About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

संझना: दशैं - २००९

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, September 29, 2009

फ्रान्स आएको २ बर्ष १ महिना भएपनि दशैं भने ३ ओटा आईसकेछन् । पहिलो दशैं अर्थात दशैं-२००७ मा भरत सर र म मात्र नेपाली थियौं। आएको लगत्तै दशैं परेको हुनाले र यहाँका नेपालीहरुसंगको चिनापरिचय हुन नसकेकोले हाम्रो दशैं केवल एक साधारण दिन जसरी वितेको थियो। मैंले टिका त लगाउनु हुन्थेन त्यो वेला, तर पनि रमझम गर्न पनि पाईएन। त्यो दिन साधारण दिन भएपनि विर्षन नसक्नुको थियो किनकि फ्रान्समा भएको ट्रेनको हड्ताल र निकोलास साकोर्जी (फ्रेन्च प्रेसिडेन्ट) को पारपाचुके कान्डले त्यो समयमा तहल्का मच्चाएको थियो। त्यही हड्तालको कारणले गर्दा हाम्रो नेपालीहरुसंग मिलेर दशैं मनाउने सपना चकनाचुर भएको थियो। यो वेलाको रोचक घटना यहाँ पढ्न सकिन्छ

२००८ को दशैंमा म लगायत २ जना नेपाली भाईहरु (सिद्दार्थ र जगदिस) थियौं। त्यो पालीको दशैं निकै रमाईलो भयो । नेपालीहरुको कार्यक्रममा गएर गित गाएपछि (यहाँ हेर्न सकिन्छ) भने हाम्रो उनीहरुसँगको संवन्ध वढेको थियो। विशेस कुरा त हामीले टिका लगाएका थियौं । यस्तो टिका जहाँ भाईहरुका व्याचका AIT का साथिहरु Adisorn, Sophea र Chan ले पनि टिका लगाएका थिए। निकै रमाईलो भएको थियो।

हिजो २८ सेप्टेम्वर २००९ सोमवार, दशमीको दिन। यहि दिनमा अफिसको एक महत्वपूर्ण काम सकाउनु थियो। फलस्वरुप २६ सेप्टेम्वर शनिवार भएपनि काम गरियो अनि त्यसको वेलुका भाई-वहिनी (शिर्षा र श्रध्दा) वसेको ठाउँमा (Evry) मा गईयो अनि बहिनीहरुले पकाएको डिनरमा खाईयो (धेरै धेरै धन्यवाद) । मेरा पुराना ईन्डियन सँगीहरुको (जानकी र रमिया) हरुसँग साटासाट गरेर खाएको डिनरले साँच्चै नै दशैंको भोजको तिर्सना केही हद सम्म भएपनि मेटेको थियो । २७ सेप्टेम्वरमा रविन्द्र दाई (Evry मा नेपाली रेस्टुरेन्ट चलाउने दाई) हरुको मा हामी पाँच जना नै गएका थियौ। रविन्द्र दाई, सपना भाउजु, कमल दाई, मुना दिदीलगायतकाहरुसँग रमाईयो। पुराना, नयाँ, नेपाली, हिन्दी गीत गायौं। वहिनीहरुले पनि डान्स गरेका थिए।

हिजो दशमिको दिन विहान ८ वजे सम्ममा हामीले टिका लगाईसकेका थियौं। खासमा नेपालको साईत समय पनि त्यही विचमा पर्दछ । साईतमा पार्न नभइ मलाई हतार भएका कारण यो संजोग परेको थियो। भाइहरु U3 मा वस्ने भएकोले बहिनीहरु पनि त्यतै आए। म त सव से ठूलो मान्छे परेछु। सवलाई टिका लगाईदिएँ। निकै रमाईलो महसुस भयो। समग्रमा यो दशैं पनि रमाईलो नै भयो। हामी ५ नेपाली वाहेक Namal, Fon, Adisorn पनि सामेल भएका थिए। यसरि यो दशैंपनि अन्तराष्टि्य दशैं वन्न पुग्यो । मलाई थाहा छ, अर्को वर्षको दशै निकै भिन्नै किसिमको हुने छ किनकि हामीको को कहाँ पुगेका हुनेछौ। जे होस व्यस्तताका वावजुद पनि यो पालीको दशैं रमाईलो नै गरि मनाईयो। फेरी पनि सवैजनालाई विजया दशमीको हार्दिक शुभ-कामना । अहिलेलाई भने दशैं-२००९ का केही झलकहरु:

