भेटघाटको क्रममा पुल्चोक क्याम्पसबाट नख्खिपोट जानु छ। १४ नंवरको माईक्रो लाग्छ भन्ने सूचना मसँग छ। पुल्चोक क्याम्पसको गेटवाट निस्कने बितिकै १४ नंवरको माईक्रो लिन मिल्छ। उतिवेला यो नंवर गरेको माईक्रो लगनखेल मात्र जान्थ्यो। अहिलेको काठमाडौ भिडम्भिडको छ। त्यही भएर होला माईक्रो, बस, टेम्पो र अन्य सवारी साधनको चाप बढेको। काठमाडौको जुनसुकै ठाउँमा जानु परे पनि अव वढिमा २ वटा सवारी लिए पुग्ने रहेछ: एक रत्नपार्क वा वसपार्क आउने अनि त्यहाँवाट जताको पनि गाडि लाग्ने।
१४ नंवरको माईक्रो रोकाउने र उक्तठाउँमा जान्छ कि जाँदैन भनेर सोध्ने क्रममा हुन्छु म। उक्त नंवर लेखेको सवै माईक्रो मेरो पुग्ने ठाउँसम्म नपुग्ने रहेछन्। नजीकै माईक्रो कुरेर वसेका एक भाइसँगको सोधपुछवाट उक्त कुरा थाहा पाउछु। त्यो भाइपनि मजाने ठाउँसम्म नै जाने रहेछन्। कुराकानी गर्दै गयौं। आर्किटेक्चर प्रथमवर्षमा पढ्ने रहेछन्। कहिल्यै नचिनेको भएपनि एउटै क्याम्पस पढेको हुनाले कुरा गर्न सजिलो भयो। निकै कुराहरु भए माईक्रोमा पनि।
झर्ने वेला भाईले मेरो पैसा पनि दिएछन्। मलाई निकै अप्ठेरो महसुस भयो। त्यसैले मैंले मेरो भाडा जवरजस्ति उनीलाई फिर्ता गरें। यो घटना ठूलो पक्कै हैन तर यो घटनाले मलाई निकै छाप छोडेको छ। संसारका दर्जन देश घुमेको मेरो अनुभवमा कतै पनि मैंले यतिको सहयोगी भावना पाएको छैन। एकै छिनको छोटो परिचयको आधारमा उनले मलाई त्यति आत्मिय ठानेछन्। यो उनको मात्र वानी हैन उनले त नेपाली भावनाको प्रतिनिधित्व गरे झैं लाग्दछ। यसलाई पुष्टि गर्ने मेरा अन्य घटनाहरु छन् तर समय अभावले म आज प्रस्तुत गर्न सक्दिन। यि घटनाहरुको आधारमा मलाई भन्न मनलाग्छ: जतिसुकैको दु:खमा वाँचेका किन नहोऔं र हामी नेपाली, हामी सत्कार दिन निकै अघाडि छौं, सवैलाई माया गर्छौं। त्यसैले त हामी नेपाली हौ, विस्वका अन्य मानव भन्दा निकै प्रिथक ! त्यसैले नेपालीहुनुमा मलाई गर्व छ ।
- समाप्त -
0 comments