आई एम गोईन्ग टु सल्यान -- ज भिआँ द्यू नेपाल
समयले कसैलाई पर्खिदैन, न त यसलाई रोक्न नै सकिन्छ। यो त हिडिरहन्छ निरन्तर। यसरी चलयमान समयमा धेरै घटना घट्छन् , कतिपय सम्झिन सकिन्छ त कतिपय सकिन्न। आज कुरा गर्नलागेको घटना म सायदै भुल्छु होला।
मामाघर सेर्ना (ओखलढुङ्गा) जानलाई मेरो घर सल्यान (सोलुखुम्वु) वाट हिड्नेलाई ५ - ६ घन्टाको वाटो होला। प्राय: चाढपर्वमा मावल गईन्थ्यो। मामाघर जान भने पछि हुरुक्कै हुन्थ्यौं हामीहरु। मिठो मिठो खान पाईने र भान्जा भान्जीलाई टिका लगाएर पैसा दिने चलनले पनि मामाघर जान हानाथाप हुन्थ्यो दाइ दिदीहरु विच। कान्छो परेको कारणले होला मैले भने धेरै पटक मौका पाउँथें ।
एक पटक म वुवा आमाको साथमा मावल जान पाएको थिएँ। मेरो मावली वेसीमा परेकोले जाँदा नेचा डाँडाको शिरवाट सेर्नाको पुच्छारसम्मको ओरालो जानुपर्छ। विचमा आउँछ मगर गाउँ। आउँदा भने उही मगर गाउँसहितको उकालो । त्यही उकालोमा विसाउने कैयन चौतारीहरु छन् । दशैमा त अझ लिंग्गे पिङ् हाल्छन् त्यो गाउँमा । आहा कत्ति रमाईलो हुन्थ्यो। मावलवाट उकालो सुरुगर्दा मगरगाउँ आउनु अघि देविथान माथि एक वरको रुख सहितको चौतारी छ। हो त्यो विसौनीमा केहीवेर विसाएर थप उकालो सुरु गर्नासाथ वुवाले सुरु गर्नुभएको थियो, अँग्रेजीमा प्रश्नहरु गर्न:
प्र: ह्वाट ईज योर नेम ?
उ: माई नेम ईज नोवल ।
प्र: हाउ ओल्ड आर यु ?
उ: आई एम 'नायन' (९) यर्स ओल्ड ।
.......
प्र: ह्वेर आर यु गोईन्ग नाउ?
उ: आएन वुवा ।
....
म कक्षा ४ कक्षा पढ्थें ९ वर्षको हुँदा। सरकारी स्कूलमा अंग्रेजी विषय ४ क्लासवाट सुरु गरिन्छ । त्यही भएर म बुवाका सवै प्रश्नहरुको जवाफ दिन सकिरहेको थिईन। फेरी हाम्रो अंग्रेजी विषयको पढाईमा स्पिकिङ्लाई महत्व दिईन्न। त्यो मैले नजानेको प्रश्नको उत्तर वुवाले यसरी दिनु भएको याद छ: "आई एम गोईन्ग टु सल्यान" ।
यसरी मेरो अंग्रेजी भाषासँगको लुकामारी १७ वर्ष अघि सुरु भएको थियो । समयको उतारचढावसँगै म फ्रान्स आएको पनि २ वर्ष पुग्नै लागेको छ । केही फ्रेन्च भाषा सिकेको त छु, तर पनि गार्ह्रो महसुस हुन्छ विशेष गरी शव्द उच्चारणमा। ए आई टी ( थाईल्यान्ड ) मा म्याडम जिनेटसँग फ्रेन्च सिकेको थिएँ। उ वेला म्याडमले प्रश्न गर्नु हुन्थ्यो:
प्र: भू भू जापले कम ? (What is your name ?)
उ: जमापेल नोवाल ।
प्र: भू ज्याभिते उ? (Where do you live ?)
उ: ज्याभित आलाईते ।
प्र: द्यू एत् भू ? (Where are you from?)
उ: ज भे ओ नेपाल ।
हा हा हा हा म्याडम हाँस्नु भयो । मेरो उत्तर त "म नेपाल जादै छु" भन्ने पो परेछ । खासमा म दुईवटा वाक्यहरुमा झुक्केको थिएँ।
१) ज भे ओ नेपाल
र
२) ज भिआँ द्यू नेपाल ।
अरु साथीहरु पनि यि वाक्यहरुसँग झुक्किएकोले म्याडमले नयाँ आईडिया निकालेर नझूक्किने गरि सिकाउँनु भएको थियो। उहाँ वाक्यसँगै हातको ईसाराले नाँच्नु भएको थियो। "ज भे ओ नेपाल" भन्दा हात शरीर भन्दा पर लैजाने र "ज भियाँ द्यु नेपाल" भन्दा हात परवाट शरीर तिर ल्याउने किसिमको नाँच । अनि त कहाँवाट झुक्किनु नि हा हा हा ।
कपाल फूलेका फ्रेन्चहरुले समेत मेरो अफिस नजिकैको कोठामा अंग्रेजी भाषा सिकेको देख्दा झन रमाईलो लागेर आउँछ। होला मलाई अझै केहि वर्ष लाग्ला फ्रेन्चमा बोल्न तर तिनीहरुको उमेर भन्दा त निकै अघाडि नै आउलानी भन्ने आशा गर्दै मेरा प्रयासहरु अघि वढ्दै छन् । भाषा सिक्नु सुरुमा वाध्यता लागे पनि अहिले रहर वनेर उर्लेको छ। जे होस यिनै दुई वाक्यहरु ( "आई एम गोईन्ग टु सल्यान" र "ज भिआँ दु नेपाल") मेरा अंग्रेजी र फ्रेन्च भाषासँग लुकामारी खेल्दाका कोषेढूङ्गा बनेर वसिरहेका छन्, रमणिय भूतको याद दिलाउँदै ।
म उनीहरुको वातचित हल्का रुपमा सुन्दै पनि थिएँ, किनकी फ्रेन्च सिक्ने यो पनि एउटा तरिका हो। उनीहरुको वातचितको क्रममा मैले धेरै पटक एउटा शव्द सुनिरहें ‘रकेट’। खासमा उनीहरुले गरिरहेको रिसर्चको कुरा मलाई पनि थाहा थियो। त्यै भएर पनि उनीहरुको कुरा केहि हदसम्म म बुझिरहेको थिएँ। तर पटकपटक सुनेको ‘रकेट’ शव्दले मेरो ध्यान तान्यो। यिनीहरुले यो रिसर्चको कुरा छोडेर कतै अन्तरिक्षमा पठाउने ‘रकेट’को त कुरा गर्न थालेनन्? - म सोच्दै थिएँ। तर अहँ, पक्कै हैन, कुरा त उही रिसर्चको नै भैराको थियो अझ पनि।
‘रकेट’ शव्द अरु दिन पनि नसुनेको हैन तर यसपटक भने निकै पटक दोहोरिसकेको थियो । यसरी प्रयोगमा आईरहने शव्द सुनेर मात्रै वस्नु ठीक हैन भन्ठानेर सोध्ने निर्णय गरें र सोधें पनि। आहा, ‘रकेट’ हा हा हा, त्यो पो रहेछ ‘रकेट’ भनेको त, हा हा हा - मैले हल्का हाँसो छाडे। “किन हाँसेको ?” - उसले सोध्धै थियो। “त्यतिकै” - मैले टारें।
हो, मैले सुनेको ‘रकेट’ त “requête" अर्थात अंग्रेजीको “request”, पो रहेछ जुन शव्दसँग त म परिचित नै थिएँ। शव्द थाहा पाएपछि उच्चारण विचार गरें। उनीहरुले ‘हकेट’ भनेको हुनुपर्छ तर मेरा कानले ‘रकेट’ नै सुनेथे :)। कुरा यै त हो, जानेको शव्द पनि उच्चारण थाहा नहुँदा नजानेको झै हुन्छ फ्रेन्चमा। उहिवेला मनमनै एक गीत वज्न सुरु भैसकेको थियो: “स्वामीजीले भन्नुभयो अँग्रेजीमा ‘वाटर’, नबुझेर मैले दिएँ काँचो ‘कटर’ ” - भलै म त्यस्तो परिस्थितिमा भने अझै पुगिसकेको थिईन :)
तस्विर: निर्मलदाई र उहाँका आफन्तहरु