तस्विर: टिका लगाएर पछि प्रसाद खान जाने क्रममा :)

तस्विर: माईलो, कान्छो र जेठो

सम्झना: September 6 2007 को

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, September 6, 2009

आज September 6 2009 ठिक 2 वर्ष अघाडीको सम्झना आइरहेको छ ( त्यो दिनको विवरण यहाँ ) हामीहरु 5 जना Classmate हरु लगायत हाराहारीमा 10 जनाको समूह Thailand बाट France को लागि 6 तारिख को दिन Etihad Airlines बाट Paris सहरमा आएका थियौ Asian Institute of Technology बाट छानिएर आएका हामीहरुमा छुट्टै जोस, आशा अनि उत्सुक्ताहरु थिए

देश छोडेको तीन वर्ष भै सकेको छ र यी तीन बर्ष मध्ये 67 % समय France मा बितिसकेको छ उसो त Thailand को 1 बर्से बसाई कम रमाइलो थिएन, तर यहाँ पनि नरमाइलो भने छैन पक्कैहो आफ्ना आफ्ना गुण र दोषहरु त भै जान्छन नि तर जता बस्यो उतै को माया लाग्ने प्राकितिक नियम नै मेरो लागि पनि लागु हुदै छ जस्तो महसुस हुदै छ

2008 मा Jagadish Ghimire र Shiddartha Bhandari लगायतका Juniors हरुको आगमन पश्चात रमाइलो माथि झन रमाइलो थपिदियो र भर्खरै आएका Sirsha Bhattarai Sraddha Adikari लगायतका Juniors हरुपनि उतिकै रमाइला होलान भन्ने आशा गर्न सकिन्छ

मेरा क्लासका 6 जना साथीहरु मध्ये 3 जना यहीं नै छौ 2 जना PhD गर्दैछन् बाँकि तीन जना मध्ये 1 जना Canada मा PhD गर्दै , अर्का 1 जना Singapore मा job गर्दै र अर्को एक जना Thailand मा Job गर्दै छन् यसरि हेर्दा कोइ पनि आफ्नो देशमा फर्केर कम गरेको देखिन्दैन

जे सुकै होस् September 6 2007 ले हामीहरु सबैलाई एक किसिमको ढोका खोलिदिएको छ French Government ले Full scholarship दिएर हामीलाई यो अवसर दिएकोमा मुरी मुरी धन्यवाद !

हाँसो ठट्टा : हाम्रा बिशेषता

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, September 3, 2009

दु:खि कुरा - भन्नेले 1A भन्यो। सुन्नेले 2A सुन्यो अनि 3A पारेर अर्कोलाई सुनायो। सुन्नेले 4A सुन्यो, 5A पारेर अर्कोलाई सुनायो। यो क्रम जारी रह्यो र केहि छिन मै उसैको कानमा 10A आइपुग्यो। अनुसन्धानबाट उसले थाहा पायो कि यो त हाम्रो बिशेषता पो रहेछ। नराम्रो कुरालाई बढाउने त हाम्रो एक पहिचान पो रहेछ :)

सुखी कुरा - भन्नेले A भन्यो। सुन्नेले A/2 सुन्यो अनि A/3 पारेर अर्कोलाई सुनायो। सुन्नेले A/4 सुन्यो, A/5 पारेर अर्कोलाई सुनायो। यो क्रम जारी रह्यो र धेरै दिन पछि आज उसैको कानमा A/10 आइपुग्यो। अनुसन्धानबाट उसले थाहा पायो कि यो त हाम्रो बिशेषता पो रहेछ। राम्रो कुरा, प्रशंसा गर्ने कुरालाई लुकाई दिने त हाम्रो एक पहिचान पो रहेछ :).

