२०६७ सालको SLC परीक्षाको नतिजा सार्वजनिक भएको छ। फलामे ढोका मानिने यो परिक्षामा झण्डै ६४ प्रतिशत विध्यार्थी उतिर्ण भएका छन्। यो त्यति उत्साहजनक नतिजा भने होईन किनकी सयजनामा ३६ जना फेल हुनु जस्तो नतिजा पक्कै पनि राम्रो होईन।
यो नतिजा प्रकाशनले आफ्नो SLC को नतिजा प्रकाशन भएको दिनको संझना गराएको छ। गाविसमा रहेको एक मात्र फोन मार्फत काठमाडौमा रहेका दिदीदाईहरुले भाईको प्रथम श्रेणीमा उतिर्ण भएको खवर पठाएको दिन। आहा म त खुशीले मख्ख परेको थिएँ। गाउँ भरी मेरो चर्चा चलेको थियो। सम्पूर्ण क्षेत्रलाई मैले नै प्रतिनिधित्व गरेको महसुस भएको थियो किनकी २ गाविसका ३ वटा स्कूलका करिव १५० जना मध्ये ३ जना मात्र उतिर्ण भएका थियौं । अर्थात १४७ जना फेल भएका थिए। ३ जनामा म प्रथम श्रेणीमा, मेरा कक्षाका अरु २ जना साथीहरु क्रमश: द्वितिय श्रेणी र त्रितिय श्रेणीमा उतिर्ण भएका थियौं । २ वटा विध्यालयका कोही पनि पास भएका थिएनन्।
सरकारी स्कूलको हालत मैंले माथि उल्लेखगरेको मेरो पालीको नतिजावाट पनि नियाल्न सकिन्छ। हुन त समयले नेटो काटिसकेको छ। अहिले स्तर राम्रो भएको पनि हुन सक्छ। तर अझपनि मलाई निजी विध्यालयहरुको दाँजोमा सरकारी स्कुलको हालत निकै तल छ भन्न कतिपनि गार्हो हुँदैन। यी विचको खाडल यति धेरै छ कि म के भनौ। यो खाडलले गर्दा नयाँ नयाँ कहानीहरु जन्मेका छन। एक उदाहरण प्रश्तुत गर्छु यहाँ। काठमाडौको अनामनगरमा डेरा गरेर वस्दाको कुरा हो। एकजना घिमिरे दाई हुनुहुन्थ्यो। उहाँका १ छोरा, १ छोरी र श्रीमती थिए। आफू धेरै नपढे पनि छोराछोरीलाई राम्रो पढाउने उहाँको चाहना थियो त्यै पनि वोर्डिङमा। वोर्डिङ्गमा पढाउनु कति महँगो छ भनि रहनु नपर्ला। भाउजू अनपढ अनि छोराछोरी हेर्दैमा व्यस्त। दाइ सानोतिनो जागिर गर्नु हुन्थ्यो। महँगो काठमाडौमा डेरा तिर्न नसकेर घरवेटीले कोठा छोड्ने अल्टिमेटम दिएका थिए दाइलाई। छोराछोरीलाई वोर्डिङ्गको सट्टा सरकारी स्कुलमा पठाएर गुजारा चलाउन सक्नु हुँन्थ्यो दाइले। तर उहाँले छोराछोरीलाई वोर्डिङ्गमा पढाउन छोड्नु भएको थिएन। डेरा त सरे भयो नि तर छोराछोरीको भविष्य सरकारी वा निजी विध्यालयमा पढाएकोमा भर पर्ने हुनाले घरवेटीको गाली सहेर पनि छोराछोरीलाई वोर्डिङ्गमा पढाउनु पर्छ - उहाँको कुरा यस्तै थियो। अल्टिमेटम पछि उहाँ डेरा छोडेर अर्को ठाउँमा सर्नुभएको थियो। थाहा छैन उहाँले कति पल्ट घरवेटी परिवर्तन गर्नुभयो तर मलाई लाग्छ उहाँले छोराछोरीको लागि वोर्डिङ्ग सट्टा सरकारी स्कुलमा परिवर्तन गर्नुभएन। वावु हुनु त यस्तो ! मेरो सलाम उहाँजस्ता वुवाआमालाई जसले छोराछोरीको भविस्य राम्रो पार्न कैयन गालीहरु हाँसिहाँसि पचाएका छन।
गाउँमा वा गरीव परिवारमा जन्मिदैमा राम्रो शिक्षा र अवसरहरुवाट वन्चित हुनुपर्ने हाम्रो देशको वाध्यता देख्दा सार्है दु:ख लागेर आउँछ । यदि जन्मिएको ठाउँ र पारिवारिक स्थितिले शिक्षामा असर नगर्ने हो भने दिमाख भएका मान्छेहरु अगाडि आउँन सक्दथे अनि समाज अगाडि वढ्दथ्यो। सरकारी विध्यालयवाट आउनेहरुले, गरीव परिवारमा जन्मिनेहरुले र दुर्गमवाट आउनेहरुले देशका उत्क्रिष्ट विध्यार्थीहरुसँग प्रतिस्पर्धा गर्नुपर्दाको कतिको गार्हो हुन्छ भन्ने कुरा मैंले राम्रोसँग भोगेको छु। मेरो दिमाखमा यस्तै यस्तै कुरा घुमेका छन् आज। अनि भन्न मन लागेको छ - "शिक्षाको असमानता हटाउ" !
