About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

फर्किएका दिन

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, August 9, 2008

माईसंसारमा हेर्ने ? यहाँ क्लिक गर्नुस


राजनितिक घटनावाट कुँडिएका मनहरुलाई आफ्नो तथा आफ्नो देशको भविष्यको चिन्ता लाग्नु स्वाभाविकै हो। तर निराशाजनक सोचाईले के नै भलो पुर्याउँछ र ? त्यसैले पनि होला जुधिरहेका अनि जुधाईएका साँडेहरुको लाप्पा हेर्दा-हेर्दा टट्टाएका आँखाहरु सुन्दर अनि सितल फूलवारी खोज्दछन्, रमाएका भमरा-भमरी देख्न आतुर हुन्छन्। भनिन्छ नि 'कालोरात पछि उज्यालो दिन अवस्य पनि आउँछ र यसरी आउने उज्यालो रोक्न खोज्नु भनेको हत्केलाले घामलाई छेक्न खोज्नु वरावर हो '। त्यसैले त यो लेखमा त्यो उज्यालो, हरियाली प्रस्तुत गर्न खोजिएको छ जुन यस अन्धकाररुपि समयपछि आउनलाई तम्तयार भएर वसेको छ। आउनुहोस् न भित्रै, यो सुन्दर, उज्यालो कल्पनाको फूलवारी आफ्नो स्वागतद्वार खुला गरेर तपाईंलाई नै भेट्न आतुर छ।


शुक्रवार, २३ सेप्टेम्वर सन् २०५० को विहानै डेविड मार्टिन मोर्निंग वाक सकेर चियाको सुर्को लिन कुपन्डोलको एक चिया पसलमा पुग्छ अनि भन्छ, साहुनी एक कप चिया पाउँन। त्यो ईलामको चिया नि फेरी, उसले साहूनी नझुक्कियोस् भनेर फेरि दोहोर्याउँछ। हुन त अंग्रेजी पनि वुझ्छिन् साहूनी तर नेपालीमा वोल्यो भने साहुनी मुस्काउछिन्। त्यसैले अमेरिकन नै भए पनि डेविड नेपालीमा नै कुरा गर्छ त्यो मुस्कान हेर्नलाई। उसो त पढाईपछि जागिर पाउन पनि एकदमै सजिलो हुन्छ यदि नेपाली पनि जानेको छ भने, यसकारण पनि जानेको नेपालीलाई प्रयोग गरिरहन्छ डेविड।


राम्रा कलेज त अमेरिकामा पनि थिए, तर डेविडलाई अमेरिका वस्ने मन नै भएन। कलेज राम्रा भएर पनि जागिर पाउन गार्हो छ, अवसरहरु कम छन्। खैर, नेपालको पढाई सकेर अमेरिकै फर्किनु पर्यो भने पनि केही छैन। त्रिभुवन विश्वविध्यालयमा पढेको सर्टिफिकेट भनेपछि त जागिर सजिलै पाउँछ उसले। पढाईमात्र भएर कहाँ हो र, उसका हजुरवा पहिले नेपालवाटै आएका हुनाले पनि उसलाई नेपाल जाउँ-जाँउ लागेको थियो। उसो त कहाँ सजिलो छ र नेपालको भिषा पाउन, कति जनाको भिषा रिजेक्ट हुन्छ। तर डेविड लक्की पर्यो नेपाली फररर बोल्ने र ईंजिनियरिंग को अध्ययन गर्ने भएकोले पनि सजिलै पायो भिषा। प्राय: २० प्रतिशत आवेदकले मात्र भिषा पाउनेमा समेत परेर नेपाल आउन पाएकोमा गर्व गर्छ डेविड अनि उसको परिवार। नेपालका विश्वविध्यालयको भर्ना स्विक्रिति पाउनु पनि गार्हो छ। फेरी विश्वविध्यालयको स्विक्रिती भएर मात्र कहाँ सजिलो छ र, त्यो भन्दा पनि अझ सार्हो भनेको नेपालको भिषा पाउन किनभने यसका लागि पनि राम्रै पैसा खर्च गर्नुपर्छ अनि दिनुपर्छ कठोर अन्तरवार्ता पनि। त्यही भएर धेरैजना नेपालको भिषा नपाउने कारणले ईन्डियाको भिषा भएपनि लिनेगर्छन्। ईन्डिया र नेपालको सिमाना लगभग खु्ल्ला सरह भएको भएर पनि ईन्डिया सहज रोजाई हुन्छ धेरै जस्तोको। यसकारण पनि डेविडलाई भाग्यशालि ठान्छन् उसका साथीहरुले।


उ नेपाली साथीहरुमाझ भन्ने गर्छ: "अमेरिकामा सडक त छ, तर प्राय: रित्तो हुन्छ। घरघरमा टेलिभिजन छन्, तर मान्छेहरु रेडियो सुन्छन्, विजुलीको पैसा वचाउन। तेल नभए पछि गार्हो हुँदो रहेछ गाडि चल्न। हाम्रो देशमा कोईला त छ, तर प्रशोधन गर्दा एकदम महंगो हुन्छ, त्यही भएर जिवन धान्न गार्हो छ। आणविक शक्ति प्रयोग गरेर विजुली त निकालेको छ, तर १ युनिटको २० डलर तिर्नु पर्छ। त्यसैले घरसम्म आएको विजुलीको स्विचपनि अन गर्दैनन् धेरैजस्तो जनता। नेपालमा जस्तो सस्तो विजुली भए कति रमाईलो हुन्थ्यो हाम्रो देश। यहाँ त जुन ठाउँमा पनि विजुली, जुन घरमा पनि विजुलीवत्ती। प्रक्रितिले कुनै देश दिन्छ भने नेपाल जस्तो दिवोस न। वग्ने पानीलाई छहरावाट झारी विजुली निकालेर संसारलाई वेचेको/बचाएको छ नेपालले…."।