निस्कर्ष: हाम्रो समाजमा तिता कुराहरुको गति तिव्र र प्रभाब व्यापक हुने र मिठा कुराहरु को गति सुस्त र प्रभाव सिमित हुने गर्दछ। यिनै हाम्रा प्रमुख बिशेषताहरु हुन् । :D

आधुनिक गीत: के भूल भयो प्रिया

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, August 28, 2009

मलाई नेपाली आधुनिक गीत निकै मनपर्छ। खोज्दै जाँदा सानो हुँदा देखि नै सुन्दै आएको यो गीत फेला परेको छ । एकदमै चर्चित गीत भएको हुनाले तपाईंहरुले पनि सुनिसकेको हुनुपर्छ । यसको वोल: "के भूल भयो प्रिया मसँग वोल्दिनौ" भन्ने हो। नरेन्द्र प्यासी ज्यूले गाउनु भएको यो गीतका शव्दहरु पनि उत्तिकै मार्मिक छन् ।

परिवेश:

पियार पियारीको मायामा एकदमै डुवेको देखिन्छ। पियारीले एक्कासी वोल्न नै छोड्छिन् पियारसँग। कारण अनेक हुन सक्छन्। पियारलाई कुन कारणले भन्ने कुरा नै थाहा छैन। त्यै भएर पियार किन नवोलेकी तिमी भनेर गीत मार्फत सोध्छन् , यसरी:
***
{ के भूल भयो प्रिया मसँग वोल्दिनौ } 2
{ उज्यालो दिन उघार्दै पर्दा रातको खोल्दिनौ }
{ म सँग बोल्दिनौ }
{ के भूल भयो प्रिया मसँग वोल्दिनौ }
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
{ अँध्यारो देख्छु मुहार तिम्रो वादल छाए झैं }
{ सुस्केरा सुन्छु चैतमा आँधिवेहेरी आए झैं }
{ एकान्त रोज्छौ मनमा कतै तुवाँलो छायो कि }
{ वसन्त नआई जीवनमा तिम्रो वर्सात आयो कि }
{ तुँवालो छायो कि }
{ के भूल भयो प्रिया मसँग वोल्दिनौ }
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
{ रुनेछ मेरो संसार तिम्रो उज्यालो नपाउँदा } 2
{ अन्धकार छाउँछ जसरी राती जून नआउँदा }
{ रुवाई मेरो संसारलाई तिमी अरुलाई नरोज }
{ मायाको कुरा न फक्रि झर्छ टाढिन नखोज }
{ अरुलाई नरोज }
{ के भूल भयो प्रिया मसँग वोल्दिनौ } 2
{ उज्यालो दिन उघार्दै पर्दा रातको खोल्दिनौ }
{ म सँग बोल्दिनौ }
{ के भूल भयो प्रिया}
***

उकुसमुकुस विचारहरु

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, August 27, 2009

जम्बो जेटमा उकुसमुकुस भै थिचिरहेका विचारहरु उसको अवतरणको मैदान कुर्दै भौतारीरहेका छन् । सायद राडार बिग्रियो होला, हवाईमैदानको कन्ट्रोलरको सिग्नल विचमै हराएजस्तो छ । चालक BEACON सिग्नल हेरेरै अवतरण गर्ने तयारी गर्दैछ । बेलाबेलामा सुनिन्छ रोजर रोजर । बिचारहरु आशाको सास लिदै कोल्टे फेरछन् ।

आई एम गोईन्ग टु सल्यान -- ज भिआँ द्यू नेपाल

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, August 15, 2009

समयले कसैलाई पर्खिदैन, न त यसलाई रोक्न नै सकिन्छ। यो त हिडिरहन्छ निरन्तर। यसरी चलयमान समयमा धेरै घटना घट्छन् , कतिपय सम्झिन सकिन्छ त कतिपय सकिन्न। आज कुरा गर्नलागेको घटना म सायदै भुल्छु होला।

मामाघर सेर्ना (ओखलढुङ्गा) जानलाई मेरो घर सल्यान (सोलुखुम्वु) वाट हिड्नेलाई ५ - ६ घन्टाको वाटो होला। प्राय: चाढपर्वमा मावल गईन्थ्यो। मामाघर जान भने पछि हुरुक्कै हुन्थ्यौं हामीहरु। मिठो मिठो खान पाईने र भान्जा भान्जीलाई टिका लगाएर पैसा दिने चलनले पनि मामाघर जान हानाथाप हुन्थ्यो दाइ दिदीहरु विच। कान्छो परेको कारणले होला मैले भने धेरै पटक मौका पाउँथें ।

एक पटक म वुवा आमाको साथमा मावल जान पाएको थिएँ। मेरो मावली वेसीमा परेकोले जाँदा नेचा डाँडाको शिरवाट सेर्नाको पुच्छारसम्मको ओरालो जानुपर्छ। विचमा आउँछ मगर गाउँ। आउँदा भने उही मगर गाउँसहितको उकालो । त्यही उकालोमा विसाउने कैयन चौतारीहरु छन् । दशैमा त अझ लिंग्गे पिङ् हाल्छन् त्यो गाउँमा । आहा कत्ति रमाईलो हुन्थ्यो। मावलवाट उकालो सुरुगर्दा मगरगाउँ आउनु अघि देविथान माथि एक वरको रुख सहितको चौतारी छ। हो त्यो विसौनीमा केहीवेर विसाएर थप उकालो सुरु गर्नासाथ वुवाले सुरु गर्नुभएको थियो, अँग्रेजीमा प्रश्नहरु गर्न:

प्र: ह्वाट ईज योर नेम ?

उ: माई नेम ईज नोवल ।

प्र: हाउ ओल्ड आर यु ?

उ: आई एम 'नायन' (९) यर्स ओल्ड ।

.......

प्र: ह्वेर आर यु गोईन्ग नाउ?

उ: आएन वुवा ।

....

म कक्षा ४ कक्षा पढ्थें ९ वर्षको हुँदा। सरकारी स्कूलमा अंग्रेजी विषय ४ क्लासवाट सुरु गरिन्छ । त्यही भएर म बुवाका सवै प्रश्नहरुको जवाफ दिन सकिरहेको थिईन। फेरी हाम्रो अंग्रेजी विषयको पढाईमा स्पिकिङ्लाई महत्व दिईन्न। त्यो मैले नजानेको प्रश्नको उत्तर वुवाले यसरी दिनु भएको याद छ: "आई एम गोईन्ग टु सल्यान" ।

यसरी मेरो अंग्रेजी भाषासँगको लुकामारी १७ वर्ष अघि सुरु भएको थियो । समयको उतारचढावसँगै म फ्रान्स आएको पनि २ वर्ष पुग्नै लागेको छ । केही फ्रेन्च भाषा सिकेको त छु, तर पनि गार्ह्रो महसुस हुन्छ विशेष गरी शव्द उच्चारणमा। ए आई टी ( थाईल्यान्ड ) मा म्याडम जिनेटसँग फ्रेन्च सिकेको थिएँ। उ वेला म्याडमले प्रश्न गर्नु हुन्थ्यो:

प्र: भू भू जापले कम ? (What is your name ?)

उ: जमापेल नोवाल ।

प्र: भू ज्याभिते उ? (Where do you live ?)

उ: ज्याभित आलाईते ।

प्र: द्यू एत् भू ? (Where are you from?)