विगतका केही बर्षहरुमा मैंले सिकेको एक कुरा हो भाषाको महत्व। नयाँ भाषा सिक्नु एक ठूलो काम रहेछ। तर भाषा सिक्ने काम सजिलो पक्कै छैन। जति सानो उमेरमा भाषा सिक्यो उति राम्रो हुने रहेछ। त्यसैले भविष्यमा मेरा छोराछोरीलाई सानैदेखि नयाँ भाषा पक्कै पनि सिकाउने हो :)))
***
उकालो चढ्ने यात्रीहरुले कति उकालो काट्न वाँकि छ भनेर माथि डाँडा तिर हेर्नुहुन्न रे। वरु कति उकालो सकाएँ भनेर तलतिर हेर्नुपर्छ रे। अनि मैंले यत्रो उकालो काटीसकेंछु भन्नुपर्छ रे। यसको एउटै मात्र उदेश्य भनेको हरेस खानवाट जोगाउनु र आत्मविस्वास वढाउनु नै हो। त्यस्तै गरी आज मलाई भन्न मन लागेको छ - दु:खलाई खप्न र दु:खमा नहड्वडाउन आफू भन्दा झन दु:ख परेकाहरुलाई संझिनुपर्छ। सुमनको यो कथा त्यस्तै संझिनलायक एक कथाहरुमा पक्कै पनि पर्छ। उनलाई उत्तरोत्तर सफलताको हार्दिक शुभकामना !
अमेरिकन र युरोपियन भन्ने वित्तिकै खैरे अनि अग्ला भन्ने कुरा दिमाखमा आउँथ्यो। समय अनुसार सुचनाको पहुँच वढ्दै जाँदा कुराहरु वुझिंदै, भोगिँदै, र देखिदै गईयो। आखिर मान्छे न हुन् अग्लो होचो काले गोरे सवै किसिमका मान्छे जहाँ पनि हुन्छन भन्ने कुरा थाहा पाइयो ।
केहि समय अघि हाम्रा वर्तमान प्रधानमन्त्री माधव नेपालको टोली अमेरिकामा गएको थियो । त्यो वेला खिचेको फोटो देख्दा हाम्रा प्रधानमन्त्री जोडिको उचाई निकै कम रहेछ जस्तो लागेको थियो। फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजी पनि होचा नै रहेछन् ओवामाको अगाडि। उनको उचाई ५ फिट ५ ईन्च रहेछ। हाम्रा प्रधानमन्त्री मन्त्रीनी भन्दा अग्ला नै देखिन्छन् तर फ्रान्सका राष्ट्रपति भने उनकी श्रीमती कार्ला व्रुनी भन्दा होचा रहेछन्। कार्ला व्रुनी भुतपुर्व मोडेल हुन् र सार्कोजी राष्ट्रपति भएपछि उनीहरुको विवाह भएको हो।उनको उचाई ५ फिट १० ईन्च रहेछ।
जुन ११, २०१० देखि दक्षिण अफ्रिकामा १९औं विश्वकप फुटबल सुरु हुँदै छ। ३२ राष्ट्रले भागलिने यो प्रतियोगितामा फ्रान्स पनि परेको छ। आफू फ्रान्समै भएकोले निकै रमाईलो लाग्दैछ। फ्रान्सको टिमलाई 'ले व्लु' (Les Bleus) भन्छन् यहाँ। निलो जर्सि लगाउने भएकोले यसो भनिएको हुनुपर्दछ।
विस्वकपको रौनक छाउन थालेको छ यहाँ पनि। कोकाकोलाको वोतलमा खेलाडिका फोटाहरु देखिन्छन्। मेरो फ्लाटमा वस्ने भानसाँङ्क भन्ने फ्रेन्चले रेफ्रिजिरेटरमा 'ले व्लु' का खेलाडिको फोटो टाँसेको छ। त्यसको फोटो राख्दैछु म।
आफ्नो देश विस्वकपमा पुग्दा जो कोहिलाई पनि खुसि लाग्छ नै। उसमाथि विगतको विजेता र उपविजेता फ्रान्स यसमा खेल्न जान पाउँदा यिनीहरुलाई रमाईलो लाग्नु अस्वाभाविक होईन।
तर म 'ले व्लु' को प्रदर्शनवाट कति पनि खुसी छैन। विश्वकपमा स्थान बनाउन फ्रान्सलाई निकै गाह्रो भएको कुरा कहाँ विर्सिन सक्नु। छनोट चरणको अत्यन्त महत्वपूर्ण खेल आयरल्याण्ड विरुद्द थियो। यो खेलमा फ्रान्सले जित्नु नै पर्ने थियो। उक्त खेलमा थिएरी हेनरीको ह्यान्डबल मार्फत गरिएको गोलले गर्दा फ्रान्सले जीतेको थियो। यसलाई 'ल ह्यान्ड अफ गड' (Le Hand of God) पनि भन्छन् र यो मेरो आँखा अगाडि झल्झल्ती छ। फ्रेन्चले हातले गोल गरेको हुनाले Le (ल) थपेर 'ल ह्यान्ड अफ गड' भनिएको हो। किनभने फ्रेन्चमा कुनै पनि वस्तुको लिङ्ग (पुलिङ्ग र स्त्रीलिङ्ग) हुन्छ, त्यो निर्जीव वस्तु नै किन नहोस। यस अघि पनि हातले गोल गरेको घटना नभएको होईन। अर्जेन्टिनाका भेटरान खेलाडि म्यारोडोनाले विस्वकपमा हातले गोल गरेर उनको टिमलाई जिताएका थिए। यसलाई 'हान्ड अफ गड' (Hand of God) पनि भनिन्छ। त्यसपछि हातले गोल गरिएको यो नै अर्को खेल थियो।
प्रसंग किनमेलको हो। भन्छन् नि पैसा छ भने वावुआमा वाहेक जे पनि किन्न पाईन्छ रे। तलको चित्रले पनि यो भनाईलाई पुस्टि गर्दछ। पहिले तस्विर नै हेरौ, अनि गरौंला कुरा ।
२०१० को मे २९ र ३० तारिखमा नेपाली सांस्कृतिक गृह फ्रान्सले प्यारिसमा आयोजना गरेको सातौं नेपाली महोत्सव हेर्ने मौका पाईयो। फ्रान्समा वस्ने नेपालीले कार्यक्रम गर्न र विदेशीहरुलाई नेपालवारे अध्यायन गर्न नेपालकै वातावरण दिलाउने गरी आफ्नै घर वनाउने उदेश्यले सन २००२ मा सुरु भएको रहेछ यो कार्यक्रम। वास्तवमै निकै नै रमाईलो भयो। मैंले सोचे भन्दा धेरै नै राम्रो कार्यक्रम हुने रहेछ। यो देखेपछि गतसाल यो कार्यक्रम छुटेकोमा पछुतो पनि लाग्यो। यदि यस्तो नेपाल महोत्सव हुने जान्दो हुँ त मेरा विदेशी साथीहरुलाई पनि वोलाउने थिएँ। वास्तवमा मैंले २ दिन फ्रान्समा छु जस्तो महसुस नै गरिन। मलाई नेपालकै कुनै मेला भैरहेको ठाउँमा छु झै भैरहेको थियो। कुरा पनि नेपालीमा गर्न पाईने, सजावट पनि उस्तै, राती पनि नेपालीहरुमाझ नै विताईयो। नेपाली सरसामानहरु पसलपसलमा वेच्न राखेका। आहा, कस्तो रमाईलो थियो। अझ नेपाली खाना पनि किन्न पाईने रहेछ। म:म: र सेल खायौं। नेपाली खाना खान पाउँदा मन निकै हर्षित थियो। खासमा दोस्रो दिनको म:म: भने पहिलो दिनको तुलनामा कमै मिठो रहेको ठहर सिद्दु र मैंले गर्यौ, लसुन नै वढी :)
