Apartment वाट Computer Science Department जाने वाटोमा हरेक दिन मखमली फूलेको देख्दा कतै तिहार आउँदै त छैन भन्ने आभास हुन्थ्यो। नभन्दै नेपाली क्यालेन्डर पल्टाएर हेर्दा तिहार आउनै लागेको रहेछ। त्यसपछि हरेकपाली मैंले ति फूलहरु देख्दा मेरा दिदीहरुको संझना आउँथ्यो। दिदीहरु साथै भैदिएको भए University मा फूलेका यी मखमली फूलहरुको उपयोग गरिन्थ्यो होला। म कलेज जाँदा यस्तै-यस्तै सोचिरहन्थें।
म तिहारको वेलामा यो ठाउँमा फोटो खिच्छु भनेर मनमनै सोचिरहन्थें । मेरो भित्री चाहना यस्तो थियो- फोटोमा म हुनेछु, पछाडी यो ढकमक्क फूलेको मखमली हुनेछ अनि फोटोको टाईटल लेख्ने छु- "भाइटिकाको मौसम छ, कलेज भित्रै यि मखमली फूलेका छन्, तरपनि कुनै रौनकता छैन..."।
समय वित्दै गयो। "भाईटिका पर्सि छ। आज जसरी पनि मैंले फोटो खिच्नुपर्छ"- उही वाटो हुँदै प्रोफेसरसँगको मिटिंङ्गमा जाँदा म सोच्दै थिएँ। म हतारमा थिएँ। मेरो फोटोलिदिनलाई नजिकै मेरा साथीहरु पनि थिएनन्। मिटिङ्ग पछि साथिसँग आएर म खिच्छु भनेर म मिटिङ्गमा हिडें।
करिव ४ घन्टा पछि म मेरो साथिलिएर फोटो खिच्न पुगें। तर............ अफसोच फूलहरु थिएनन्। साथी भन्दै थियो- "फूलहरु यही फूलेका थिए र? अर्को तिर होला। भवनहरु उस्तै छन्, तिमी झुक्कियौ होला "। हामीले नजीकैको क्षेत्र केलायौं तर अहँ फूल छैनन्। म भन्छु यहिँ थिए फूल। तर अहिले फूल भएको कुनै संकेत छैन त्यहाँ। त्यसैले साथीले भन्न लाग्यो, "तिमी सपना देख्दै हिड्दो रैछौ कि क्या हो"। तव मैले मेरो IPhone वाट विहान आउँदा खिचेको फोटो देखाएँ। जुन यस्तो थियो:
४ घण्टाको फरकमा यति ठूलो परिवर्तन ? राम्रा फूलहरु "आजै" किन निमोठ्न परेको हो तिनीहरुलाई ? फेरी भाइटिका मनाउने देश भए एउटा कुरा, निसानी नै केही नराखी किन उखेल्न सकेका हुन ? - म मनमनै प्रश्न माथि प्रश्न तेर्साउँदै थिए। मेरो साथी चकित परेर मलाई हेर्दै थियो भने म अपुरो चाहनाको अमिलो स्वाद मन नपरिकन चाख्न वाध्य थिएँ....।
0 comments