उ: ज भे ओ नेपाल ।

हा हा हा हा म्याडम हाँस्नु भयो । मेरो उत्तर त "म नेपाल जादै छु" भन्ने पो परेछ । खासमा म दुईवटा वाक्यहरुमा झुक्केको थिएँ।

१) ज भे ओ नेपाल

२) ज भिआँ द्यू नेपाल ।

अरु साथीहरु पनि यि वाक्यहरुसँग झुक्किएकोले म्याडमले नयाँ आईडिया निकालेर नझूक्किने गरि सिकाउँनु भएको थियो। उहाँ वाक्यसँगै हातको ईसाराले नाँच्नु भएको थियो। "ज भे ओ नेपाल" भन्दा हात शरीर भन्दा पर लैजाने र "ज भियाँ द्यु नेपाल" भन्दा हात परवाट शरीर तिर ल्याउने किसिमको नाँच । अनि त कहाँवाट झुक्किनु नि हा हा हा ।

कपाल फूलेका फ्रेन्चहरुले समेत मेरो अफिस नजिकैको कोठामा अंग्रेजी भाषा सिकेको देख्दा झन रमाईलो लागेर आउँछ। होला मलाई अझै केहि वर्ष लाग्ला फ्रेन्चमा बोल्न तर तिनीहरुको उमेर भन्दा त निकै अघाडि नै आउलानी भन्ने आशा गर्दै मेरा प्रयासहरु अघि वढ्दै छन् । भाषा सिक्नु सुरुमा वाध्यता लागे पनि अहिले रहर वनेर उर्लेको छ। जे होस यिनै दुई वाक्यहरु ( "आई एम गोईन्ग टु सल्यान" र "ज भिआँ दु नेपाल") मेरा अंग्रेजी र फ्रेन्च भाषासँग लुकामारी खेल्दाका कोषेढूङ्गा बनेर वसिरहेका छन्, रमणिय भूतको याद दिलाउँदै ।

हाँसो ठट्टा : 'रकेट'

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, August 14, 2009

स्थान उही अफिस। २ जना साथीहरु (फँस्वा र मोहम्मद) कुरा गरिरहेका थिए। दुवै जना फ्रेन्चमा पोख्त परे। उनीहरु कुनै रिसर्चको कुरा गरिरहेका थिए, म भने आफ्नै काममा मग्न थिएँ।

म उनीहरुको वातचित हल्का रुपमा सुन्दै पनि थिएँ, किनकी फ्रेन्च सिक्ने यो पनि एउटा तरिका हो। उनीहरुको वातचितको क्रममा मैले धेरै पटक एउटा शव्द सुनिरहें ‘रकेट’। खासमा उनीहरुले गरिरहेको रिसर्चको कुरा मलाई पनि थाहा थियो। त्यै भएर पनि उनीहरुको कुरा केहि हदसम्म म बुझिरहेको थिएँ। तर पटकपटक सुनेको ‘रकेट’ शव्दले मेरो ध्यान तान्यो। यिनीहरुले यो रिसर्चको कुरा छोडेर कतै अन्तरिक्षमा पठाउने ‘रकेट’को त कुरा गर्न थालेनन्? - म सोच्दै थिएँ। तर अहँ, पक्कै हैन, कुरा त उही रिसर्चको नै भैराको थियो अझ पनि।

‘रकेट’ शव्द अरु दिन पनि नसुनेको हैन तर यसपटक भने निकै पटक दोहोरिसकेको थियो । यसरी प्रयोगमा आईरहने शव्द सुनेर मात्रै वस्नु ठीक हैन भन्ठानेर सोध्ने निर्णय गरें र सोधें पनि। आहा, ‘रकेट’ हा हा हा, त्यो पो रहेछ ‘रकेट’ भनेको त, हा हा हा - मैले हल्का हाँसो छाडे। “किन हाँसेको ?” - उसले सोध्धै थियो। “त्यतिकै” - मैले टारें।

हो, मैले सुनेको ‘रकेट’ त “requête" अर्थात अंग्रेजीको “request”, पो रहेछ जुन शव्दसँग त म परिचित नै थिएँ। शव्द थाहा पाएपछि उच्चारण विचार गरें। उनीहरुले ‘हकेट’ भनेको हुनुपर्छ तर मेरा कानले ‘रकेट’ नै सुनेथे :)। कुरा यै त हो, जानेको शव्द पनि उच्चारण थाहा नहुँदा नजानेको झै हुन्छ फ्रेन्चमा। उहिवेला मनमनै एक गीत वज्न सुरु भैसकेको थियो: “स्वामीजीले भन्नुभयो अँग्रेजीमा ‘वाटर’, नबुझेर मैले दिएँ काँचो ‘कटर’ ” - भलै म त्यस्तो परिस्थितिमा भने अझै पुगिसकेको थिईन :)
***

सन्दर्भ Pique-Nique को

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, August 8, 2009

28 June, 2009 दिन विशेष थियो किनकी Pique-Nique मा जानु थियो। Picnic र वनभोजको अनुभव वटुलेको भए पनि Pique-Nique को भने अनुभव थिएन। अर्थात, पहिलो पल्ट French Pique-Nique (En: Picnic) जानु थियो, त्यो पनि पेरिसमा भएका नेपालीहरुसँग। उसो त 2008 यो यही समयमा पनि Pique-Nique आयोजना गरिएको रहेछ, तर चिनजानको अभावमा सामेल हुन पाइएको थिएन। जर्मनी भ्रमणवाट फर्केको १ दिन पछि यो पिकनिक भएपनि जोस भने वाँकि नै थियो। मेरा प्यारा भाइहरु (माईलो र कान्छो) ले नजाने निर्णय गरे पस्चात केही अप्ठेरो महसुस त भएकै थियो, तर केही चिनजानका साथीहरु जाने भएको कारणले रमाईलो हुने आशामा मैले सामेल हुने निर्णय गरेको थिएँ।

NRNA-NCC France को आयोजीत यो पिकनिकमा जानेको संख्या मैले अनुमान गरे भन्दा निकै धेरै थियो। पहिले लाग्थ्यो पेरिसमा नेपालीहरु कमै छन्। यो पटक त्यो संख्यामा उपस्थित नेपालीहरु देखे पछि त्यो सोचाई भ्रममा परिणत भयो। हो, ११० जनाको नेपाली टोली २ वटा रिजर्भ गरेको वसमा हुँईकिएका थियौं Honfleur को 'बिच' (En: Beach) तिर । Honfleur पेरिसवाट सवसे नजिक पर्ने समुन्द्र भएको ठाउँ हो। यो समुन्द्रले France र UK लाई छुट्याउँछ। यसलाई English Channel भनेर समेत चिनिन्छ । यो Normandi को एकदम नजिक छ।

तस्विर: Pique-Nique स्थल

रमाईलोको कुरै नगरौं। वसमा भएको दोहोरी त उत्क्रिष्ट नै थियो। मेरो अनुभवमा यो नै सवसे लामो दोहोरी कार्यक्रम थियो। म केहि क्षणमा दोहोरीका अंशहरु राख्ने नै छु। वसको ड्राईभर नजिकैको माईकले पनि निकै ठूलो सहयोग गर्यो मान्छेहरु र तिनीहरुको कलाको पहिचानमा किनकी हाम्रो वसको हरेक ब्यक्तिले आफ्नो परिचयको साथमा आफूमा भएको कला प्रस्तुत गर्नुपर्ने वाध्यात्मक परिस्थिति थियो। "कला भए प्रस्तुत गर्ने नभए पनि प्रस्तुत गर्ने " - निर्मलदाइले हसाउँदै हुनुहुन्थ्यो। यसै क्रममा हो नि नारायण भाइले पस्चिमे गित गाएका। जसको वोल "तिम्रो नासो फिर्ता लिन आउ" भन्ने थियो जसको भाका मन पर्यो :)। यो गित तलको भिडियो मा पनि सुन्न सकिन्छ। मेरो कला त के नै थियो र :)। एउटा फेसवुकमा पढेको जोक सुनाएको थिएँ, हा हा हा । तर फर्कने क्रममा मोवाईल फोनमा रहेका रेकर्डेड कथा र कविता सुनाएर स्रोतागणलाई केहि बेर भएपनि मनोरंजन प्रदान गरेको थिएँ :-P।

दुवै वसमा दोहोरी खेलिएको थियो। अर्को वसको अनुभव त मसँग छैन, तर म चढेको वसमा भने निकै रमाईलो थियो। सायद त्यो हल्ला फैलिएछ क्यारे, पिकनिक सकेर फर्किदा अर्को वसमा रहेका चर्चित दोहोरी गायक राजेन्द्र लम्सालले पनि हाम्रो वसको सिट लिएर वसेका थिए। उनलाई लिन अर्को वसका मान्छे आएका थिए तर उनले यो वस छोडेनन् । त्यै भएर पनि फर्किने क्रममा निकै नै मज्जा आएको थियो।


भिडियो: मेरो क्यामेराले कैद गरेका दोहोरीका अंशहरु

पिकनिक स्थल टाढा भएकोले वाटोमा केहीवेर विसाएर ब्रेकफास्ट खाईयो । केही तस्विरहरु पनि खिचियो । पिकनिक स्थलमा पुगेपछि लन्च खाएर Beach तिर लागियो। वालुवाको Beach थियो तर पानी भने त्यति सफा थिएन। म भने डुवुल्कीमार्ने सुरमा थिएन। तर कति नेपाली साथीहरुको त पहिलो पटक समुद्र देखेको अवसर परेको रहेछ, निकै रमाउनु भएको थियो। हामी केही साथीहरु भने Beach मा गफगाफ गर्दै निकै टाढा सम्म पुगेका थियौ। गजवको कुरा त के भने, पहेलो लुगालगाउने साथिहरुलाई त्यहाँका किराहरुले आक्रमण गरेका थिए, सायद फूल सम्झेर होला । रातो टिसर्ट एक हिसावले फाईदा जनक नै भएको थियो ।

अहिलेलाई भने पिकनिकका केही तस्विरहरु राख्दै छु:


तस्विर: वसमा हामीहरु रमाइलो गर्दै

तस्विर: वसवाट जाँदा वाटोका देखिएका मकैका विरुवा

तस्विर: लामो वाटो भएकोले विसौनीमा नास्ता खाँदै

तस्विर: विचको एक द्रिष्य

तस्विर: Beach को एक द्रिष्य

तस्विर: पहेलो कपडालगाउनेलाई किराले हैरान पारे

तस्विर: धमीलो पानीमा पनि मज्जा लिंदै


तस्विर: निर्मलदाई र उहाँका आफन्तहरु

तस्विर: Beach को अर्को पट्टिको सुन्दर जंगल

तस्विर: मेरा दौंतरीहरु Beach को लामो हिडाई पछि थकाई मार्दै

तस्विर: म

यसरी, पेरिस सहरमा रहेका नेपालीहरुसँग रहेर Pique-Nique को मज्जा पनि लिईयो । दिनभर एक शव्द पनि फ्रेन्च वोल्नु परेन। नेपालीहरुसँगको उक्त रमाईलोले म विदेशमा हैन वरु नेपालको कुनै ठाउँमा छु भन्ने महसुस गराएको थियो। मेरा लागि Beach महत्वपूर्ण थिएन किनकी मैंले Thailand र Venice का सुन्दर Beach हरुसंग लुकामारी खेलिसकेको थिएँ। महत्वपूर्ण थियो त नेपालीहरुसँगको चिनजान अनि भलाकुसारी- जुन यो Pique-Nique ले पुरा गरिदियो । अलि खट्किएको कुरा के भने, सायद हामीले वसमा धेरै समय विताएर पिकनिक स्थलमा कम समय दियौं कि। जे होस आयोजकलाई धेरै धेरै धन्यवाद, आउँने वर्षमा यस्ता कमजोरीहरु सुधार्ने जानुहोस भन्ने सुझाव समेत दिन चाहन्छु ।

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors