About Me

My photo
I love writing and reading articles, traveling places, making friends etc... Currently, I am doing my PhD in Computer Science in University of Memphis, USA.

My Personal Page:
Personal Page
My Blogs:
1. Blog in Nepali
2. Blog in English
3. Technical Blog

नयाँ लेखहरु

Graduation Day

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, June 21, 2008

June 22, 2008


"दिन न हो, आखिर आईजान्छ"- यो उखान नै होस् वा अरु कसैको भनाई, आफूलाई त औधि मन पर्छ। अलिकती थप्न मन लाग्छ: "दिन न हो, आखिर आईजान्छ ढिलो चाँढो"।


यस्तै दिनमध्येको एक दिन थियो ठिक एक महिना अघि, धेरैजना साथिहरुले पर्खिबसेको। हो नि, २००८ मे २२ को दिन अर्थात हाम्रो Graduation Day थियो। AIT को १०९ औं ब्याच भएर हामी Graduate भएका थियौं। न त चाँढो, न त ढिलो ठिक समयमै हामी पास भयौं र जिवनमै पहिलोपालि अन्तर्राष्ट्रिय डिग्रि लिन सक्षम भयौ।


घरका भित्तामा राखिएका Graduation का फोटोहरु क्या मज्जाका देखिन्थे। तर कता कता अपुरो जस्तो लाग्ने आफ्नो फोटो नहुँदा चाही। यो दिन संगै त्यसको पूर्ति हुने समय पनि आयो।


वयान गरेर साध्य छैन २२ मे को दिन। टाई, वुटमा सजिएर गाउन लगाई हिड्दा छाति फुलेको अनुभव हुने। सवैलाई एकै रंग, एकै ड्रेसमा देख्दा सैनिकहरुको जमात जस्तो लाग्ने। वधाईका वाणीहरु सहित हँसिलो अनुहार अनि दंग परेको मन हाफ टिसर्ट, हाफ्पाईन्टमा पनि गर्मी हुने थाईल्याण्डको भूमीमा गर्धन मुनी पुरै ढाक्ने त्यै पनि कालो कपडामा सजिएर हिडिरहँदा सितल अनुभव गरिरहेको थियो। कति जना त आफ्नो आफन्तलाई दायाँ-वायाँ लगाई आफ्नो सान देखाई रहेका देखिन्थे। अत्यन्तै रमणीय वातावरण अनि एक जुगमा एक दिन आउने क्षण। लाग्थ्यो आज निकै ठूलो कुरा हात पारेका छौं।


त्यसै आउँदैनन् यि क्षणहरु: कैयन प्रहार खाईनुपर्छ प्रोफेसरहरुसँग, कैयौं रात नसुति विताईनु पर्छ, कैयौ दिनहरु भोकै विताईनु पर्छ, कैयन ग्लासको चिया, कफि सेलाईनु पर्छ, घरवाट 'कता हराएको आजभोलि' जस्ता वचन सुनिनु पर्छ, प्रिन्टरहरुसंग जुध्नु पर्छ, कुर्सिमै निदाउन सक्नु पर्छ, कोठालाई विरानो बनाई ल्यावलाई आफ्नो कोठा बनाउन सक्नुपर्छ, कम्यूटरको किवोर्डमा हातको छाप लागिनु पर्छ, दिन कुन र रात कुन विर्षिनु पर्छ, वर्ड र ल्याटेक्स संग जुध्न सक्नु पर्छ, 'कति ढिला गरेको खान जानलाई' भन्ने साथिहरुका प्रहारहरु सहन सक्नुपर्छ……………………….


तर डराउनु हुन्न। Graduation पछि यि सवकुराहरु साधारण लाग्ने रहेछन्। डिफेन्सको १ दिन अघि सम्म पनि मेरो Extension हुनसक्छ जस्तो लाग्ने क्षणहरु 'ओ हो, मैले त्यो पनि गर्न सकेछु है' जस्तोमा परिणत हुने रहेछन् Graduation पछी । यस्तो लाग्छ Graduation भनेको कलेजले आफ्नो शान देखाउने, विध्यार्थिले आफ्नो क्षमताको कदर भएको देखाउने, अनि विध्यार्थिले भोगेका सवै तिता अनुभवलाई विर्षिन लगाउने कलेजको एक कार्यक्रम हो। जे होस Graduation Graduation नै हो, जसलाई अरु कुनै कुराले प्यास मेटाउन सकिन्न।



तस्विर: यो दिन पनि आयो है? साथिहरु माझ






तस्विर: कति रमाईलो हो!!

काठमाडौ – पेरिस (भाग १)

Posted by Nobal Niraula ( नोवल निरौला ) Saturday, June 14, 2008

दाइ तपाई कता जादै हुनुहुन्छ, कतार, दोहा, कुवेत कुन ठाउँ?

७ बजे (राती), १ जुन २००८ को त्रिभुवन विमान स्थलको सामान्य कक्षमा यो आवाज सुने लगत्तै झस्किन्छु। म त टोलाईरहेको पो रहेछु। म विना कोही साथी पहिलो पालि यति लामो यात्रामा संघर्ष गर्न निक्लिरहेको थिएँ, के के सोचिरहेको रहेछु त।

म यि तीनै ठाउँ जान लागेको हैन भाई, मन्दमुस्कानका साथ प्रति उत्तर दिन्छु।

अनि कता त?

उ थप जान्न खोज्छ, म ससंकित हुन्छु। ससंकित हुनुमा पनि कारण न छ। एयरपोर्ट भित्र एकदम ख्याल गर्नुपर्छ है भन्ने साथी-भाईको सल्लाह मेरो मष्तिस्कमा ताजै थियो।

त्यतै युरोप तिर, म देश नभनी महादेशको नाम लिन्छु।

केहीछिन उ वोल्दैन, यता उति हेरिरहन्छ। म मनमनै सोच्दछु, म पनि कति मापाको है, देश भनेर के नै जान्थ्यो र। कस्तो मात्तेको रै छ भनेर सोच्यो होला। वोल्नु पो पर्यो जस्तो लाग्यो, अनि सोधें,

भाई तपाई चैं कता तिर नि?

म कतार हिडेको दाई, कामको लागि।

मैले जस्तो उछिट्टेको जवाफ दिएन यस्ले। म कुरा मिलाउन लागें अनि भने:

ए। भाई म त फ्रान्सको लागि हिडेको तपाई कुवेत हुनुहुने रै छ, वरु कुन एयरलाईन पर्यो कुन्नी, यसो अवुधावि सम्म भएपनि संगै हुईन्छ कि?

भैएन छ दाई, म वहराईन हुदै जान्छु। उ उसको टिकट मलाई दिदै भन्छ, यि हेर्नुस त कति घन्टा कुर्नु पर्छ मैले वहराईनमा?

ओ हो, १० घन्टा रै छ, मेरो त जम्मा २ घन्टा।

राम हो र, अघिल्लो पाली जाँदा त सिघै लगेको थियो। यो पाली हतार हतारमा जानु परो अनि सिधै जाने टिकट नै मिलेन। कसरि विताउने होला खै।

वर्ण गहुँगोरो, करिव ५ फिट ५ ईंच उचाई, हल्ला जुंगाको रेखी, अनि मलाई दाई भन्ने भने पछि, करिव २२-२४ वर्षको उ, भरत शाही नामको रै छ। घर म्याग्दै रै छ।

आजै मात्र आएको म्याग्दिवाट, थाहा नै थिएन म जाने। पासपोर्ट देखाउँदै भन्छ, मेरो जम्मा १ हप्ताको भिसा वाकि रै छ अनि अहिले गएन भने पछि गार्हो हुन्छ रे। जान मन त थिएन, तर पैसा वढेको छ भने साथीहरुले अनि एक्कासी जानु पर्यो।

उ विना प्रश्न यथार्थ वताउँदै जान्छ। यस्तो लाग्छ उ आफ्ना कुरा कसैलाई सुनाउन चाहन्छ। भर्खर विहे गर्नु भयो कि के हो, भाइ? मैले सोधें।

अलिक लजायो, हो ३ महिना भो। बरु कसरी थाहा पाउनु भयो?

हा हा, म मनको कुरा बुझ्छु के? ठट्टा गरें मैले। उ मुसुमुसु हाँस्यो। विदेश जाने रहर पनि अनि जान पनि मन नलाग्ने भने पछि, विहे गरेको हुनु पर्छ नि, मैले भने। उस्को मन्द हाँसो अलिक वढ्यो। जुँगा ओठवाट अलिक तेर्सिए।

उसको पासपोर्ट हेरें, भिसा पनि। भिसा पनि अरेविकमा पो रै छ। अंग्रेजि मा केहि नि नहुने रै छ। मिति भने वुझें। १५ दिन वाँकि रै छ, तर उस्ले १ हप्ता भनेको थियो। सोचें राम्रोसंग जान्दैन रहेछ कि के हो पढ्न।

दाइ म पानी किनेर आउँछु, पासपोर्ट अनि झोला यहीं होस है, भन्दै उ गयो। नाई भन्नै मिलेन। खासमा मलाई एयरपोर्ट भित्र कुनै मान्छेको सामानको रेखदेख गर्न मन थिएन तर पनि वाध्यता आईपर्यो। म सोच्न लागें १० मिनेटको भलाकुसारीवाट चिनेको म दाई भनाउदोलाई पासपोर्ट समेत छोडेर २-३ मिनेट लाग्ने ठाउँमा पानी किन्न जाने यो पटमूर्ख नै हुनुपर्छ कि त म पटमुर्ख किनकि अनजानको मान्छेको सामान (जसमा लागुपदार्थ पनि हुन सक्छ) को रेखदेख गर्न हुन्छ भने। आखिरिमा उ नै पटमूर्ख ठहरियो, पानी किनेर आयो अनि सामान जिम्मा लियो।

क्रमश:

भ्रूणको आवाज

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, June 3, 2008

काठमाडौमा गएको बेला अनन्ता दिदीका कविताहरु हेर्ने भ्याएको थिएँ। सवै एक से एक रहेछन्। केही कविताहरुलाई दिदीको आवाजमै लिन सफल भएको छु।

यो कवितामा एउटा भ्रुण, जसलाई वावा र आमाले छोरीको भ्रुण रहेछ भनेर मार्न खोज्दैछन्, ले बोलीरहेको छ। कवियत्रीले भ्रुणको गुनासोलाई आफ्नो आवाजमार्फत प्रस्तुत गरेकी छिन्।

छोरीको भ्रुण भएकै आधारमा त्यसको हत्या गर्नु गम्भीर अपराध हो। हस्पिटलमा गएर गरिने भ्रुण हत्या पक्कै पनि कु-कर्म नै हो। यो कुकर्मलाई यो कविताले राम्रो झापड दिएको भान हुन्छ।


कविताको एक अंश:

"मानिस वचाउने हस्पिटल

दिन-दिन हुदैई छन वधशाला"

वाँकि कविता कवियत्रिको आवाजमा


भिम-दाई

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, May 19, 2008

पारि गाउँमा जानेहरुको निकै लामो ताँति हुने गर्छ। जसले पनि जान कहाँ पाउँछ र, तै पनि यो ताँति देख्दा जाउ-जाँउ लाग्ने। त्यसैले म पनि जान हतारिन्छु। हतारिनुमा पनि फाईदा छ। प्राय: जसो सवैलाई त्यो गाउँजानै पर्छ। जानै पर्ने भएपछी किन ढिला गर्ने, भनेर म पनि त्यसको टिकट काट्न सफलहुन्छु, ठुलो भिडलाई छिचोल्दै। उताको गाउँकोहरुले नै मलाई आईज भनेकोले होला म दंग छु।

त्यो ताँतिमा म पनि वस्छु। दायाँवायाँ हेर्छु, अहँ कोहिपनि ठम्याउन सक्दिन। सवजना नौलो नौलो। म एकोहोरो भएर लाईनको अगाडि हेरिरहेको हुन्छु।

सुन्नु त वहिनी? कसैको आवाज सुने, म झस्यांग हुनपुगें। यस्तो कोहि चिनजानको नहुँदा खल्लो लागिरहेको समयमा वहिनी भन्ने परिचित आवाजले म खुशी हुन्छु।

ए भिम दाई, तपाईं? मलाई त कोही नदेखेर कस्तो कस्तो लाग्दै थियो

म पनि त्यही हो, तिमीलाई देखें अनि दौडिदै आएको नि, भिमदाई खुशी देखिन्थे।

लौ अव रमाईलो हुने भयो, भिमदाई। बरु कुन घरमा हो तपाईको डेरा?

त्यही के त च्यादरले छाएको नि

ए मेरो पनि नजिकै हो। घर छोड्दा न्यास्रो लाग्छ होला तैपनि तपाईं हुनुहुने भएकोले सजिलो हुने भयो, दाई। न्यास्रो केही कम भएपनि मेटिएला।

हो त पुष्पा बहिनी, संसार यस्तै गरि वित्छ नि। नयाँ ठाउँमा नयाँ परिचय हुन्छ, घुलमिल हुनुपर्छ, सकिन्छ

यसरी दाईले संझाउँदै थिए। युरोपमा पुग्नेलाई नेपाल घर हो भन्नेहरु आफ्नै परिवारको सदस्य जस्तो लाग्छ रे, अनि चितवनको मान्छेलाई काठमाडौ बस्नेहरुमध्ये कसैले चितवन मेरो घर भन्नेहरु आफ्नो लाग्छ रे। मलाई पनि त्यस्तै भान भईरहेको थियो। मलाई लाग्थ्यो हामी परिवाको एकै सदस्य हौ, र उनी पनि त्यही भाव प्रकट गरिरहेका थिए।

जो पहिले त्यो पारी गाँउ पुग्यो, त्यसको सम्मान निकै हुने रै छ। त्यसैले धेरै जस्तो हतारिएका देखिन्थे। तर यो यस्तो यात्रा हो जहाँ दौडिएर अघाडि पुगे पनि जितिने भन्ने हुँदै हुन्न। कैयन नियामहरु पालन गरिनुपर्छ, कैयन चकपोष्मा जाँचिनुपर्छ, कैयन खोला र उकाली ओरालिहरु पार गर्नु पर्छ। त्यसैले म छोरीमान्छे भएपनि नियम अनुसार चल्न भने कम छैन। त्यसैले मलाई पनि कता कता आशा छ। हेरौ समय कसरी अघि वड्ने रहेछ।

खासमा भिम दाई र म पहिले पनि अर्को गाउंमा यस्तै गरि गएका थियौ, तर त्यति धेरै नजिकिन पाएकी थिईन। तै पनि यस्तो अपरिचित भिडमा परिचित अनुहारले सहारा प्रदान गरिरहेको थियो।

हाम्रो यात्रा सुरू भयो। भिमदाई संगै म पनि जाँदै थिए। विचमा एक चेकपोष्ट रै छ। सवैलाई चेक गरियो। म सजिलै पार भएँ, अनि कुरें दाइलाई।

किन ढिला आउनु भएको दाई? म भिमदाईको मलिन अनुहार देखेर भावुक हुँदै सोध्छु।

वैनि म त बेकार हिडेको, यो चेकपोष्ट नराम्ररि पिटे। म त फर्किन्छु मेरो गाउँ- रुन आँटको अनुहार र खल्च्यांग खल्च्यांग गरेको खुट्टा देखे पछि मलाई पनि भावुक वनायो।

दाई, त्यस्तै हो, यो यात्रामा चेकपोष्ट छन् भन्ने थाहा नै थियो। दुख: हुन्छ भन्ने थाहा नै थियो नि। त्यसैले चिन्ता नलिनुस। अरु चेकपोष्टमा केहि हुन्न। मलाई नि पिट्लान भन्नेर डरलागिरहेको छ। हुन त जति चेकपोष्टमा पिटाई खादै गईन्छ उति उति ढिला पुगिन्छ त्यो गाउँ। तर पहिल्यै पुग्नु पर्ने के नै छ र?- म संझाउँछु।

म अघि-अघि हिड्दै छु, खुट्टा खल्च्यांग खल्च्यांग गर्दै भिमदाई पनि हिडिरहेका हुन्छन। विच विचमा खोल्सा पार गर्नु पर्ने, अईठन परेको वेला म निकै सघाउँछु, मालीस सम्म गरिदिन्छु खुट्टामा। म पनि कहिले काँहि त्यस्तै कैडा लाग्छ। दाईले सघाउछन। यस्तो लाग्छ, यो दाईको नाता साँच्चै दाईकै हो।

यसैबिच अर्को चेकपोष्ट आँउछ। छुट्टा छुट्टै ला‌‌ईनमा वस्छौं अगिकोमा जस्तै। यो पाली भने दुवै जना सँगसँगै निस्कन्छौ।

पहिलो चेकपोष्टमा कोहि अघि थियो हामीहरु भन्दा, तर अहिले हामी अघाडि कोही देखिन्न। सायद अरुहरुलाई पनि चेकपोष्टमा निकै थला पारे जस्तो छ। यसरी म अघि-अघि, अनि भिमदाई, अनि अरु। कहिले काहीँ चौतारो आउँछ, सवै जनासंग भेट हुन्छ। तिमी चाँढो पुग्ने भयौ भनेर बधाई दिन्छन। म मौन रुपमा वधाई लिन्छु। तर भन्छु, अरु चेकपोष्ट छन्। भन्न सकिन्न। उनिहरु भन्दै जान्छन, हरेक चेकपोष्ट हामीहरुलाई पनि हो। म चुप हुन्छु।

गाउँ आउनलागेको छ, कैयन कोष पार गरेर। जानेहरुको लस्कर छ, विहेको जन्ति जस्तो।

भिमदाई तपाईंलाई कस्तो लाग्यो त यो यात्रा?

म पछि-पछि आउँदै गरेका भिमदाईलाई सोध्छु। सानो भयो कि के हो मेरो आवाज भिमदाई बोलेनन्, फेरि भन्छु। भिमदाई समग्रमा तपाईंलाई कस्तो लाग्यो त यात्रा? त्यो पहिलो चेकपोष्टमा मात्र त हो अलि गार्हो परेको है। भिमदाई फेरी बोलेनन्। पछाडि हेरें, भिमदाई देखिन। म झसंग भएँ।

रिसाएकी के हो भिमदाई? मनमन सोच्छु। यत्रो लामो यात्रामा मैले कैयन पटक मालिस गरिदिएकी छु, कैयन ठाउँमा साथ दिएकी छु। उ नभएको भए म अघिनै पुगिसकेको हुन्थे त्यो गाउँमा किनभने मैले मेरो समय उनको साथसाथ विताएँ, कैयन उकालीहरुमा पानी ल्याएर खुवाएँ, अप्ठेरो वाटोमा वाटो देखाएँ। तर भिमदाई, मलाई नभनि कता गायव। छ्या म पनि के सोचेको होला। आउलान् नि। म हिड्दै गएँ।

अन्तिम चेकपोष्ट आयो। म नाम लेख्न लागें। मैले त्यहाँको एक कर्मचारीलाई सोधें, सुन्नु त, म भन्दा अघि कोहि गयो? कर्मचारीले टाउको हल्लायो, म झस्किए। भिमदाईले अघि नै गाउँपुगिसेका रहेछन। म तिन छक्क परें। यतिलामो यात्रामा मैले धोका खाएँ। पछि थाहापाएँ, दाइलाई पहिलो चेकपोष्टमा पनि केहि भएको रहेनछ। सव नाटक गरेका रहेछन।

म सोच्दछु, किन यस्तो गरेका होलान्, म आफैंपनि चकित छु। सवै साथिहरुको वधाई खेर गयो। मलाई पहिला पुग्न ससकेकोमा धेरै पिर त छैन, तर भिमदाई बाट भने चकित परेकी छु। भिमदाई, धोकेवाज। के भनौ, मेरो जिवनमा यस्तो यात्रा सायदै आउला, तर भिमदाईको जिवनमा यस्तो यात्रा धेरै आए जस्तो लाग्यो। यस्तो लाग्छ भिमदाई यस्तो यात्रा गर्न निक्कै खप्पिस छन। रुद्र घन्टि पनि कस्तो होला यिनको, त्यति लामो यात्रामा कुनै संकेत दिएनन्, बरु उल्टै लुकाईरहे।

अहिले सम्म पहिला पुग्नेको नाम औपचारिक रुपमा आएको छैन। मैले भिमदाईलाई भेटे पनि, तर पनि किन किन अव भिमदाई मलाई भिमदाई लाग्दैन। एकदम जाली, फटाहा, जस्तो। मायालाग्ने त्यो अनुहार देखेकी झर्को लाग्ने भएको छ। यो कस्तो यात्रा, जालै जालको पंजा वुनिएको विश्वास घातको

जे भयो भैगयो, तर आजसम्म पनि म यो यात्रा भुल्न सक्दिन जसले मेरा कैयन, आसा अनि उमंगका क्षणहरुलाई उडाईदिएको छ, मात्र विश्वासघातले। म मनमनै गुनुगुनाउछु, उडायो सपना सवै हुरिले……..

छोड्दै छ तिम्रो हितैषि मित्र

Posted by Nobal Niraula ( नोवल निरौला ) Friday, May 16, 2008

त्यहि दिन देखि मलाई तिम्रो माया लाग्छ, जुन दिन तिमीले मेरो ध्यान तानेकी थियौ। म तन्नेरी योग्य मान्छे, तिमी पाको, अनुभव वटुलेकी। मन नै थाम्न सकिन, अनि पत्र लेखेथें। ह्वयान्डसम देखेर त होला नी हौ, तिमिले ने स्विक्रिति दे को। तिमीलाई म चाहिने र मलाई तिमी चाहिने भएकोले पनि गठबन्धन बन्यो है।

जव मैले तिमीलाई पहिलो पाली देखेथें तिम्रो रापले मलाई पोलेको थियो। यो राप पछि पछि त स्वागतको प्रकाश झै लाग्यो। मेरो आगमनले तिमी पनि मख्ख परेकि देखिन्थ्यौ। हरियो वस्त्रले ढपक्कै ढाकेकी तिमी पनि क्या सुन्दिरी, वयान नै कसरी गरौं र।

जव जव म तिमीमा हराउन थाले, दिन वितेको पत्तै भएन। तिम्रो माया र प्रितीले गर्दा नै म देश विदेश घुम्न सकें। धन्य छौ तिमी। भन म के दिन सक्छु तिमीलाई? माग, म मेरो सामर्थ्यले सके सम्म दिन्छु्। भन्दि हौ तिमी बस अझै म संगै, तर मलाई मन नै छैन अनि संभव पनि छैन। कति निष्ठुरी है, मन नै छैन रे? के गर्नु र हेर न यो संसार यस्तै रै छ, मिलन र विछोड र आईरहने रहेछ। म तिम्रो मायामा यस्तरि डुवेको छु, यो जालवाट उम्किने हिम्मत नै गर्न सक्दिन। त्यसैले भौतिक रुपमा टाढा रहे पनि मायाको संसार हेर्ने हो भने म तिम्रो हितैषी मित्र भएर रहिरहने छु, यस्तो मित्र जुन अघाड सम्म रहिरहने छ, मेरो जिवनमा।

परिवारको क्षत्रछायाँवाट टाढा रहेपनि तिमीले मलाई एक्लो अनुभुति गराएनौ। अघी नै भने नि, तिम्रो साथमा हुँदा सम्म म आफूलाई आफ्नै घरमा भएको महसुस गरायौ। तिम्रा यस्ता कैयन कुराले मेरो मन पगालेको छ।

अनि तिमी छौ र त म छु। तिमी रह्यौ भने पो म पनि रहन्छु त। तिम्रो कलंक मेरो कलंक, तिम्रो उन्नति, मेरो उन्नति। त्यसैले तिमीलाई धेरै धेरै शुभकामना अनि भविष्यमा तिम्रो उन्नतिको कामना। कुनै पनि समयको कुनै पनि वेला मेरो सहयोग र समर्थन तिमीलाई। सफल भविष्यको कामना सहित तिमीसंग छुट्दै छु, बस भौतिक रुपले मात्र। थाहा छ, तिमी रुने छैन, तिमी हाँसि-हाँसि विदाई गर्ने छौ किनकी तिम्ले म संगको विछोडको पिडा कम गर्न अरुलाई छान्न थालीसकेकी छौ। म भने अलिक यस्तो छैन, म आँशु खसाल्दै छुट्दै छु । हेर हेर रोएकी , नरोउ मेरो कुराले…., तिमी पनि, मेरो आँशु त हर्षको आँशु पो त। लौ है, तिम्रो अघाड प्रेमी विदा माग्दै छ।

[ तिमी, उनी => AIT:) ]

के ठिक के वेठिक

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, May 13, 2008

के छ त यार अवको Plan?एक मोटे साथिले त्यहि प्रश्न दोहोर्यायो जुन अरुहरुले पनि सोधि रहन्थे। त्यसैले उत्तर दिन सोच्नै परेन। नेपाल जाने नि- उत्तर फर्किहाल्यो।

विगत नियाल्छु, विदेशमा पूर्ण-क्षात्रव्रित्ती पाएर पढ्न आएको हिजो जस्तो लाग्छ, सकिन पो लागेछ। पढाई सकिनलाग्दा सम्म पनि अव के गर्छु भन्ने कुराको निस्चित नहुँदा यो मन डुलिरहेको हुन्छ, घुमिरहेको हुन्छ, कैयन सपनाहरु कोरिरहेको हुन्छ। सपनाको संसारमा डुबुल्कि मार्न कुनै न कुनै वाटो त हुनु पर्यो नि। वाटो पहिल्याउन कैयन प्रयास नगरेको नि हैन, तर किन-किन ढोका नै खुलेको थिएन। लाग्थ्यो भोटे ताल्चा नै लागेको छ ढोकामा।

मास्टर्स गरेपछि सजिलो हुन्छ Job पाउन- उ भन्दै जान्छ।

तिमी अमेरिकामा छौ, म युरोपमा- तिमी जस्तै म पनि English मा काम गर्न पाए गर्थे नि, युरोपमा काम गर्ने जाने पनि स्थानिय भाषा जानेन भने कुनै काम छैन रै छ। बल्ल चाल पाएँ किन मान्छेहरु अमेरिका, अमेरका भन्छन न कि युरोप युरोप, कम्पनिहरुसंग भलाकुसारी गर्दा सोधिएका प्रश्नलाई आधार मान्दै म उत्तर फर्काउँछु।

“Job खोज जसरि भए पनि। हेर, तिमी नेपाल जाने प्लेनको ढोका भित्र नछिरुन्जेल पनि कसरि नजान मिल्छ भन्ने सोच है- ईंटरनेटको भलाकुसारीका क्रममा मोटे भन्दै जान्छ।

मन नै मडारिएर आयो; अनगिन्ति प्रश्नहरु तेर्सिए; शव्द केलाउन मनलाग्यो। ३, ४ पटक पढें होला त्यो वाक्य। एक किसिमले हाँस उठ्यो, अर्को तर्फ गम्भिर पनि बनायो। हाँसो यस अर्थमा कि, क्या मिलेका शव्द अनि लेखाई, अनि गम्भिर यस अर्थमा कि यसको भावर्थ। उच्च शिक्षा हासिल गरेर देशलाई सेवा गर्नुपर्छ भन्ने भाषणहरु र कैयनलेखहरु नसुनेको, नपढेको कहाँ हो र। भन्ने गर्छन् : महाविर पुनलाई हेर, अमेरिका छोडेर देशमा आएको जनतालाई सेवा गर्न, त्यसैले देशमा आउनु पर्छ। कुरा सुन्दा कतै खोट लाग्दैन, तर फेरि मनमनै प्रश्न सोध्छु, महाविरलाई छोडौं, अरु कैयन खै त? सव खालि पर्दाका पछाडि छन्। सिमित अवसरमा गुज्रिरहेकाहरुको उदाहरण नियाल्ने हो भने, ति भाषण तथा लेखहरु एकदम सैदान्तिक लाग्छन। यसरी सोच्दा त्यो साथिको भनाई पुष्टि हुन्छ।

तिमी सकेसम्म नफर्क यार, राम्रो छैन यहाँ - काठमाडौमा झन्डै रु २७००० प्रतिमहिना को जागिर खाने एक साथिले Internet Chat मा भनेको कुरा नि याद आउँछ। उस्ले भन्थ्यो, हेर यार हामीहरु त सडिएर वसिरहेका छौ, तिमी फेरि सडिन नआउनु। मैंले उसका वाक्यहरु जस्ताको तस्तै राखेको छु।

कस्तो संसार है। सोच्दछु, २७००० को जागिर खानेहरुलाई पनि चैन छैन। उहि व्यक्ति जसले १२००० को जागिर पाउँदा स्वर्गमा पुगे जस्तो खुसि देखिन्थ्यो त्यो बेला, त्यही मान्छे केहि समयको अन्तराल पछि २७००० पाउँदा पनि मन नै अमिलो हुने कुरा गरेको देख्दा कारण खोज्न मन लाग्छ। आफ्नै हाराहारिकाहरु विदेशमा गएर डलर कमाउने गरेको देखेर नै यो परिवर्तन आएको हुनुपर्दछ भन्ने ठहर गर्छु म।

नजाउ भन्नेहरु र नआउ भन्नेहरुको भनाई ठ्याक्कै मिल्छ। नजाउ र नआउहरुको माझमा रहेर उपायको खोजिमा रहेका कैयन साथिहरुको भाषा मैले वुझेको छु। अव त मेरो पनि नेपाल जाने प्लेनको ढोका पनि खुल्नै लागेको छ। जे होस, जव-जव म नेपालजाने प्लेनको ढोकामा पुग्नेछु, पक्कै पनि संझिने छु: “…नेपाल जाने प्लेनको ढोकासोच है J

रिसर्चको चर्चा

Posted by Nobal Niraula ( नोवल निरौला ) Tuesday, April 29, 2008

९ महिनाको अथक प्रयास पछि रिसर्चको रिजल्ट पाईएको छ। कस्तो होला त यो ९ महिना लगाएर पाएको रिजल्ट? तलको तस्विर रिजल्टको एक सानो झल्को देख्न सकिन्छ।
केहि महिनाको अध्यायन पछि मोवाईल एड हक नेट्वर्कमा भिडयो वाड्नको लागि मैले एक नौलो (संसारमा कसैले पनि नगरेको काम) तरिकाको कल्पना गरें। यो कल्पनाले कस्तो काम गर्छ भनेर टेस्ट नि गरें। तस्विरमा देख्न सकिन्छ नै, मेरो डिजाईन (Case II) ले अरु तरिकाहरु (जुन पहिले नै कसैले गरिसकेको थियो) भन्दा राम्रो गरि भिडियो वाड्न सक्दोरहेछ। (थप जानकारी मेरो थेसिसमा हेर्न सकिन्छ)

यो थेसिसको काम संगै, रिसर्च के हो भन्ने कुरा थाहा पाईयो। विकसित मुलुकमा हुने यस्ता रिसर्चहरु हामी नेपालीहरुले पनि सिक्दैछौ। आशा छ, हामीहरु रिसर्चमा लागेर, नयाँ नौलो काम गरेर संसारलाई नै चकित पार्न सक्ने छौ। रिसर्चमा लाग्ने संपूर्ण नेपालीहरुलाई अग्रिम शुभकामना।

एक अविस्मरणीय दिन

Posted by Nobal Niraula ( नोवल निरौला ) Monday, April 21, 2008

जिवनमा अविस्मरणीय दिन कति हुन्छन कति। यस्तै एक दिन हो यो, १८ मंसिर २०६२ को. वाँकि कथा यो भिडियोमा.....




लाग्छ, ति दिनहरु फर्किउन। के फर्कन्थे र। जे होस यो भिडियोले सुनेपछी भने केहि समय त्यहि वातावरणमा छु की झै लाग्छ।

World Clocks


France
Nepal
Thailand
Korea, Japan
Iowa,Georgia
Australia
BC,Vancouver

Number of Visitors