यो हप्ता निस्चल र पूजासँगको घुमघामले निकै आनन्द दिलायो। मनमिल्ने साथीहरुलाई धेरै समय पछि भेट्दा निकै रमाईलो लाग्ने रहेछ। सेमेस्टर सकिएर नयँवर्षको छुट्टीमा उनीहरु मलाई भेट्न Memphis सहरमा आएका थिए। उनीहरुसँग यो सहर घुम्न पाउँदा रमाईलो लागिरहेको थियो।
पूल्चोकमा ४ वर्षसँगै पढेका हामीहरुको यो भेट धेरै हिसावले विशेष थियो। पहिलो त यिनीहरुसँग बि.ई. पास गरेपछिको यो नै पहिलो भेट थियो भनेपनि हुन्छ। वि.ई. पास गरेपछि जागिरे जीवनमा लागिने हुँदा साथीहरुसँग भेटघाट गर्ने अवसर नै कम हुन्छ। उसमाथी म AIT हिडेंपछि भेटघाट र जमघटका अवसर आउँदा पनि भेट हुन सक्ने अवस्था थिएन। पछि पूजा त्यसपछि निस्चल अमेरिका हिडेपछि नेपाल जाँदा भेटघाट गर्न पनि सम्भव थिएन।
दोस्रो यिनीहरुलाई पतिपत्नीको सम्वन्धमा गाँसिसकेपछि पहिलो पाली भेट्दै थिएँ। पढ्ने वेला यो सम्वन्धको कुनै छाँटकाँट नदेख्दा गरिने कुराकानी वेग्लै हुन्थ्यो। उ वेला यिनीहरुले एक आपसमा गर्ने व्यवहार र हाल पति पत्नी हुँदाको व्यवहार त फरक हुने नै भयो। निकै फरक ! यिनै दुई भिन्नताहरुको विचमा रहेर अतितका कुरा सम्झिदै जिस्किदै हाँसो ठट्टा गर्न पाउँदा निकै रमाईलो लागिरहेको थियो।
तेस्रो, अमेरिकामा मेरा पूल्चोकका साथीहरुसँगको पहिलो भेट नै यिनीहरुसँगवाट सुरु भयो। मेरो फ्रान्स वसाई टुङ्ग्याएर अमेरिका आउनुको कारणहरुलाई यो भेटघाटले समर्थन जनाउँदै थियो। मान्छेलाई उसको समुदाय चाहिन्छ। फ्रान्समा यो वेला अमेरिकाको जस्तो नेपाली समुदाय छैन र पछि हुने सम्भावना पनि कम छ किनकी नेपालीहरुलाई भाषाको कारणले त्यहाँ जान र गएपछि टिक्न गार्हो छ। तर अमेरिकामा त्यो समस्या छैन। चाहियो भने यसैगरी साथीहरुसँग भेटघाट गर्न गार्हो छैन। त्यसैले पनि यो भेटघाट रमाईलो थियो।
यी तीन प्रमुख कारणले गर्दा यो भेट रमणीय रह्यो। समय नै यस्तो चिज हो जो हाम्रो अधिनमा छैन। समयको दौरानमा को कता पुग्छ को कता केही थाहा हुन्न। आज समयले हामीहरुलाई नजिकै पुर्याईदिएको छ त्यसैले त यस्ता रमाईला भेटघाट गर्न पाईएको छ। यस्ता घुमघाम र भेटघाटले मनलाई चँङ्गा र आनन्दित पनि पारेको छ।
निस्चल र पूजासँगको रमाईलो घुमघाम
Posted by
Nobal Niraula ( नोवल निरौला )
Wednesday, December 29, 2010
- समाप्त -
0 comments