डेविड भन्दै जान्छ- "एकपटक मैले मेरो हजुरवुवाको ब्लग पढेको थिएँ। ४२ वर्ष अघिको लेखेको थियो त्यो। उतिवेला नेपालमा विजुली एकदमै कम निस्केको थियो रे। सत्तामा जान हानाथाप गर्ने नेताहरु, गरिव न गरिव जनताहरु, वेरोजगार युवाहरु, फोहोरका डंगुरहरुको मुख्य स्रोत थियो रे नेपाल। वाग्मती गन्हाएर खपिनसक्नु हुन्थ्यो रे काठमाडौमा। तेल नपाएर सडकहरुमा गाडि नै गुड्थेनन् रे। देखावटि रुपमा स्थानिय नेताहरुले सासन गरेजस्तो लागे पनि भित्रभित्रै त विदेशी राजदुतहरुले गर्थे रे। नियमकानुन ठूलावडालाई लाग्थेन रे अनि सर्वसाधारणलाई एकदम कडाईका साथ लाग्ने गर्थ्यो रे। मागलाई राख्न कार्यालयमा अनि पुरा गर्न सडकमा जानु पर्थ्यो रे। थरिथरिका संगठनले थरिथरिका माग राखेर, सडकमा टायर वालेर वन्द, हडताल गर्ने गरेकोले वर्षका झन्डै आधा दिनहरुमात्र खुल्थे रे। मान्छेहरु वाक्क दिक्क भएर नेपाल वाहिर जान खोज्थे रे। यहि क्रममा मेरो हजुरवुवा पनि वल्ल तल्ल अमेरिका छिर्नु भएको छ अनि त्यहीं हजुरामालाई भेटेर ग्रिनकार्ड लिएर वस्नु भएछ।


म त छक्क छु, त्यो वेला नेपाल त्यस्तो थियो रे भनेर। वा! कसरी संभव भएको होला यत्रो परिवर्तन । उसवेलाका तेलका धनी खाडिका मुलुकहरुले समेत तेल सकिन थालेर नेपालवाट सहयोग पाउँ भनेर चिठिलेखेका छन् रे। ईन्डियाले नेपाललाई थप विजुली दे कि दे भनेर कराएको करायै छ रे। रकम तिर्न वाकी भएपनि विजुलीको आपुर्ति घटाएका छैनन्। अरु कोही भएको भए रोकिदिन्थे विजुली, मनका धनी नेपालीहरु परेर मात्रै…..। छनपनि संसारमा शक्तिशाली छ नेपाल यतिखेर। काठमाडौले विजुली रोकी दियो भने दिल्ली अनि कोलंम्वोका गाडिहरु गुड्दैनन् व्याट्रिको चार्ज सकिएर, वेईजिंगका कलकारखानाहरु ठप्प हुन्छन्, संसारका ठूलाठूला कंपनीहरु टाट पल्लिन्छन्। तिनीहरुका डाटा सेन्टरहरु सवै नेपालमा छन् रे। नेपालले जडिवुटिहरु रोकिदियो भने संसारका कैयौ मान्छे मर्छन् ओखतिमूलो नपाएर। त्यही भएर होला विभिन्न देशका नेपाली दुतावासमा ती देशका नेताहरु दैनिक जसो भेटिरहन्छन्, सहयोगको याचना गरिरहन्छन्। मान्छेहरु आणविक शक्ति भएकादेशहरुलाई शक्तिकेन्द्र भन्ने गर्छन् तर म भने मान्दिन। मेरो देशमा अणुवम छ तर ' के नै काम लाग्दो रहेछ र अणुवम अनि ए के ४७, पड्काउन नमिले पछि '। म त शक्तिकेन्द्र नेपाल जस्ता मुलुकलाई नै भन्छु जसले संसारका मान्छेहरुको जीवन सहज तुल्याईरहेको छ। प्रजातान्त्रिक मुलुकको उत्क्रिष्ठ नमुना नै छ नेपाल। संचारमा त कुरै नगरौ। तर एक कुरा भने उही रहेछ। नेपालको सिमानाका खम्वाहरु त्यो बेला पनि सारिन्दा रहेछन्"। डेविडले यसो भनिरहँदा उसका नेपाली साथिहरुले आँखि भौं माथि सारे र अचम्ममा परेको संकेत दिए, तर उ धारावाहिक रुममै भन्दै गयो : "उतिवेला ति खम्वाहरु रातारात नेपालभित्र सारिन्दा रहेछन् तर अहिले अरुले नै ति खम्वाहरुलाई नेपालवाहिर सारिन्दा रहेछन् काठमाडौको दया पाउन। यस्ता पनि दिन आउने रहेछन् यस संसारमा (उसका नेपाली साथिहरुले आँखी भौं तर झारे, अनि हाँस्न लागे)"


एक विदेशीले आफ्नो देशको यसरी वयान गरेको सुनेर नेपाली साथीहरु डेविडसंग मख्ख परे। डेविड थप वयान गर्छ: "यहाँ त पूर्व मेचि देखि पस्चिम महाकालीसम्म २ घन्टामा पार गर्न सकिन्छ। कति सम्मको विकास छ वाफ रे वाफ। डाँडा-काँडामा समेत केवलकार पुगेर कति सजिलो। कर्णालीका हरेक गाउँमासमेत केवलकार पुगेको रहेछ, मलाई त अचम्म लाग्यो। मुख्य कुरा सवै केवलकारहरु विजुलीवाट चल्ने नि। कति सस्तो हो भाडा फेरि। अस्ति म रामेछाप गएको थिएँ, किंजाको केवलकार चढेर। उहिले उहिले मान्छेहरु दिनभर लगाएर हिड्ने गर्थे रे त्यो डाँडोमा। भरियाहरुले त ३, ४ दिन नै लाउँथे रे। म त तीन छक्क परें त्यो सुनेर। अहिले त्यस्ता भिर पखेरामा पनि सेकेन्ड नविराई आउने यी केवलकार अनि ईलेक्ट्रिक ट्रेन देखेर म अचम्ममा परेको छु। यस्तो पनि संभव हुँदो रहेछ बा बा। कसरी छेड्न सकेका हुन् ति अजंगका पहाडहरुलाई अनि वनाउन सकेका हुन् यस्ता भौतिक पुर्वाधारहरु!"।


डेविडको एउटा व्लग साईट छ। उसले यहाँ नेपाल घुम्दाका फोटाहरु र आफ्ना लेखहरु राख्ने गर्छ । नेपाल जान मडारिने विश्वभरका मान्छेहरुले उसको ब्लग पढ्छन् अनि मुख मिठ्याउछन् । २४ सेप्टेम्वर सन् २०५० शनिवार परेकोले पनि डेविडले नेपालको वारेमा ईंटरनेटमा थप अध्ययन गर्यो अनि उसले व्लगमा एउटा लेख पोष्ट गर्यो। त्यो व्लगको शिर्षक थियो: "मेरी आमालाई उत्तर"। त्यसलेखको एक अंश यस्तो थियो: "एक पटक मेरी आमा चेल्सी मार्टिनले मलाई एक प्रश्न शोध्नु भएको थियो 'नेपालमा २० करोड मान्छे छन् भन्छन्, कैयौं कम्पनीहरु छन् भन्छन्, तर मलाई पत्यार छैन; कसरी यो सानो देशमा त्यत्रा मान्छे, त्यत्रा कम्पनिका पुर्वाधारहरु अटेका छन्?' मलाई पनि पत्यार थिएन आमा यो डाँडाकाँडाले भरिएको सानो देशमा यत्रो जनसंख्या अनि पुर्वाधारहरु अटाएको। तर आफ्नै आँखाले देखेपछि पत्याउन वाध्य छु। तपाईंले गणित सिकाउँदा भन्नुहुन्यो नि ३० मिटर लंवाई र २० मिटर चौडाई भएको आयतकार ठाउँमा ३० मिटर x २० मिटर को एक घरमात्र वनाउन सकिन्छ भनेर। तर यो सुत्र अपुरो झै लाग्न थालेको छ आमा। नेपालमा त त्यहि ठाउँमा धेरै घरहरु वनाउन सकिदो रहेछ। आधार (Base) त्यही भएपनि पहाडहरुको उचाईले गर्दा खात माथि खात थपेर कैयौ घरहरु वनाईएका रहेछन्। संझिनु न तलैतला परेका घरहरु बनाएर जमिन वचाए जस्तो के त। तर यहाँका पहाडका घरहरु चाँहि सुरक्षाको द्रिष्टिले होला ४ तला भन्दा वेसि नभएका तर धेरै घरहरु के। सिंगार्नै नपर्ने हिमाल, कुँदिएका मनमोहक पहाड, अनि सिंचित तराईले नेपाल क्या सुसज्जित रहेछ। तराईं रोयो भने हिमाल र पहाडले फु्ल्याईहाल्ने रहेछन् अनि पहाड र हिमाल रोए भने तराईले। आफ्ना दु:ख-सुख: कस्तरी साट्न सकेका होलान् यिनिहरुले .. ..."।


व्लग पोष्ट गरे लगत्तै उसले धेरै प्रतिक्रियाहरु पायो। नेपालप्रतिको उसको अघाड माया अनि प्रेम देखेर पनि होला नेपाली साथीहरुको निक्कै प्रतिक्रिया आयो त्यो लेखमा। उसले यति धेरै प्रशंसा पायो कि प्रेमिका समेत भेट्टायो त्यो लेखमार्फत। केही दिन पछि डेविडले चेल्सिलाई पत्र लेख्यो: "आमा शनिवार, २०५० को डिसेम्वर ३ मंसिर महिनामा पनि पर्दो रहेछ। पत्यार नलाग्ला म एक नेपाली चेलीसंग विवाह वन्धनमा वाँधिदै छु भन्दा। जसरी अवसरको खोजिमा मेरा हजुरवुवाले अमेरिकन हजुरामा खोजेर ग्रिनकार्ड पाई अमेरिका वसेका थिए, उसैगरी मैले नेपाली चेलीसंग विवाह गरेर हरियो कार्ड लिएर नेपाल वस्ने निर्णय गरेको छु। अन्यथा नलिनुहोला, केही पनि नौलो हैन मात्र हजुरवुवाको साटो फेरेको हुँ मात्र फर्किएका दिनहरु… ….

उहि छोरो तथा गोर्खालीको नाति

डेविड"

***


फर्क-अव-फर्क

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, July 28, 2008

पढ्न अल्छि लाग्यो? सुन्नुस उसो भए




५ दिन देखि देशमा आगो वलिरहेको छ। सामाजिक सद्बाव विगार्न मुर्कुटाहरु लागिरहेका छन्। आगो दन्किदै जाँदा, मेरो रगत तात्दै जान्छ। त्यसैले त आजभोलि राष्ट्रको माया अझ प्रगाड भएर गहिरहेको छ मेरो मुटुमा, मेरो मस्तिस्कमा। यस्तो अवस्थामा म केहि नलेखी रहनै सकिन। फलस्वरुप अति नै व्यस्त जिवनमा नखाई- नखाई मनका भावनाहरु पो पोख्न मनलाग्यो मलाई त।


घाँस काट्ने घाँसीहरु हो,

फर्क भारी नपुगेकै भएपनि

हरियो घाँस देखाएर,

गाई लान आँटिसके।


माग्न निस्केका मगन्तेहरु हो

फर्क जति मागेको भएपनि,

छोरोको एकसरो दौरा तानी,

तुना चूँडाउन लागिसके।


सिक्न निस्किएका विध्यार्थिहरु हो

फर्क जति सिकेको भएपनि,

उल्टो उल्टो सिकाएर,

वैरिहरु मौलाईरहे।


कमाउन विदेशिएका गरीवहरु हो,

फर्क जति कमाएकै भएपनि,

जुवा खेलाउँदै, च्याँखे थाप्दै,

भकारी रित्याउन लागिसके।


फर्क आमाका संतानहरु हो,

मार्न ढाडिएका उडुसहरुलाई,

पड्काउन फुलेका जुम्राहरुलाई,

भुट्न रंगफेर्ने चूर्नाहरुलाई,

छदाउन चुस्ने जुकाहरुलाई,

लखेट्न गाई चोर्नेहरुलाई,

निमोठ्न दौरा च्यात्नेहरुलाई,

पिल्स्याउन उल्टो सिकाउनेहरुलाई,

टुप्पि-उखेल्न जुवाडेहरुलाई।


सच्चा देशभक्त ठान्छौ भने,

आमालाई वचाउन मन छ भने,

फर्क नै पर्छ सवैले,

नेपाली भई वाँच्नु छ भनें।

नेपाली भई मर्नु छ भनें॥

***


ह्यांग दिमाख

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, July 15, 2008

July 15, 2008


पढ्न अल्छि लाग्यो? सुन्नुस उसो भए    



टिरिंग टिरिंग फोन बज्छ, हत्त पत्त उठ्दछु। हेल्लो, हेल्लो? केही बुझिन्दैन। लाग्छ कसैले ब्लफ कल दिए जस्तो। लौ, फेन्चमा पो वोल्छ त। म पनि कस्तो भुलक्कड, सुत्नु अघि फोनमा घन्टि लगाएको पो त है; म तंग्रिन्दै जाँदा, बुझ्दै जान्छु।


फोनको घन्टिवाट सुरु हुन्छ मेरो बिहानी। यो फोनको काम अरु के नै छ र? हदै भए बिसमा एक फोन आउला, नत्र यो फूटेको कौडि जति पनि प्रयोगमा छैन बोल्नको लागि। तर ठूलो सहारा दिएको छ यो कौडिले, किनकी भनेको बेलामा घन्टि दिन्छ, मेरो आदेशलाई मानेर। भलै म फ्रेन्च राम्रो नवुझौंला, तर घन्टि न हो, भाषा किन वुझ्नु पर्यो र।


न त भाले वास्छन् यहाँ र उठ्नु, न त बासेकै भएपनि उठ्ने हुँ म। एक मनले सोच्छु, यहाँ भाले बासेकै भएपनि फ्रेन्चमा वास्थे होलान, कुकुर भुक्ने नै भए पनि फेन्चमा भुक्थे होलान्। त्यसैले तिनीहरु भएपनि नभएपनि कुनै गुनासो छैन। तर हैन, कुकुर भुकेकै भएपनि वा भनौं भाले डाकेकै भएपनि पहिलो वाक्य चै वुझ्थें होला J; उहि त हो वोंजु भन्थ्यो होला , साल्यु भन्थ्यो होला, बौलाएको भाले परे राति १२ बजे वासे वोन्युई भन्थ्यो होला …., केहि सहारा त पाईन्यो।


विहान ढल्कदै जाँदा ट्रेन पक्डन दौडिन्छु म। ८:२० मा छुट्ने ट्रेनलाई हेला गरेर, पहिल्यै तयार भएपनि ८:१० नबजी हिड्दै हिड्दिन; मरोस, आज वाटोमा अलिक लामा पाईला गरौला भनेर। किन-किन यो ज्यान यति बिहानै हिड्नै मान्दैन।


वाटोमा जाने आउनेको लस्कर। मेरो लामा-लामा पाईला अरु वाटो हिड्नेको तुलनामा एकदम छोटो सावित हुन्छन्। यहाँका मान्छेहरु कति फटाफट हिडेका हुन्। नेपालमा हुँदो हुँ त कस्तो घोडा जस्तो दौडेको भन्थे होलान् । ऊफ कस्तो ठाउँ यो, जहाँ मेरो लामालामा पाईला नि निकै छोटा झै लाग्ने।


ट्रेन स्टेसनको डिस्प्ले वोर्डलाई नियाल्छु म, ८:१८। अझै दुई मिनेट बाँकि ट्रेन आउनलाई। म कल्पिन्छु, म पुल्चोक क्याम्पसको गेटमा २६ नं को गाडिलाई कुरिरहेको वेला १० मिनेट, २० मिनेट अनि आधा घन्टा सम्म वस नआएको संझन्छु अनि तुलना गर्छु र पाउँछु, आकाश पातलको फरक। पैसा तिरेर पनि सुविधा पाउन कुरिनु पर्ने पुल्चौकको वस कुर्ने ठाउँ, उपभोक्ताको हक संझिन्छु म। कतै सेकेन्ड फरको नपरी आउने ट्रेन, ढिलो आएमा सुचना दिने व्यवस्था, कल्पनामै हराउछु म। कम्प्युटर ह्यांग भएर माउसलाई मतलव नगरे जस्तो, दिमाख ह्यांग भएर टोहोलाई रहन्छु म। ह्यांग भएको कम्प्युटरले बेला बेलामा माउसको टुप्पो सारे जस्तो मेरो दिमाखले छोडिदे तुलना गर्न भन्छ मलाई। म आदेश शिरोधार्य गर्छु, अनि उक्लिन्छु आईसकेको ट्रेनमा।


काठमाडौको कोचाकोच वसमा खुट्टा राख्न नपाउने क्षण, धुवाँको मुस्लो मुखै निर परेर रुमालै नभएपनि हातले छेकेको क्षण, प्वाँ प्वाँ पारेर कान वटारिने हर्नको आवाज, मेरो दिमाखको प्रोसेसरले दिमाखको मेमोरीमा लोड गर्छ, अनि भेरिएबल 'ए' मा राख्छ (दिमाखको दाहिने पाटोमा)। अनि खुट्टा ते्र्साएर वस्न पाईने २ तल्ले विजुली वाट चल्ने यो ट्रेन, विना आवाज र आरामदायी यात्राको अनुभव दिलाउने यो वाहान, धेरैजस्तोको हातमा किताव भएको यो क्षणलाई दिमाखको मेमोरीमा भेरिएवल 'वि' ( देव्रे पाटोमा) दिएर राख्छ दिमाखको प्रोसेसरले। अनि सुरु गर्छ कम्प्यारिजनको फंक्सन( तुलना)। किन हो किन, उत्तर दिन्छ NaN (Not a Number). मतलव, तुलना गर्दा फरक यति धेरै आयो कि जसलाई दिमाखको मेमोरिमा राख्न सकिएन अर्थात फरक अनन्त (Infinity)। मेरो दिमाख फेरि ह्वांग, हुन्छ।


उसै त ह्यांग भएर तातिएको दिमाख, ट्रेन भित्रको तातोले अझै तातिन्छ र सुस्ताउँछ, अनि सपना देख्छ केही क्षणलाई। दिमाख किन हो झर्ने ठाँउँ अघि नै फेरी काम गर्न थाल्छ। थपक्क ट्रेनवाट झर भन्छ Gare du Nord (उत्तरको स्टप) मा। म खुरुखुरु मान्छु, निस्कन्छु बाहिर अनि लाग्छु अफिस तिर।


वेलुका उही रुट, उही दिमाख, उही ट्रेन तर भोकाएको भुँडि, कामवाट थकित दिमाख। जति थकित भएपनि अक्सर यो दिमाख तुलना गर्ने काम गरिरहन्छ, ह्यांग हुने नै भए पनि। अनि प्रश्न गरिरहन्छ मलाई किन यस्तो फरक, कस्को कमजोरी, कस्को लापरवाही। म आजित हुन्छु, म अवाक्य हुन्छु, म बिचलीत हुन्छु; मेरो दिमाखको प्रोसेसर मलाई सोधि रहन्छ, तर म नाजवाफ बनिरहन्छु, नाजवाफ बनिरहन्छु।


बधाई-निस्चल अनि पूजालाई

Posted by Nobal Niraula ( नोवल निरौला ) Sunday, July 13, 2008

11 July, 2008

पढ्न अल्छि लाग्यो? सुन्नुस उसो भए




आजको दिन संसारले एक नौलो जोडि पाएको छ। अझ साँघुरिएर भन्नु पर्दा पुल्चोकमा बि. . पढ्दाका मेरा २ जना साथिको जोडि बनेको खवर सुनिको छु। अझै साँघरिनु पर्दा मेरो रोल्नं (521) भन्दा अघाडिको निश्चल (520) ले मेरो रोल्नं भन्दा पछाडिको पुजा (523) लाई झ्याई पारेको कुरा सुनिएको छ।


यो एकदम रमाईलो जोडि हो जस्तो लाग्छ। रोल्नं नजिकै परेकोले होला यो जोडीसंग मेरो राम्रै घुलमिल थियो, छ पनि। तर यिनिहरुले खुलेर कहिल्यै पनि बताएनन् आफ्नो प्रेम कहानी। आशंका त लाग्दै थियो। दुई मध्ये एकले म बिहे गर्न जाँदैछु सम्मको हिन्ट भने दिईसकेका थिए। सायद लजाएर होला योसंग भनेर चाहिँ भनिसकेको थिएन। किन लजाएको होला है? अबको च्याटमा यो कुरा भने सोध्ने नै छु।


विहेको पार्टीमा जानु अघि एक जना साथीले च्याटमा भन्दै थियो: "म कसरी भाउजू भनौ, अफ्ठेरो लाग्दैछ"। मैले भनेको थिएँ, उसो भए ज्वाँई भन न त! हुन पनि हो, भाउजु भन्न अलि अप्ठेरो होला नि है सुरु सुरुमा तर पछी वानी पर्ला, पर्नु पनि पर्यो नि (haha)


तस्विर: नविन जोडिलाई हार्दिक वधाई, दाम्पत्य जिवन सुखमय रहोस।


तस्विर: वा क्या सुहाएको जोडि! फेरि पनि वधाई

बि. . को होस्टल बस्दा हामी खुव कुरा गर्थ्यौं। को संग कस्को नाम जोडेर जोडि बन्ला भनेर। तर यो अहिले बनेको जोडि भने कुनै हालतमा नि बन्छ जस्तो लाग्थेन त्यो बेला। हामी अझ ठट्टा गर्थ्यौं एकै क्लासको जोडि बन्यो भने त भेट्न जाँदा पनि सजिलो है, दुवैजनालाई एकै पाली भेटिने भनेर। आखिरीमा त्यहि भयो (haha), रमाईलो लागिरहेको छ। आफ्नै क्लासवाट जोडि नबन्ला जस्तो भएको थियो तर यो नविन जोडिले त्यो अभावलाई पूरा गरिदिए। अव अर्को जोडि त बन्ने सम्भावना कमै देखिन्छ छ। तर के थाहा यस्तै गरि एकदिन फेरी अर्को जोडि निस्किने पो हो कि?


संततिको ताप

Posted by Nobal Niraula ( नोवल निरौला ) Thursday, July 10, 2008

विशेष कारणले गर्दा ब्लगमा पोष्ट गर्न ढिला भयो यो पाली। यो अघिको पोष्टिंग २२ जुनमा , आज ९ जुलाई। लगभग १५-२० दिन जस्तो कुनै पनि लेख, रचना, संकलन नपाउँदा खिन्न हुने विशेष गरी अमेरिकामा रहेका साथीहरु एवं थाईल्याण्डमा रहेका मित्रहरुलाई पस्किदै छु। आशा छ राम्रो नै लाग्ने छ।


गत महिनाको पहिलो व्लग जस्तै यो महिना पनि दिदीको कवितावाट पोष्ट गर्न शुरु गरेको छु। 'भ्रुणको आवाज' नामको पहिलो कविता धेरै साथिहरुले मनपराउनु भएको थियो, संततिको ताप नामको कविता पनि कम चाहिँ छैन नि।


यो कविताले शहरमा पढ्ने, पढाईमा मतलव नदिने वालवालिकालाई झटारो हानेको छ। एकातिर घन्टौं हिडेर विध्यालय पुग्नुपर्ने गाउँघरको अवस्था छ, अर्को तिर घरैवाट वस चढेर पुगिने शहरको सुविधा पनि छ। तर किन किन धेरैजस्तो शहरका नानीहरुले आफ्नो वानी पढाईमा भन्दा अन्य कुरामा लगाएर वावु आमाको लगानीलाई खेर फालि उनिहरुको सपनालाई चकनाचुर पार्ने खोजेका होलान भनेर कवियित्री चिन्तित देखिन्छिन् यो कवितामा। त्यसैले त उनि भन्छिन:


कहिं पाउनु छैन कलम किताव स्कुल धरि

कहिं पाए पनि मतलव छैन हरि हरि!!


जहाँ कुनै कुराको अभाव छैन जस्तो कि खान, लाउन, स्कुल, कपि, कलम, किताव, नोट, गाईड, तै पनि किन किन पढ्नै मान्दैनन् वा शहरका नानीहरु! कतै यो कविता सुने सप्रिन्थे कि ? ;)

दंते कथा - सिकर्मीको व्यथा

Posted by Nobal Niraula ( नोवल निरौला ) Wednesday, July 9, 2008

दंते कथा के हो थाहा छ? एक नेपालीले दंते कथा र गाउँखाने कथा किन नजान्नु नी है। बरु सुन्न मात्र मन पर्छ धेरैलाई। लौ त आज म एउटा दंते कथा सुनाउँछु, भन्दापनि लेख्छु, राम्रोसंग पढ्नु नि।

एकादेशमा एक सिकर्मी वस्दथ्यो। उ एकदम मिलनसार, ईमान्दार थियो। त्यसैले होला गाउँको महाजनले उसलाई निकै मान्थे। महाजन चाँहि जिल्ला भरि घर बनाउँथे। अर्थात उनी ठेक्केदार थिए। त्यो सिकर्मीले यति राम्रा घर बनाउँथ्यो भनिसाध्य छैन। तर उ भने झुपडिमा बस्थ्यो, धेरै कमाउन सकेको थिएन। वस्नको नाममा टहरो मात्र थियो उसको। कलाभएर पनि आफ्नो घर वनाउने हिम्मत उसमा थिएन।

एकदिन सिकर्मी साठी वर्ष पुगेछ, अनि सोचेछ: मैले यत्रो काम गरें यो ठेक्दारसंग, अव काम गर्दिन, वुढो भएँ। त्यसपछी सरासर महाजनकोमा पुगेछ अनि भनेछ: "महाजनसाप, म अव काम गर्दिन, वुढो भएँ। ढाड दुख्छ, अव मेरा दिन गएछन् मालिक"। महाजन छक्क परेछन् अनि भनेछन्: ठिकै छ, तिमी त्यसो भन्छौ भने जाउ, तर मेरोलागी अन्तिम घर वनाएर। अव एक घर वनाउन सघाउ, अनि जाउ।

सिकर्मीले ठिकैछ नि त भनेछ। घरको काम नि सुरु भएछ। महाजनले उसलाई विस्वास गर्ने भएकोले घर कस्तो वनाउँदै छ भनेर निरिक्षण नि गरेनछन्। सिकर्मीले सोचेछ, यो मैले बनाउने अन्तिम घर त हो नि , फेरि मैले वनाउनु क्यारे पर्दैन भनेर अल्छि गरेछ, काठहरुपनि सखुवाको नराखी, उत्तिस, सल्ला आदि राखेछ, अनि वुट्टाहरु पनि जे पायो त्यही राखिदिएछ। उसले राम्रो घर वनाउन कुनै मेहनत गरेनछ यो पाली।

घर वनाई सकेपछि, उ महाजनलाई भेट्न गएछ। महाजनलाई त्यो घरको चावि दिएछ। घर वनाईदिएकोमा महाजनले धन्यवाद दिएछन्। उनिहरुले संगै चिया खाएछन् अनि त्यो सिकर्मी विदावारी भएर उसको घर हिड्न लागेछ अनि भनेछ:
"महाजन, अव म जान लागें"।

महाजनले फेरि पनि धन्यवाद भनेछन्। अनि एक कदम अघि वढेर भनेछन्: हेर सिकर्मी वावु, तिमीले मेरो लागि यति गुन लगाएका छौ, मैले तिर्न सक्दिन। तै पनि यो तिमीले मेरो लागि वनाएको यो अन्तिम घर, आज म तिमीलाई दिदैछु र तिम्रो गुन तिर्दैछु। यति भनेर अघि उसले नै दिएको चावि उसैको हातमा थमाएछन् र विदावारी भएछन्।

सिकर्मी तीन छक्क परेछ, यस्तो कल्पना गर्नै नसकिने कुरा भएकोमा। उसले जिवनमा कैयन सुन्दर घरहरु वनायो, तर अन्तिममा हेलचेक्राई गरेर नराम्रो घर वनायो। यदि उसले यो उसको घर हो भन्ने कुरा वनाउने वेलैमा थाहापाएको भए सखुवाको काठ राख्थ्यो, वुट्टा पनि दामी दामी राख्थ्यो, दरवार जस्तो वनाउँथ्यो। तर……।

हामी यस प्रिथ्विमा सिकर्मी जस्तो भएर आएका छौ, हामीले उसको जस्तरी आफ्नो कर्तव्य पूरा गरेनौ भने उसरी नै फस्नेछौ। यो कथा यही सकिन्छ। लेख्ने भन्नेलाई सुनको माला, पढ्नेलाई फूलको माला, यो कथा अव कता जाला? :D :))))

Graduation Day

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, June 21, 2008

June 22, 2008


"दिन न हो, आखिर आईजान्छ"- यो उखान नै होस् वा अरु कसैको भनाई, आफूलाई त औधि मन पर्छ। अलिकती थप्न मन लाग्छ: "दिन न हो, आखिर आईजान्छ ढिलो चाँढो"।


यस्तै दिनमध्येको एक दिन थियो ठिक एक महिना अघि, धेरैजना साथिहरुले पर्खिबसेको। हो नि, २००८ मे २२ को दिन अर्थात हाम्रो Graduation Day थियो। AIT को १०९ औं ब्याच भएर हामी Graduate भएका थियौं। न त चाँढो, न त ढिलो ठिक समयमै हामी पास भयौं र जिवनमै पहिलोपालि अन्तर्राष्ट्रिय डिग्रि लिन सक्षम भयौ।


घरका भित्तामा राखिएका Graduation का फोटोहरु क्या मज्जाका देखिन्थे। तर कता कता अपुरो जस्तो लाग्ने आफ्नो फोटो नहुँदा चाही। यो दिन संगै त्यसको पूर्ति हुने समय पनि आयो।


वयान गरेर साध्य छैन २२ मे को दिन। टाई, वुटमा सजिएर गाउन लगाई हिड्दा छाति फुलेको अनुभव हुने। सवैलाई एकै रंग, एकै ड्रेसमा देख्दा सैनिकहरुको जमात जस्तो लाग्ने। वधाईका वाणीहरु सहित हँसिलो अनुहार अनि दंग परेको मन हाफ टिसर्ट, हाफ्पाईन्टमा पनि गर्मी हुने थाईल्याण्डको भूमीमा गर्धन मुनी पुरै ढाक्ने त्यै पनि कालो कपडामा सजिएर हिडिरहँदा सितल अनुभव गरिरहेको थियो। कति जना त आफ्नो आफन्तलाई दायाँ-वायाँ लगाई आफ्नो सान देखाई रहेका देखिन्थे। अत्यन्तै रमणीय वातावरण अनि एक जुगमा एक दिन आउने क्षण। लाग्थ्यो आज निकै ठूलो कुरा हात पारेका छौं।


त्यसै आउँदैनन् यि क्षणहरु: कैयन प्रहार खाईनुपर्छ प्रोफेसरहरुसँग, कैयौं रात नसुति विताईनु पर्छ, कैयौ दिनहरु भोकै विताईनु पर्छ, कैयन ग्लासको चिया, कफि सेलाईनु पर्छ, घरवाट 'कता हराएको आजभोलि' जस्ता वचन सुनिनु पर्छ, प्रिन्टरहरुसंग जुध्नु पर्छ, कुर्सिमै निदाउन सक्नु पर्छ, कोठालाई विरानो बनाई ल्यावलाई आफ्नो कोठा बनाउन सक्नुपर्छ, कम्यूटरको किवोर्डमा हातको छाप लागिनु पर्छ, दिन कुन र रात कुन विर्षिनु पर्छ, वर्ड र ल्याटेक्स संग जुध्न सक्नु पर्छ, 'कति ढिला गरेको खान जानलाई' भन्ने साथिहरुका प्रहारहरु सहन सक्नुपर्छ……………………….


तर डराउनु हुन्न। Graduation पछि यि सवकुराहरु साधारण लाग्ने रहेछन्। डिफेन्सको १ दिन अघि सम्म पनि मेरो Extension हुनसक्छ जस्तो लाग्ने क्षणहरु 'ओ हो, मैले त्यो पनि गर्न सकेछु है' जस्तोमा परिणत हुने रहेछन् Graduation पछी । यस्तो लाग्छ Graduation भनेको कलेजले आफ्नो शान देखाउने, विध्यार्थिले आफ्नो क्षमताको कदर भएको देखाउने, अनि विध्यार्थिले भोगेका सवै तिता अनुभवलाई विर्षिन लगाउने कलेजको एक कार्यक्रम हो। जे होस Graduation Graduation नै हो, जसलाई अरु कुनै कुराले प्यास मेटाउन सकिन्न।



तस्विर: यो दिन पनि आयो है? साथिहरु माझ






तस्विर: कति रमाईलो हो!!

काठमाडौ – पेरिस (भाग १)

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, June 14, 2008

दाइ तपाई कता जादै हुनुहुन्छ, कतार, दोहा, कुवेत कुन ठाउँ?

७ बजे (राती), १ जुन २००८ को त्रिभुवन विमान स्थलको सामान्य कक्षमा यो आवाज सुने लगत्तै झस्किन्छु। म त टोलाईरहेको पो रहेछु। म विना कोही साथी पहिलो पालि यति लामो यात्रामा संघर्ष गर्न निक्लिरहेको थिएँ, के के सोचिरहेको रहेछु त।

म यि तीनै ठाउँ जान लागेको हैन भाई, मन्दमुस्कानका साथ प्रति उत्तर दिन्छु।

अनि कता त?

उ थप जान्न खोज्छ, म ससंकित हुन्छु। ससंकित हुनुमा पनि कारण न छ। एयरपोर्ट भित्र एकदम ख्याल गर्नुपर्छ है भन्ने साथी-भाईको सल्लाह मेरो मष्तिस्कमा ताजै थियो।

त्यतै युरोप तिर, म देश नभनी महादेशको नाम लिन्छु।

केहीछिन उ वोल्दैन, यता उति हेरिरहन्छ। म मनमनै सोच्दछु, म पनि कति मापाको है, देश भनेर के नै जान्थ्यो र। कस्तो मात्तेको रै छ भनेर सोच्यो होला। वोल्नु पो पर्यो जस्तो लाग्यो, अनि सोधें,

भाई तपाई चैं कता तिर नि?

म कतार हिडेको दाई, कामको लागि।

मैले जस्तो उछिट्टेको जवाफ दिएन यस्ले। म कुरा मिलाउन लागें अनि भने:

ए। भाई म त फ्रान्सको लागि हिडेको तपाई कुवेत हुनुहुने रै छ, वरु कुन एयरलाईन पर्यो कुन्नी, यसो अवुधावि सम्म भएपनि संगै हुईन्छ कि?

भैएन छ दाई, म वहराईन हुदै जान्छु। उ उसको टिकट मलाई दिदै भन्छ, यि हेर्नुस त कति घन्टा कुर्नु पर्छ मैले वहराईनमा?

ओ हो, १० घन्टा रै छ, मेरो त जम्मा २ घन्टा।

राम हो र, अघिल्लो पाली जाँदा त सिघै लगेको थियो। यो पाली हतार हतारमा जानु परो अनि सिधै जाने टिकट नै मिलेन। कसरि विताउने होला खै।

वर्ण गहुँगोरो, करिव ५ फिट ५ ईंच उचाई, हल्ला जुंगाको रेखी, अनि मलाई दाई भन्ने भने पछि, करिव २२-२४ वर्षको उ, भरत शाही नामको रै छ। घर म्याग्दै रै छ।

आजै मात्र आएको म्याग्दिवाट, थाहा नै थिएन म जाने। पासपोर्ट देखाउँदै भन्छ, मेरो जम्मा १ हप्ताको भिसा वाकि रै छ अनि अहिले गएन भने पछि गार्हो हुन्छ रे। जान मन त थिएन, तर पैसा वढेको छ भने साथीहरुले अनि एक्कासी जानु पर्यो।

उ विना प्रश्न यथार्थ वताउँदै जान्छ। यस्तो लाग्छ उ आफ्ना कुरा कसैलाई सुनाउन चाहन्छ। भर्खर विहे गर्नु भयो कि के हो, भाइ? मैले सोधें।

अलिक लजायो, हो ३ महिना भो। बरु कसरी थाहा पाउनु भयो?

हा हा, म मनको कुरा बुझ्छु के? ठट्टा गरें मैले। उ मुसुमुसु हाँस्यो। विदेश जाने रहर पनि अनि जान पनि मन नलाग्ने भने पछि, विहे गरेको हुनु पर्छ नि, मैले भने। उस्को मन्द हाँसो अलिक वढ्यो। जुँगा ओठवाट अलिक तेर्सिए।

उसको पासपोर्ट हेरें, भिसा पनि। भिसा पनि अरेविकमा पो रै छ। अंग्रेजि मा केहि नि नहुने रै छ। मिति भने वुझें। १५ दिन वाँकि रै छ, तर उस्ले १ हप्ता भनेको थियो। सोचें राम्रोसंग जान्दैन रहेछ कि के हो पढ्न।

दाइ म पानी किनेर आउँछु, पासपोर्ट अनि झोला यहीं होस है, भन्दै उ गयो। नाई भन्नै मिलेन। खासमा मलाई एयरपोर्ट भित्र कुनै मान्छेको सामानको रेखदेख गर्न मन थिएन तर पनि वाध्यता आईपर्यो। म सोच्न लागें १० मिनेटको भलाकुसारीवाट चिनेको म दाई भनाउदोलाई पासपोर्ट समेत छोडेर २-३ मिनेट लाग्ने ठाउँमा पानी किन्न जाने यो पटमूर्ख नै हुनुपर्छ कि त म पटमुर्ख किनकि अनजानको मान्छेको सामान (जसमा लागुपदार्थ पनि हुन सक्छ) को रेखदेख गर्न हुन्छ भने। आखिरिमा उ नै पटमूर्ख ठहरियो, पानी किनेर आयो अनि सामान जिम्मा लियो।

क्रमश:

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors