About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Showing posts with label गनथन. Show all posts
Showing posts with label गनथन. Show all posts

सोलुखुम्बु कत्ति रमाईलो

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, May 15, 2011

धन्यवाद ईन्टरनेट। तिमीले गर्दा म  मख्ख छु । हेरन तिमी नभैदिएको भए म मेरो जन्मेको, हुर्केको र पढेको मेरो प्यारो ठाउँको खवर यति टाढाहुँदा कसरी पढ्न सक्थें होला ? मख्ख छु म। धन्यवाद तिमीलाई।

मेरो सोलुखुम्वुमा एफएमको असर भन्ने मार्मीक भिडियो त मैंले पहिले नै  यहाँ  राखेको थिएँ। आज भने सोलुखुम्वु कत्ति रमाईलो भन्ने गीत राख्दै छु। भर्खरै हेर्न पाएँ यो भिडियो (सोलु अनलाईनवाट) । साच्चै सगरमाथालाई ठडाएर राखेकी सोलु तिम्री निक्कै राम्री छौ।


- समाप्त -

Mr. Thom को रहर !

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, February 28, 2011

६० को दशकदेखि कम्प्युटर चलाउँदै काम गर्न थालेको उसलाई जागिर नछुटुन्जेल कलेजमा गएर पढ्न फूर्सद मिलेन। अनुभवले गर्दा उसलाई काम गर्न कलेजको डिग्री कमी भएको खासै महसुस भएन। तर अहिले उमेरको कारणले उ जागिरवाट रिटायर्ड भएको छ।

७० वर्ष नाघेको उ जागिरवाट फूर्सद मिलेपछि Undergrad मा पढ्न आएको छ। मेरो टेवल अगाडिको उसको टेवलमा उ रमाईरमाई कम्प्युटरमा होमवोर्क गर्छ। अरु पढेर जागिर खान खोज्छन्। उ भने जागिर सकाएर पढ्न आएको छ। आखिर चाहना नै त ठूलो रहेछ। उसलाई लाग्दो हो उमेर त घडि घुमेर पो वढेको। नत्र यो वुढेसकालमा किन दु:ख गर्नु परेको होला।

जव अल्छि लाग्छ म उसलाई हेर्छु। वुढो रमाईरमाई काम गरिरहेको छ ! मलाई उसलाई वुढो भन्ने उपमा दिएकोमा पस्चाताप लाग्छ। उसलाई Mr. Thom नै भन्नु ठिक लाग्छ। मलाई लाग्न थाल्छ यो Mr. Thom को जस्तै रहर जगाउनु पर्छ  अनि पो केही हुन्छ ! मेरो अल्छि भाग्छ, म काममा फर्किन्छु :)


- समाप्त -

नयाँ वेवसाईट

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, January 18, 2011

धेरै अगाडि देखि वनाउन चाहेको कुरा आज वनाईयो। युनिभर्सिटीको डोमेनमा व्यक्तिगत वेवसाईट वनाईयो।  यसको वेव ठेगाना  http://umdrive.memphis.edu/nbnraula/www/index.html रहेको छ। मेरो फ्रान्समा रहेको वेव ठेगाना http://www-roc.inria.fr/~niraula कायमै छ तर यसमा अहिले मैंले अध्यावधि गर्न मिल्दैन । त्यसैले नयाँ विवरणहरु मेरो नयाँ ठेगानामा मात्र रहने छन्।

- समाप्त -


Nobal Niraula University of Memphis

निस्चल र पूजासँगको रमाईलो घुमघाम

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, December 29, 2010

यो हप्ता निस्चल र पूजासँगको घुमघामले निकै आनन्द दिलायो। मनमिल्ने साथीहरुलाई धेरै समय पछि भेट्दा निकै रमाईलो लाग्ने रहेछ। सेमेस्टर सकिएर नयँवर्षको छुट्टीमा उनीहरु मलाई भेट्न Memphis सहरमा आएका थिए। उनीहरुसँग यो सहर घुम्न पाउँदा रमाईलो लागिरहेको थियो।

पूल्चोकमा ४ वर्षसँगै पढेका हामीहरुको यो भेट धेरै हिसावले विशेष थियो। पहिलो त यिनीहरुसँग बि.ई. पास गरेपछिको यो नै पहिलो भेट थियो भनेपनि हुन्छ। वि.ई. पास गरेपछि जागिरे जीवनमा लागिने हुँदा साथीहरुसँग भेटघाट गर्ने अवसर नै कम हुन्छ। उसमाथी म AIT हिडेंपछि भेटघाट र जमघटका अवसर आउँदा पनि भेट हुन सक्ने अवस्था थिएन। पछि पूजा त्यसपछि निस्चल अमेरिका हिडेपछि नेपाल जाँदा भेटघाट गर्न पनि सम्भव थिएन।

दोस्रो यिनीहरुलाई पतिपत्नीको सम्वन्धमा गाँसिसकेपछि पहिलो पाली भेट्दै थिएँ। पढ्ने वेला यो सम्वन्धको कुनै छाँटकाँट नदेख्दा गरिने कुराकानी वेग्लै हुन्थ्यो। उ वेला यिनीहरुले एक आपसमा गर्ने व्यवहार र हाल पति पत्नी हुँदाको व्यवहार त फरक हुने नै भयो। निकै फरक ! यिनै दुई भिन्नताहरुको विचमा रहेर अतितका कुरा सम्झिदै  जिस्किदै हाँसो ठट्टा गर्न पाउँदा निकै रमाईलो लागिरहेको थियो।

तेस्रो, अमेरिकामा मेरा पूल्चोकका साथीहरुसँगको पहिलो भेट नै यिनीहरुसँगवाट सुरु भयो। मेरो फ्रान्स वसाई टुङ्ग्याएर अमेरिका आउनुको कारणहरुलाई यो भेटघाटले समर्थन जनाउँदै थियो। मान्छेलाई उसको समुदाय चाहिन्छ। फ्रान्समा यो वेला अमेरिकाको जस्तो नेपाली समुदाय छैन र पछि हुने सम्भावना पनि कम छ किनकी नेपालीहरुलाई भाषाको कारणले त्यहाँ जान र गएपछि टिक्न गार्हो छ। तर अमेरिकामा त्यो समस्या छैन। चाहियो भने यसैगरी साथीहरुसँग भेटघाट गर्न गार्हो छैन। त्यसैले पनि यो भेटघाट रमाईलो थियो।

यी तीन प्रमुख कारणले गर्दा यो भेट रमणीय रह्यो। समय नै यस्तो चिज हो जो हाम्रो अधिनमा छैन। समयको दौरानमा को कता पुग्छ को कता केही थाहा हुन्न। आज समयले हामीहरुलाई नजिकै पुर्याईदिएको छ त्यसैले त यस्ता रमाईला भेटघाट गर्न पाईएको छ।  यस्ता घुमघाम र भेटघाटले मनलाई चँङ्गा र आनन्दित पनि पारेको छ।

- समाप्त -

यस्तो पनि हुँदो रै छ जिन्दगीमा कैले कैले

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, November 13, 2010

Apartment वाट Computer Science Department जाने वाटोमा हरेक दिन मखमली फूलेको देख्दा कतै तिहार आउँदै त छैन भन्ने आभास हुन्थ्यो। नभन्दै नेपाली क्यालेन्डर पल्टाएर हेर्दा तिहार आउनै लागेको रहेछ। त्यसपछि हरेकपाली मैंले ति फूलहरु देख्दा मेरा दिदीहरुको संझना आउँथ्यो। दिदीहरु साथै भैदिएको भए University मा फूलेका यी मखमली फूलहरुको उपयोग गरिन्थ्यो होला। म कलेज जाँदा यस्तै-यस्तै सोचिरहन्थें।

म तिहारको वेलामा यो ठाउँमा फोटो खिच्छु भनेर मनमनै सोचिरहन्थें । मेरो भित्री चाहना यस्तो थियो- फोटोमा म हुनेछु, पछाडी यो ढकमक्क फूलेको मखमली हुनेछ अनि फोटोको टाईटल लेख्ने छु- "भाइटिकाको मौसम छ, कलेज भित्रै यि मखमली फूलेका छन्, तरपनि कुनै रौनकता छैन..."।

समय वित्दै गयो। "भाईटिका पर्सि छ। आज जसरी पनि मैंले फोटो खिच्नुपर्छ"- उही वाटो हुँदै प्रोफेसरसँगको मिटिंङ्गमा जाँदा म सोच्दै थिएँ। म हतारमा थिएँ। मेरो फोटोलिदिनलाई नजिकै मेरा साथीहरु पनि थिएनन्।  मिटिङ्ग पछि साथिसँग आएर म खिच्छु भनेर म मिटिङ्गमा हिडें।

करिव ४ घन्टा पछि म मेरो साथिलिएर फोटो खिच्न पुगें। तर............ अफसोच फूलहरु थिएनन्। साथी भन्दै थियो- "फूलहरु यही फूलेका थिए र? अर्को तिर होला। भवनहरु उस्तै छन्, तिमी झुक्कियौ होला "। हामीले नजीकैको क्षेत्र केलायौं तर अहँ फूल छैनन्। म भन्छु यहिँ थिए फूल। तर अहिले फूल भएको कुनै संकेत छैन त्यहाँ। त्यसैले साथीले भन्न लाग्यो, "तिमी सपना देख्दै हिड्दो रैछौ कि क्या हो"। तव मैले मेरो IPhone वाट विहान आउँदा खिचेको फोटो देखाएँ। जुन यस्तो थियो:

युनिभर्सिटीमा फूलेको मखमली फूल

४ घण्टाको फरकमा यति ठूलो परिवर्तन ? राम्रा फूलहरु "आजै" किन निमोठ्न परेको हो तिनीहरुलाई ? फेरी भाइटिका मनाउने देश भए एउटा कुरा, निसानी नै केही नराखी किन उखेल्न सकेका हुन ? - म मनमनै प्रश्न माथि प्रश्न तेर्साउँदै थिए। मेरो साथी चकित परेर मलाई हेर्दै थियो भने म अपुरो चाहनाको अमिलो स्वाद मन नपरिकन चाख्न वाध्य थिएँ....।

- समाप्त -

पैंचो तिर्दाको खुसी

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, November 5, 2010

मानिसले सहयोगी भावना राख्नु पर्दछ। असहायलाई सघाउँदा पाईने खुसीमा अर्कै रमाईलो हुन्छ । जव अरुलाई सघाईन्छ तव अरुको सहयोग पनि पाईन्छ। यहाँ सहयोगको कुरा गर्नुको सन्दर्भ छ। आज मेरो दिल कसैलाई सघाएकोमा प्रसन्न छ। त्यसैले यो खुसियाली यस व्लग मार्फत साट्न खोज्दै छु। 

आज मैंले फ्रान्सलाई सघाएको छु । सघाएँ भन्नु भन्दा पैंचो तिरेको  भन्नु उपयुक्त होला। फ्रान्सले मेरो जीवनमा ठूलो गुन लगाएको छ। AIT, Thailand वाट फ्रान्सको लागि छानिनु सायद मेरो भाग्य थियो। सुरुको केहि समय भाषागत हिसावले पिडित हुनुपरे पनि उत्तरार्धको समयमा भाषाको समस्या हल भएको थियो। मनपरेको अनुसन्धान केन्द्रमा मन परेको विषयमा कमैले मात्र काम गर्ने अवसर पाउँछन्। मेरो लागि उक्त अवसर वाध्यता वनेर आएको थियो। मेरो मनोवल एकदम उच्च थियो। फलस्वरुप काम गरेको ठाउँवाट अगाड माया पाएको थिएँ र आज टाढा भएपनि माया पाएको छु नै। उनीहरुले मप्रति दिएका अवसरहरु प्रति मैले धन्यवाद दिएर मात्र पुग्दैन। 

मेरो मनपरेको विषयको अनुसन्धानमा जाने चाहनाको टुसा त्यहाँको अनुसन्धान केन्द्र (INRIA) मा कामगर्न छानिएको दिनवाट पलाउन सुरु भएको थियो। जीवनमा पहिलो पल्ट त्यति ठूला अनुसन्धानकर्तासँग चिनजान भयो। उक्त अनुभववाट आज मैंले थप अवसर पाएको छु र मन पर्दापर्दै पनि त्यो ठाउँ छोडेको छु।  French Government को Full Scholarship ले नै यि सव अवसर दिएको हुनाले फेन्च सरकारलाई मरीमुरी मुरी धन्यवाद दिन चाहन्छु।

वुढावुढी, असहायलाई र विध्यार्थीलाई फ्रेन्च सरकारले धेरै सुविधा दिन्छ। यि सवै सुविधा दिन कामगर्नेहरुवाट  उसले धेरै ट्याक्स उठाउने गर्दछ। कामगर्न सक्ने उमेरमा सरकारलाई पैसा दिने र नसकेको अवस्थामा सरकारले सघाउने चलनले  जीवन निकै सहज वन्छ। मैंले फ्रान्स छोडेपनि मलाई उसले लगाएको गुन संझेर आफैंले सोधी खोजी गरी ठुलो धनरासी (मेरो लागि) ट्याक्स मार्फत तिरें। मैंले उक्त रकम नतिरेर नयाँ कार किनेर हुरुरु कुदाउन सक्थें। तर म प्रति उसले लगाएको ठूलो गुनको वदलामा मैंले चुप लागेर वस्न मिल्दैन। त्यसैले आज मैंले पालाको पैंचो तिरेको छु र यसैमा म रमेको छु। अन्तमा फ्रान्स सरकारलाई  Merci Beaucoup (म्याक्सि वकु) भन्न चाहन्छु !

- समाप्त -

पढाईयो अम्रिकनलाईपनि

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, October 6, 2010

पढाउने काम मेरो लागि नौलो हैन। SLC दिनेवेला सहपाठीलाई, B.E. मा होस्टेल वसेकोवेला क्वाटरमा वस्नेसरहरुका छोराछोरीलाई अनि B.E. पछि कान्तिपुर ईन्जिनियरिङ्ग कलेज धापाखेलमा पढाईयो। आजफेरी धेरैवर्षपछि पढाईयो। विगतका अनुभव भएपनि आजको पढाउने काम कस्तो हुने होला भन्ने कौतुहलता थियो किनकी आज अम्रिकन विध्यार्थीहरुलाई पढाउनु थियो। विगतमा सवै पढाउने काम नेपाली माध्यममा हुन्थ्यो तर आजकोमा अंग्रेजी माध्यममा उसमाथी अमेरिकनहरुलाई पढाउनु थियो। कतै विध्यार्थीले सोधेको प्रश्न नबुझ्ने त हैन भन्ने हल्का डर भने थियो किनकी उनीहरुको मात्रीभाषा र उनीहरुको वोल्ने लवजमा म उनीहरुजतिकै पोख्त हुनै सक्दिन।

प्रोफेसर शहरवाहिर जानुपरेकोलेपनि मलाई यो क्लास लिन लगाएको थियो। Operating System को ल्यावमा पढाउनु थियो, रमाइलै गरि वित्यो। खासमा पढाईसकेपछि निकै संन्तुष्ठी मिल्यो, अनुभव वढ्यो अनि आत्माविस्वास पनि । पढाउने काममा रहर पो जाग्न थाल्यो :)। "मैंले PhD गर्दा कहिले प्रोफेसरले मलाई पढाउन पठाउछ र सिकौं जस्तो हुन्थ्यो मलाई, त्यही भएर तिमीले यो अवसरलाई उपयोग गर्नपर्छ" - मेरो प्रोफेसरले मलाई भन्दै थियो। मलाई पनि मेरो प्रस्तुतिकरणमा सुधारल्याउन र अनुभव वटुल्न यो सहयोगी सिद्द हुन्छ जस्तो लागेको छ। जे भएपनि खैरेका छोराछोरीलाई पढाउने अवसर पाईयो आज। वरु तिनीहरुले कस्तो महसुस गरे मेरो पढाउने तरिका बारे भन्ने कुरा प्रोफेसरले अर्को क्लासमा सोधेर मलाई जवाफ दिने नै छन् । तर राम्रो नै पढायो भन्ने जवाफ दिनेछन् भन्ने कुरामा मलाई आशा छ :)) । अर्को क्लास १ महिना पछि छ, अव त झनै सजिलो हुन्छ किनकी त्यो पहिलो क्लास जस्तो नौलो हुने छैन।

- समाप्त -

वाँधिएका हातहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, October 3, 2010

कम्प्युटरका अँङ्गहरुमध्ये प्रोसेसर सवैभन्दा छरितो र चाँढो काम गर्नेमा अँङ्गमा गनिन्छ। यसले हजारौं कामहरु सेकेण्डमै सकाउँछ। उदाहरणको लागि गीत सुन्दै च्याट गर्दै गर्नको लागि गित सुन्ने सफ्टवेर र च्याट गर्ने दुवै सफ्टवेर कम्प्युटरमा एकैपालि चल्न जरुरी छ। प्रोसेसरले चाँढोकाम गर्न सकेको कारणले गर्दापनि यो सम्भव भएको हो। प्रिन्टर पनि कम्पुटरको एक नै अँङ्ग हो तर यो प्रोसेसरको तुलनामा एकदम सुस्त हुन्छ। जस्तो कि १ पेज प्रिन्ट गर्न १ मिनेट नै लागेपनि यो एकदम सुस्ट मानिन्छ किनकी त्यो १ सेकेन्डमा प्रोसेसरले हजारौं काम भ्याउँछ।

यहाँ कम्प्युटरको सवैभन्दा चाँढो चल्ने अङ्ग प्रोसेसर र सुस्तरी चल्ने प्रिन्टरको तुलना गर्नुमा केही दम छ। दिमाखमा निकै  विचारहरु खेलिरहेकाछन् । समयले  नयाँनयाँ अनुभवहरु दिलाउँदै छ । दिमाखले कम्युटरको प्रोसेसर जस्तै हाई स्पिडमा चलेर अनगिन्ती विचारहरु निकालिरहेको छ। तर प्रिन्टर जस्तै सुस्त हातहरुले दिमाखले जम्मागरेको भावनाको आँधिवेहेरीलाई उतार्न सकिरहेका छैनन् यतिखेर। उसै त सुस्तहातहरु उसमाथि दायाँवायाँवाट आउने कामहरुले थपेका अनुरोधहरुलाई सम्हाल्नुपर्दा वाँधिएजस्तो महसुस गर्दछन् ।  यी वाँधिएका हातहरुले यो व्लगमा आज यतिमात्र लेख्न सक्छन्।

- समाप्त -

नयाँ ल्यावबाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, September 17, 2010

नयाँ कुराहरु सवैलाई स्मरणीय नै हुन्छन् । यि कुराहरु नै लामो समयसम्म पनि याद आईरहने खालका हुन्छन्। समय वित्दै जाँदा घटने उस्तै घटनाहरुको महत्व घट्दैजान्छ किनकि तिनिहरु नयाँ नै हुँदैनन्। जस्तो कि कुनै एक मान्छे पहिलोपाली गाउँवाट काठमाडौ जाँदै छ भने उसलाई जाँदाका घटनाहरु लामोसमयसम्म स्मरणीय नै हुन्छन्। बर्षौंपछि पनि कुन वस वा प्लेनमा गएको थिईयो, साथमा कोको थिए, कोसँग भेटभयो भन्ने कुराहरुको संझना गर्न कठिन हुन्न। पछिपछि उहि गाउँ र काठमाडौ आवतजावत गर्दाका कुराहरु याद नहुन सक्छन किनकी ति नौला नै हुँदैनन्।

यो व्लगपनि त्यस्तै एक संझनालायकको ठाउँवाट लेख्दैछु जहाँवाट मैंले अनुसन्धानको सुरुवात गरेको छु। त्यसैले मेरो ल्याववाट पहिलोपाली लेखेको यो व्लग मेरो दिमाखमा रहिरहनेछ। म यही ठाउँवाट अरु व्लगहरु लेखुँला तर ति संझना दिलाउने खालका नहुन सक्छन। नयाँ सेरोफेरो, नौलो वातावरण, नौलो अनुभव सवैकुरा नौलो महसुस गर्दै छु। अलिकति फिक्रि छ त विजिलाईफको सुरुवातको :D । ल्याववाट विदा !

- समाप्त -

जीवनको एक मोड

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, August 31, 2010

जीवनमा केही घटनाहरु यस्ता हुन्छन् जसले यसको दिशालाई नै मोडिदिन्छन्। जस्तो कि यो समयमा SLC पासले उच्च शिक्षा लिन ढोका खोल्छ भने यसको अभावमा पढ्ने अवसरवाट वन्चित हुनुपर्छ । त्यसैले SLC पास जीवनको मोड परिवर्तन गरिदिने एक घटना हो। यस्तै जीवनलाई मोडिदिने एक घटना मेरो सामु आएको छ यतिखेर।

समयले PhD गर्ने अवसर दिलाएको छ। यो शिक्षाले मेरो जीवनलाई निकै मोडिदिने छ। मास्टर्स सकाएर जागिर गरिरहेर वस्दा मेरो जीवनले अर्कै वाटो पहिल्याईरहेको थियो। अव पिएचडि गरेपछि आउने वाटो र पहिलेको वाटोले जीवनलाई निकै फरक-फरक अवस्थामा पुर्याउने भएकोले यो पिएचडि मेरो जीवनको ठूलो मोड वनेर आएको छ।

मानव जीवनको सवैभन्दा उच्च शिक्षा भन्छन् PhD लाई। Algorithms and Problem Solving को Course सँगै मेरो जीवनमा त्यो शिक्षाको शुरुवात भएको छ, 30 August, 2010 वाट। नि:शुल्क आफूलाई मनलागेको विषयमा यसको सुरुवात गर्ने जुन अवसर प्राप्त छ यसले उत्साह थपिदिएको छ एकातिर भने अर्कोतिर यसलाई सफलताको साथ सकाउनुपर्ने चुनौति पनि छ। चुनौति पनि एक अवसर नै हो जहाँ मान्छेले उसको सक्षमतालाई प्रस्तुत सक्दछ। त्यसैले कम्मर कसेर अवसरहरुको प्रयोग गर्दै अघि वढ्नुको विकल्प छैन । यो मोड हुँदै अघि वढेको जीवनको गाडिलाई कल्पना गरेको विसौनीसम्म नपुर्याई भा'छैन :)

- समाप्त -

मोदिआईन पुगिन अमेरिका

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, August 20, 2010

यात्रा सुरुगर्नु अगि मैले नेपाली उपन्यासका पुस्तकहरु किनेको देख्दा म आफैलाई कतै नेपाली साहित्यमा अनुसन्धान गर्न गैरहेको त छैन जस्तो लागेको थियो। हुनपनि मैले यति धेरै नेपाली साहित्यका किताब किनेको यो नै पहिलो अवसर थियो। मैले धेरै जस्तो बी. पी. कोइरालाका किताबहरू किनेको छु। जस्तो की मोदिआईन, तीन घुम्ती, नरेन्द्रदाई आदि। मैले बी. पी. को आत्मवृतान्त इन्टरनेटबाट सुनेको छु। उनी एक महान राजनीतिज्ञ मात्र नभएर कुसल साहित्यकार पनि थिए। उनले एउटा खुट्टा साहित्यमा र अर्को खुट्टा राजनीतिमा राखेर अगाडीबढेका थिए। सुनेको छु उनका लेखरचनामा राजनीतिको कुनै प्रभाव छैन। मोदिआईन उपन्यासमा पनि मैले यो कुरा पाएँ। यसरी दुवै विधामा सफल हुन सकेका व्यक्तित्वबाट म प्रभावित भएको छु। कम्प्युटर र साहित्य दुबैविधामा सफल हुन पाए कस्तो रमाइलो हुन्थ्यो होला :))

संसार अचम्मको छ। मान्छे मरेर गएपनि उसका कृतिहरु रहिरंछां। उसका कृतिहरु पढ्दा लाग्छ उ जिवितै छ। अर्थात् राम्रा कृति छोड्नु संसारमा वाचिरहनु हो। म जन्मिनु अगी नै बितेका बी. पी. को मोदिआईन उपन्यास पढ्दा मैले यहि महसुस गरें। मोदिआइन मिठाई पसलेकी बुढीलाई भन्छन क्यारे। लेखकले आफुलाइ बालकको रुपमा राख्छन। उनि उनका परम्हितैसी मिसिरजीसंग दरभंगा जान्छन। त्यहाँ उनीहरु मोदीको घरमा बस्छन। मोदिआइनले बालकलाई नजिकैको हडाहा पोखरी कसरि बन्यो भन्ने कहानी भन्दै सुताउछिन। कौरव र पाण्डवको लडाइहुँदा मरेका मान्छेहरुलाई चील बोकेर ल्याउदा खसेका हाडखोड निकाल्दा वनेको हुन्छ त्यो हडाहा पोखरी। त्यो लडाइको कहानी एकदम मार्मिक किसिमले बयान गरिएको छ यो उपन्यासमा।

काठमाडौँबाट यात्रा सुरु गरे लगत्तै पढ्न सुरुगरेको यो उपन्यास Memphis मा पुग्दासम्म सकियो। छोटो भएपनि यात्रा भर लाग्यो सकाउन। यसरी मोदिआईन मसंगै विभिन्न नाकामा मेरो passport प्रयोग गर्दै पुगिन अमेरिका।

- समाप्त -

ठमेलमा एक पर्यटक

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, August 17, 2010

ठमेलको एक Gift पसलमा पसे लगत्तै उसले भन्यो - "हेल्लो सर, गुड आफ्टरनुन्"। यसपाली मैंले नेपालीमा वोल्ने चेष्टा गरिन र भनें - "गुड आफ्टरनुन्"। अगिल्लो पसलमा पनि यसैगरी अंग्रजीमा भन्दा मैंले म नेपाली हो भाई भनेर सुरुमै वताएको थिएँ। तर यसपाली केही वेर झुक्याउँ भनेर मैंले उसलाई अंग्रेजी मै वोलेको थिएँ। मेरा आँखा नजीकैका वुद्धको मुर्ति तिर वढिरहँदा उसले भनेको थियो - "दिस इज लाफिङ्ग वुद्द सर "। "ओ या, बट ईट ईज डर्टि ...."- मैंले यसै गरि जवाफ दिएँ। "नो सर, ईट ईज विकाउज अफ डस्ट। आई विल क्लिन ईन फ्रन्ट अफ यु, ईट विल साईन..." - उसले भन्यो। "ओ के"- मैंले जवाफ दिएँ। उसले केही वेर धुलो पुछेपछि मैंले सोधें - "हाउ मच ?" । "जस्ट २००० सर"- उसले जवाफ दियो। यसैगरि उसँग भलाकुसारी हुँदै गयो अनि विचमा मैंले उसलाई भने - "भाइ म नेपाली हो ... :) "। उ पनि मरिमरि हाँस्न लाग्यो र म पनि। "अग्लोअग्लो अनि गोरो देखेर नेपाली हैन भन्ठाने दाइ सरी ..."- उ भन्दै थियो। मैंले पनि उसलाई झुक्कउन यसो गरेको भनेर भनें - उ अझै हाँस्दै थियो।

यसरी ठमेलमा म पर्यटक वन्न पुगें । हुन त म एक पर्यटक नै थिएँ - आन्तरिक पर्यटक। तर भाषा भने अँग्रेजी परेकोले अलिक अप्ठेरो लाग्यो मलाई । म सोच्छु कतै म वास्तविक विदेशी पर्यटक त वन्दै छुईन ? म झस्कन्छु, अनि सोच्दछु अहँ, म त्यस्तो वन्न चाहन्न...।

- समाप्त -

गुरुकुलमा नाटकको मज्जा

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, August 14, 2010

आज 'सपनाको साबिति' नाम गरेको नाटक गुरुकूलमा गएर हेरियो। पुरानो वानेस्वरमा रहेछ गुरुकुल। रेडियो र पत्रिकाहरुमा सुनिरहने भएपनि मैंले गुरुकुलमा गएर नाटक यस अघि कहिल्यै हेरेको थिईन। यस अर्थमा पनि यो विशेष रह्यो। अझ मेरा प्यारा भान्जाभान्जी र वहिनीहरुपनि साथै रहँदा अर्कै किसिमको रमाईलो भयो।

पहिलो पल्ट टिभि हेर्दा मलाई अनौठो अनुभव भएको थियो। त्यो टिभिमा पर्दाहरु परिवर्तन भएको कुरा म वुझ्थिन। किन सट्टसट्ट नयाँनयाँ द्रिष्य आएको होला भनेर म अल्मलिन्थें नवुझुन्जेलसम्म। सानैदेखि टिभि हेरेको मानिसले यो अनुभव लिन सकेका हुन्न रहेछन्। आज यो नाटक हेर्दा पनि यस्तै अनौठो महसुस भयो। टिभिमा जस्तो सट्ट पर्दा परिवर्तन हुन्न नाटकमा। फिल्म सुटिङ्ग हुँदा जस्तो पटकपटक अभिनय गर्न मिल्दैन नाटकमा। त्यसैले नाटकमा अभिनय गर्न सक्नु एकदम गार्हो काम हो। यो अनुभव हेर्न भएपनि हामीहरु गुरुकुलमा एकपल्ट जानुपर्छ जस्तो लाग्छ ।

त्यसैले त हामी नेपाली

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, August 4, 2010

भेटघाटको क्रममा पुल्चोक क्याम्पसबाट नख्खिपोट जानु छ। १४ नंवरको माईक्रो लाग्छ भन्ने सूचना मसँग छ।  पुल्चोक क्याम्पसको गेटवाट निस्कने बितिकै १४ नंवरको माईक्रो लिन मिल्छ। उतिवेला यो नंवर गरेको माईक्रो लगनखेल मात्र जान्थ्यो। अहिलेको काठमाडौ भिडम्भिडको छ। त्यही भएर होला माईक्रो, बस, टेम्पो र  अन्य सवारी साधनको चाप बढेको। काठमाडौको जुनसुकै ठाउँमा जानु परे पनि अव वढिमा २ वटा सवारी लिए पुग्ने रहेछ: एक रत्नपार्क वा वसपार्क आउने अनि त्यहाँवाट जताको पनि गाडि लाग्ने।

१४ नंवरको माईक्रो रोकाउने र उक्तठाउँमा जान्छ कि जाँदैन भनेर सोध्ने क्रममा हुन्छु म। उक्त नंवर लेखेको सवै माईक्रो मेरो पुग्ने ठाउँसम्म नपुग्ने रहेछन्। नजीकै माईक्रो कुरेर वसेका एक भाइसँगको सोधपुछवाट उक्त कुरा थाहा पाउछु। त्यो भाइपनि मजाने ठाउँसम्म नै जाने रहेछन्। कुराकानी गर्दै गयौं। आर्किटेक्चर प्रथमवर्षमा पढ्ने रहेछन्। कहिल्यै नचिनेको भएपनि एउटै क्याम्पस पढेको हुनाले कुरा गर्न सजिलो भयो। निकै कुराहरु भए माईक्रोमा पनि।

झर्ने वेला भाईले मेरो पैसा पनि दिएछन्। मलाई निकै अप्ठेरो महसुस भयो। त्यसैले मैंले मेरो भाडा जवरजस्ति उनीलाई फिर्ता गरें।  यो घटना ठूलो पक्कै हैन तर यो घटनाले मलाई निकै छाप छोडेको छ। संसारका दर्जन देश घुमेको मेरो अनुभवमा कतै पनि मैंले यतिको सहयोगी भावना पाएको छैन। एकै छिनको छोटो परिचयको आधारमा उनले मलाई त्यति आत्मिय ठानेछन्। यो उनको मात्र वानी हैन उनले त नेपाली भावनाको प्रतिनिधित्व गरे झैं लाग्दछ। यसलाई पुष्टि गर्ने मेरा अन्य घटनाहरु छन् तर समय अभावले म आज प्रस्तुत गर्न सक्दिन। यि घटनाहरुको आधारमा मलाई भन्न मनलाग्छ: जतिसुकैको दु:खमा वाँचेका किन नहोऔं र हामी नेपाली, हामी सत्कार दिन निकै अघाडि छौं, सवैलाई माया गर्छौं। त्यसैले त हामी नेपाली हौ, विस्वका अन्य मानव भन्दा निकै प्रिथक ! त्यसैले नेपालीहुनुमा मलाई गर्व छ ।

- समाप्त -

केही वेखुसी केही खुसी

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, August 2, 2010

तेस्रोपालीको प्रधानमन्त्री छान्ने संविधानसभाको प्रयास आजपनि असफल भएको छ। वहुमत नपुगुन्जेल चुनाव गर्नुपर्ने नियम र नेकपा एमाले र तराईका दलहरुको तटस्थ वस्ने निर्णयले गर्दा नेपाली कांग्रेसका उमेद्वार रामचन्द्र पौडेल र एमाओवादिका पुस्पकमल दाहालले वहुमत पुर्याउन सकेनन्। विचरा हामी नेपालीको भाग्ये, कस्ता नराम्रा नेता छानेछौं: एउटा प्रधानमन्त्रीको टुङ्गो त लगाउन  सक्दैनन् कसरी संविधान वनाउछन् र ? :( । दिउँसो काठमाडौमा "वानेस्वर जाउँ वानेस्वर जाउँ, संविधानसभा घेरौं" भनेर माईकिंङ्ग गरेको सुनिन्थ्यो। मलाई पनि गएर खवरदारी गरौं जस्तो लाग्छ एकमनले त...।

खुसीको कुरा दुईबर्ष पछी भेट भएको छ मेरो एक साथीसँग। AIT मा सँगै पढेका हामीहरुले ति मिठा सम्झनाहरु साटासाट गर्यौं। एउटा कुरा परिवर्तन भएको महसुस गरें। त्यो के भने उसको खान्की निकै घटेछ :) । निकै रमाइलो लाग्दै छ उसँगको भेटघाट। मलाई कुकुर देखि डर लाग्छ तर उसको घरको कुकुर देखि भने कतिपनि डर लागेन। कस्तो ज्ञानी रहेछ शैलेशको वुवाको वडि गार्ड :)))

- समाप्त -

Nepal Telecom बाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, July 28, 2010

Nepal Telecom को भद्रकाली office बाट यो ब्लग लेख्दै छु। साथीहरु यहाँ काम गर्ने भएकोले भेटघाट गर्ने कार्यक्रम अन्तरगत म यहाँ आएको हुँ। धेरै त के भनौं र नेपालले प्रगति गरेको कुरा भनेकै संचारमा मात्रै हो जस्तो महसुस भएको छ किनकि सवजनाको हातमा Mobile Phone देख्न पाइने रहेछ आजभोलि । कसैको फोन आएको छ तर कुरा गर्न मन लागेन भने 'मैंले वोलेको केहि वुझिन, पछि कुरा गरौं है' भनेर उम्किन पनि पाइने रहेछ :)। यसको मतलब फोनको गुणस्तर भने अझ पनि सुध्रिसकेको छैन। मेरा साथीहरुलाई यहि भनेर जिस्काउने तरखरमा छु :))

- समाप्त -

यो कस्तो संयोग !

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, July 23, 2010

म अहिले वानेस्वर स्थित संसद एवं संविधानसभाको भवनसँगैको एक अफिसमा वसेर व्लग लेख्दै छु। माधव नेपालले राजीनामा दिएपछि प्रधानमन्त्री को वन्ने भन्ने टुङ्गो अझसम्मपनि लागेको छैन। २ दिन अघि भएको प्रधानमन्त्रीको चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एनेकपा माओवादीका पुष्पकमल दाहाल प्रचन्ड दुवैले वहुमत पुर्याउन सकेनन् किनकी नेकपा एमाले र तराईका दलहरुले चुनावमा भाग नै लिएनन्। आज फेरी दोस्रो पाली प्रधानमन्त्री चुन्न निर्वाचन हुँदैछ यहाँ वानेस्वर स्थित संसद भवनमा। अहिले दिउँसोको ठिक १२:४४ बजेको छ। भोटिङ्गको समय दिउसोको १ बजे रहेको छ। समाचार स्रोतहरुले जनाएअनुसार आजपनि प्रधानमन्त्रीको निर्णय हुन सक्ने स्थिती छैन।

२ बर्ष अगाडि म नेपाल आउँदा गणतन्त्र घोषणा भएको थियो। राजतन्त्रवाट गणतन्त्रमा गएको दिन मेरो आँखा अगाडि झल्झल्ति छ। यो परिवर्तन राम्रो नराम्रो जे भएपनि ठूलो परिवर्तन थियो। यो पालि नेपाल आएको वेला पनि संयोग कस्तो परेको, फेरी राजनितिक परिवर्तन हुँदैछ। यसरी हेर्दा मेरा आगमनले राजनितिक परिवर्तन ल्याउँछन्  :P। मेरो हरेक आगमनमा राजनितिक उथलपुथल हुने हो भने म छिटोछिटो आउँदा देशमा राजनितिक परिवर्तन भएको भयै हुन्छ र देशको स्थिति थप नराम्रो हुन्छ। त्यसैले मेरो आगमन र राजनितिक परिवर्तन संयोग मात्र भैदिवोस जस्तो लाग्छ। यसैमा देशको कल्याण छ :))

वानेस्वर स्थित संसद भवन नजिकैवाट विदा ...

- समाप्त -

पुल्चोक क्याम्पसवाट

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, July 21, 2010

आज २१ जुलाई २०१० को दिन पुल्चोक क्याम्पस आएको छु। धेरै पछि आएको हुनाले होला अनौठो लाग्दैछ। गेट नजिकैका रुखहरु काटिईएको रहेछ। त्यसैले खुल्ला देखिन्छ क्याम्पस। दाइहरु नआउन्जेल क्याम्पसको स्ववियु फोटोकप अगाडि वसेर हेरिरहँदा आफूले चिनेका मान्छेहरु एकदम कम देखें। कस्तो अनौठो लाग्यो।

अहिले म CIT को माथिको सर्भररुमवाट व्लग लेख्दै छु। Pulchowk Campus पढ्दा Internet चलाउनको लागि account वनाउने ठाउँ हो CIT (Center for Internet Technology) । पुल्चोक क्याम्पसको गेट वाट नै देखिन्छ यो भवन। साधारणतया Campus भरीको Internet र Computer नेटवर्क हेर्ने गर्दछ यो विभागले। उति वेला यो कोठामा पस्न पनि डर लाग्थ्यो। तर आज आउँदा कति पनि डर लागेको छैन :P। सायद दाइहरु हुनुभएकोले होला। अहिले कोठामा युवराज सिवाकोटी दाइ र वावुराम दवाडि दाइ कम्युटर सेक्युरिटिको के के मिलाउँदै हुनुहुन्छ। दिपेस दाइ क्लास लिँदै। म भने व्लग लेख्दै छु :) । कति मज्जा :)))

हुन त सवै क्याम्पस र युनिभर्सिटिहरुका आफ्नै महत्व हुन्छन् तर पुल्चोक क्याम्पस जति माया मलाई अरु कलेजको लाग्दैन। यो ठाउँमा नै मैले धेरै कुरा पाएँ, धेरै ठाउँवाट आएका साथीभाई भेट्टाएँ। ४ वर्सको होस्टल वसाई निकै रमाईलो थियो। होस्टल भने जान पाएको छैन । हेरौ मिल्यो भने आज जाने हो। अहिले भर्खर विजुली गयो तर CIT मा भएकोहुनाले कुनै टेन्सन छैन :) । CIT वाट विदा...।

- समाप्त -

दिदीको 'आमा'

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, July 19, 2010

२ वर्ष अघि प्रज्ञा दिदीका लेख रचनाहरु पढ्दा लाग्थ्यो दिदी पनि एक कुसल लेखिका वरावर हुनुहुन्छ। आज दिदीसँगको वार्तालापमा आफ्ना रचनाहरु मधुपर्कमा प्रकाशित भएको सुनाउनुहुँदा निकै खुसी लागेर आयो। दिदीको "आमा" भन्ने कथा यहाँ उपलव्ध छ।द्वन्द्वकालको परिवेसमा लेखिएको यो कथा मलाई रमाईलो लाग्छ। दिदीको मधुपर्कमा प्रकाशित पहिलो कथा "भालु र भलाद्मी" भन्ने कथा भने पढ्न पाएको छैन । दिदीलाई अझ प्रगतिको लागि शुभ-कामना ।

- समाप्त -

अस्तव्यस्त काठमाडौ

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, July 15, 2010

काठमाडौ झर्नु अगाडि काठमाडौको जुन किसिमको चित्र मेरो मनमा थियो उस्तै छ काठमाडौ। जताततै भिडम्भिड, धुवाँ, धुलो, महँगी पानीको अभाव, फोन र ईन्टरनेटको असुविधा, गईराख्ने विजुली ...। तर सोचाई र भोगाईको भिन्नता महसुस गर्दैछु। सोच्नु एक कुरा हो भोग्नु अर्कै कुरा हो। यहाँको भोगाई देख्दा दु:ख लागेर आउँछ। हाम्रो राजधानी यस्तो छ भने अरु ठाउँको कुरा गर्नु जरुरी नहोला। त्यसैले विदेशिनु  नेपालीहरुको ईच्छा नभएर वाध्यता हो भन्ने कुरा ठम्याउन थालेको छु।

आगमन पस्चातको मेरो व्यस्तता वढेको छ।धेरै थरिका कामहरुको चापले मेरो मन स्थिर छैन। अस्तव्यस्त काठमाडौमा आफ्नो योजना वमोजिमका कामहरु गर्न मुस्किल हुँदैछ। समयको महत्व र यसको उपयोग गर्न अस्तव्यस्त काठमाडौले दिंदैन रहेछ। आखिर सुखको अनुभव गर्न दु:ख देखे भोगेको हुनु पर्दछ। त्यसैले म खुसी नै छु किनकी अलिकति सुख पाउँदा पनि यो दु:ख सम्झेर म निकै खुसी हुनेछु। यो लेख्नलाई पनि विजुली कति वेला जान्छ भनेर हेर्नु परिरहेको छ। जे होस अस्तव्यस्थ काठमाडौमा मेरा परिवार, साथीभाइ र आफन्तहरुसँगको भेटले केही भएपनि मलम लगाईदिएको छ।


- समाप्त -

श्रेणी विभाजन

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors