कालो वादल आकाशमा मडारीरहेको छ। पूर्वतिरको आकाशमा चट्याई्ग पर्ला जस्तो गरी चम्केको विजुलीको चमक यस्तो भयानक छ कि यसले मेरो दैनिक जीवनलाई थाति राखेर संझनाको कोसेलीको पोको फूकाईदिन्छ। विजुली चम्काई पछिको गड्याङ्गुडुङ्ग साइवर संसार हुँदै मेरो कानमा पर्दछ। म चुपचाप वस्छु, छटपटिन्छु। मनले प्रश्नमाथि प्रश्न गर्छ अनि निष्कर्स निकाल्छ: "वौलाउनुभन्दा मर्नु निको" - उसको गलत निर्णय।
आज लेख्न मन थिएन तर पनि लेख्नु परिरहेको छ। उसको गलत निर्णयको वारे लेख्नु नै छ ता कि यस्ता गलत निर्णय नगरिउन जसले घरपरिवार, साथीसँगी, ईस्टमित्र लगायतमा सहन नसकिने चोट पार्दछ। अनौपचारिक रुपमा उसको पखेरु उडेको केहि घन्टामै थाहाभएको भएपनि 08 February 2011 मा नागरिकन्युजमा छापिएको तलको समाचारनै आधिकारिक रुपमा उसले आत्महत्या गरेको पुस्टिगर्ने माध्यम वन्यो ।
हामी एकै व्याचमा पुल्चौक क्याम्पसमा भर्ना भएका थियौं। उ सिभिल ईन्जिनियर वन्ने सपना पुरा गर्न त्यहाँ आएको थियो म भने कम्प्युटर ईन्जिनियर वन्न। पुल्चौक होस्टेलमा वस्दा देखी हामी नजिकिएका थियौ। २-३ वर्ष हामीहरु एउटै होस्टेलमा वसेका थियौं।
अन्तिमपटक उसँगको भेटको संझना गर्दछु म यो वेला। पुल्चौकको पढाईसकेपछी हाम्रो भेट खासै भएको थिएन। July 25, 2010 तिरको कुरा हो। २ वर्षपछि नेपालमा गएको १० दिन जति भएको थियो। भक्तपुर जडिवुटिमा आफन्तकोमा जाँदै गर्दा कसैले पछाडिवाट 'नोवल' भनेर वोलायो। वोलाउने त्यही रेवती थियो। उ वाईकमा रहेछ। काठमाडौ वाहिरको जिल्लामा सरकारी ईन्जिनियर भएर काम गर्दै रहेछ। अनि १ हप्तालाई ट्रेनिङ्गमा काठमाडौ आएको वेला परेको रहेछ। उमेर पुगेका केटाहरु, विहेको ठट्यौली चल्ने नै भयो। 'अव विहे गर्नु पर्छ' - उसले भनेको थियो। उसँग वाटोमा भएको त्यो जम्काभेट नै मेरो अन्तिम भेट रहेछ। मलाई के थाहा विहे नै उसको जीवन लैजाने कारण वन्छ भनेर...।
जिउन भनेर धर्तीमा आएपछी जुनसुकै प्राणीले पनि मर्नुपर्दछ। यो ध्रुव सत्य कुरा हो। तर जव मरण अकालमै आईदिन्छ त्यसले ठूलो चोट पुर्याउँछ। भर्भराउँदो उमेरमा आफन्त, ईस्टमित्र, साथी, सँगी सवैलाई चोटपुर्याएर दैवले किन लगिदिन्छन् ? र के यो मरण जायज थियो त ? अहँ कुनै हालतमा पनि थिएन। चित्त नबुझि विहे गर्नुभन्दा विहेको निर्णय गरेकै भएपनि भागेको भए हुन्थ्यो। परिवारको ईज्जतको कुरा सोच्यो होला तर त्यो कुरा ठूलो हुन्थेन। फेरी विहे गरेकै भएपनि कानुनी तरीकाहरु थिए संवन्ध विच्छेदका। ईन्जिनियरिङ्गका त्यस्ता गार्हा फर्मुला वुझेर भवन, सडक र कूलो वनाउन सक्ने उसले "मर्नु भन्दा वौलाउनु वेस" भन्ने साधारण फर्मूला नवुझेको देख्दा मलाई दु:ख लागेर आउँछ। जे हुनु भैसक्यो। उसको स्वर्गमा वास होस। उसका आफन्त, परिवारजन लगायत सम्पूर्णमा धैर्यधारगर्ने शक्ति दैवले प्रदान गरुन् । हामी एक असल मित्र गुमाउनुपरेकोमा सारै दु:खि छौं। तिमीलाई हार्दिक श्रध्दान्जली रेवती !
***
जाँदा जाँदै : अन्जु पन्तले गाएको सान्दर्भिक गितको भिडियो -
जिन्दगी यो फूलैफूलको थुँङ्गो हुँदैन, फक्रिने र ओईलाउने टुङ्गो हुँदैन
- समाप्त -