँहरुको ड्युटी पेरिसमा परेछ। रमाईलो भो भेटघाटमा। खाडिमुलुक सवै घुमिसकेका रहेछन। "भाई फ्रान्सको आर्मीमा भर्ति लिदो रहेछनी, ट्राई गर्नुस। आखिर जहाँ गएपनि नेपालीको काम उही सलाम ठोक्ने त हो। यहाँ त पैसा नि राम्रो नै हुने रहेछ........." त्यही ग्रुपको एक जना नेपाली दाइले भन्दै थिए। हेर्नुस् दाइ नेपालीहरुले धेरै काम गर्न सक्छन, जस्तो कि म लाहुरे नभई पनि जागिर खादै छु त, त्यस्तो सानो नसम्झिनु नेपालीलाई............" भनेर संझाउने विचार जागेर आयो, तर मैले त्यसो गरिन मौन रहें।
दश युरोको टिकट काटेपछि कार्यक्रम सुरू भयो। मादल देखैं, गितार वाला (लामा) नि रै छन। शिद्दार्थलाई गित वनाउन भने र कपि दिएँ। ३० मिनेटको तयारी पछि हामीले गायौ, वजायौ। यो भिडियो हाम्रो कान्छो जगदिसले लिएछ। अहिले रमाईलो लाग्छ हेर्दा।
वुढी आमा (नाम थाहा छैन) ले जमरा सहितको टिका पनि लगाईदिनु भयो। गुन्दुक , खसिको मासु, अचार, आहा,..........नमस्केको भएपनि ढिंडो खाईयो। सानामा धेरै खाएकोले होला मलाइ ढिंढो मन पर्दैन। उसमाथी नमस्केको ढिंढो चम्चाले खाँदा अप्ठेरो लागिरहेको थियो.
जे होस नयाँ ठाउँमा नयाँ किसिमले जमघट गरेर २०६५ सालको (सन् २००८) को दशैं मनाईयो, रमाईलो भयो। भिडियोका अंशहरु तल राखेको छु:
Posted by
Nobal Niraula ( नोवल निरौला )Thursday, December 4, 2008
मेरो विचारमा ति माईसंसारका वुढा (क्लिक क्लिक) यस्तो सोच्दै होलान्:
--------------------------------------------------------- ठूलो मान्छे हुँ भन्दै, आफ्नो रवाफ देखाउनेहरुलाई पदमोहले उन्मुक्त भई, देशको पहिचान फाल्नेहरुलाई विदेशीलाई खुसी पार्न, हालीमुहाली गर्नेहरुलाई जनतालाई ढाँटि ढाँटि, राष्टियतामा धावा बोल्नेहरुलाई
राम्ररी चिनेको छु, पढेर पत्रिकाहरुमा सुस्त सुस्त गरि गरी सुनेको छु रेडियोहरुमा आँखा धमिलै भएपनि, ठम्याएको छु टिभिहरुमा देखेको छु नाँगो आँखाले, विगतका ईतिहासहरुमा
त्यसैले, श्राप मेरो सधैं, नाटक गर्ने पापिष्ट दुष्टहरुलाई चिरा पार्न खोज्ने धमिराहरुलाई ढुकुटि रित्याउने भ्रष्ट राक्षसलाई वैमानी राष्ट्रघाती फाँसिष्टहरुलाई
तर, आशिर्वाद छ मेरो, तातो गोली खाँदा हाँस्ने ति शहिदहरुप्रति भोकानाँगा हुँदासम्म चिनारी राख्ने गरीवहरुप्रति देश वनाउन कम्मर कसेका, कर्मठ पौरखी हातहरुप्रति कुना कुनामा रहेर पनि, देशको माटो चिन्नेहरुप्रति
जीवन निभ्न लाग्दा सम्म, पुर्खाले सुम्पेको चिनारी, कहिल्यै मैले भुलेको छैन शिरको टोपी भुँईमा, कहिल्यै मैले झारेको छैन टाल्नुपर्ने हुँदा सम्म, दौरा मैले फालेको छैन आफ्नो पहिचान गुमाएर, शत्रुमाझ घुँडा टेकेको छैन नेपाल आमाको मुहार फेर्ने, आशा अझै मारेको छैन ! नेपाल आमाको हाँसो हेर्ने, आशा अझै मरेको छैन !! ---------------------------------------------------------
कति वोक्छौ डोको आमा, कति खन्छौ वारी गर्छौ कति मेलापात, दु:ख गरी गरी फूलि सक्यो कपाल तिम्रो, चाउरि पर्यो गाला लाग्दो होला आसा कति, लाग्दा वुढेस काल
यस्तै यस्तै कुरा गर्यो, फूनमा छोराले घुम्न आउँछौ काठमाडौ, सोध्यो कालेले हुन्छ भनें मैले पनि, मनको ईच्छा मेट्ने त्यै भएर हिडेंकी म, एक हप्ता पहिले
छोरो मेरो पाउरदारी, जागिर नि राम्रो त्यै भएर पोहोर साल, सुन पनि हाल्द्यो यसपाली गुनिउ चोलो, जुत्ता अनि चुरो यस्तो लाग्छ दु:ख मेरो, भाग्दैछ कि जस्तो
घर मेरो माने भन्ज्याङ्, माईति मेरो ठोक्रे आएँ म त काठमान्डु, छोडि वुढो मैले अस्ति घुमें पशुपति, हिजो नारानथान आज आछु स्वयम्भूमा, भोलि चाँगुनारान
छोरो भन्छ कति राम्रो, आहा काठमान्डु आँखा मेरो कमजोर भो, के भन्नु भन्नु छोरो मेरो वाठो पर्यो, लायो वुध्दी पनि पाँच रुपें तिरीकन, मिलाईदियो दुरविन
कति राम्रो ठाउँ आहा, कति राम्रो वस्ती यै वस्तीमा वस्न पाए, हुन्थ्यो होला मस्ती कति अग्लो धरहरा, देखें घन्टा-घर यस्तो लाग्छ यो ठाउँमा, झरेको छ स्वर्ग
अमिन जग्गा नाप्न आउँदा, हेरेकी थें दुरविन निक्कै राम्रो लागेको थ्यो, पारि रानी वन यो दुरविन त अझै राम्रो, कत्ति नजीक ल्याउने निक्कै राम्रो लाग्यो आज, मेरो भाग्ये माने
वुढो भने धान काट्न, लाग्ने भर आनन् यस्तो राम्रो देख्ने ठाउँमा, घुम्न पनि पानन् छोरो होस्त काले जस्तो, धेरै माया गर्ने भाग्गे मैले ल्याकै रै छु, आज मैले माने! भाग्गे मैले ल्याकै रै छु, आज मैले माने!!
मानव जिवनमा Internet एक अंगको रुपमा परिणत हुँदैछ। प्रयोगका हिसावले सुचना आदान प्रदान देखि किनमेलसम्म अनि पहुँचका हिसावले विकसित देखि विकासोन्मुख देशसम्म यसको प्रयोग हुन्छ। हातमा खेलाउने मोवाईलमा समेत चलाउन मिल्ने भएकोले यसको प्रयोग व्यापक रुपमा हुने गरेको पाईन्छ। वाजुरामा वसेर वैंककका समाचार अनि न्युरोडमा वसेर न्युयोर्कका उतार चढाव नियाल्न ईन्टरनेटको प्रयोगले सहज वनाईदिन्छ।
यो वेला Internet ईमेलको लागि मात्र हैन साथिभाईहरुसंग चिना परिचय राख्न पनि प्रयोग गर्ने गरिन्छ। त्यस्तै सुविधा दिन लागिपरेको एउटा नाम हो फेस वुक (Facebook) र यसको वेव ठेगाना हो (www.facebook.com)। Internet को प्रयोग गर्नेहरुले यसको नाम पक्कै सुनेको हुनुपर्दछ। यसले प्रयोगकर्तालाई आफ्नो वारेमा अरुलाई जानकारी दिन र आफूलाई मनपरेकाहरुसंग कुराहरु आदनप्रदान गर्न सघाउँछ। फोटाहरुलाई राख्न, भिडियोहरुलाई राख्न अनि लेख तथा रचनाहरु राख्न, जन्मदिनको सुचना, आदि आदि राख्न मिल्छ। सवैकुराहरुलाई एकै थलोमा वसेर चलाउन पाउनु यसको विषेशता नै हो। अझ, आफू अहिले के गर्दैछु भनेर पल पलको विवरण नि राख्न मिल्छ। जस्तो कि म अहिले खाना पकाउन गएको छु, म घुम्न गएँको छु, म पढ्दै छु, आदि आदि । यसमा पुराना साथीहरुको पूनर्मिलन गराउन देखी, नयाँ साथी खोज्न पनि मिल्छ। त्यसैले यस्ता वेवसाईटहरु अहिले एकदम चर्चामा छन्।
कुरा भर्खरैको हो। एकजना साथिले फेसवुक मार्फत साथि वनाउ भनेर अनुरोध गरेका रहेछन्। खासै ठुलो कुरा कहाँ हो र हैन? लाग्न सक्छ कसैले साथी वनाउ भनेर लेख्दैमा के भो र, मन परे साथी वन नत्र के को टेन्सन् नि हैन? अहँ, म अलिक असहमत छु अनि गम्भिर पनि। मलाई साथीको अनुरोध पठाउने व्यक्तै उनै हाम्रा प्रधानमंत्री हुन् अर्थात पुष्पकमल दाहाल 'प्रचन्ड'। प्रधानमंत्रीले मलाई साथी वनाउन, अनुरोध गरेको? असंभव झै लाग्छ। असंभव नहुन पनि सक्छ- अहिलेका नेताहरुले ईंटरनेटलाई प्रयोग गरेर आफ्ना भावनाहरु, आफ्ना आदर्शहरुलाई वाढ्न खोज्नु कुनै अनौठो कुरा होईन। मैले अनुरोधकर्ताको फोटो हेरेँ, हो, उनै प्रधानमंत्री नै हुन्। म एक कदम अघाडि वढें र प्रधानमंत्री भनाउँदाका साथिहरुलाई हेरें। यो लेख लेख्दासम्म मैले उनका ५ जना साथीहरु देखें र म यहाँ नाम खुलाउन चाहन्न उनका मित्रहरुको। कुरा के भने, उनका साथीहरुमा कोही पनि राजनितिज्ञ छैनन्। म सोच्न थालें, के 'प्रचन्डले वावुराम भट्टराईलाई साथी नवनाई, उनका मन्त्रिमण्डलका सदस्यहरुलाई साथी नवनाई एक अपरिचित नेपालीलाई म तिम्रो साथी बन्न चाहन्छु भनेर अनुरोध पठाउँछन् ? यो असंभवकुरा त हैन, तर क्षिण संभावना भएको कुरा हो। त्यसैले यो अनुरोध कसैवाट उनको उपमा राखेर निर्मित भ्रमपूर्ण अनुरोध हो भनेर म निस्चित प्राय: भएँ। प्रमाण स्वरुप मैले उनको अनुरोधलाई तलको तस्विरमा देखाएको छु।
तस्विर: के यी प्रयोगकर्ताहरु वास्वविक प्रयोगकर्ता नै हुन त ?
कुरा प्रचन्डको मात्र हैन, ३ महिना अगि वावुराम भट्टराईलाई साथी वनाउ भनेर मलाइ मेरो एकजना साथिको अनुरोध पनि आएको हो। तर मैले यसलाई अझ सम्म पनि मानेको छैन। यसको प्रमाण पनि यहि माथिको तस्विरमा देख्न सकिन्छ।
कुरा साधारण लागे पनि यो एकदम ठूलो चुनौतीको विषय हो जस्तो लाग्छ। दुरुपयोग गर्नेहरुले यसलाई नराम्ररी प्रयोग गर्न सक्छन्। मैले माथि उल्लेखित गरे झैं यदि यि 'प्रचन्ड' को नामलिई मलाई अनुरोध गर्नेले यस्तो पनि लेखिदिन सक्छन्: Prachanda is going to marry Indian politician …. वा, Prachanda is buying AK4 ... आदि आदि। यि त केही उदाहरणहरु भए, तर यस्ता कैयन उदाहरणहरु हुन सक्छन् र निकट भविस्यमा यि नघट्लान भन्न सकिन्न।
गिरिजाप्रसाद, माधवकुमार, प्रचन्ड, वावुराम जस्ता राजनितिक नेताहरु; राजेस हमाल, निरुता सिंह जस्ता नायक नायिकाहरु; रामक्रिष्ण ढकाल, लोचन भट्टराई जस्ता गायक गायिकाहरु आदि आदि देशका चर्चित मान्छेहरुले Facebook जस्ता ईंटरनेटमा उपलब्ध Application हरु चलाउनै हुन्न भन्ने हैन। तर, विना अनुमती तिनीहरुको नाम कसैले प्रयोग गरेर गम्भिर षडयन्त्र नरच्लान् भन्न सकिन्न। अंतमा संपूर्ण पाठक वर्गमा विना आधिकारिकता कसैलाई पनि विस्वास नगर्न एवं समाज र देशमा नाम कमाएकाहरुको नामको दुरुपयोग गर्नेहरुलाई भविष्यमा हुन सक्ने गंभिर घटनाहरुप्रति अग्रिम सचेत हुन यो लेखले सहायता गर्ने छ भन्ने कुरा मैले आशा लिएको छु। साथै, माथि उल्लेखित मानिसहरु Facebook का वास्वविक प्रयोग कर्ता हुन् या हैनन् भन्ने कुरा सम्वन्धित पक्षसंग सोधपुछ गरी थप प्रष्ट गरिदिन माईसंसार युनिटलाई आग्रह पनि गर्दछु।