July 15, 2008
पढ्न अल्छि लाग्यो? सुन्नुस उसो भए
टिरिंग टिरिंग फोन बज्छ, हत्त पत्त उठ्दछु। हेल्लो, हेल्लो? केही बुझिन्दैन। लाग्छ कसैले ब्लफ कल दिए जस्तो। लौ, फेन्चमा पो वोल्छ त। म पनि कस्तो भुलक्कड, सुत्नु अघि फोनमा घन्टि लगाएको पो त है; म तंग्रिन्दै जाँदा, बुझ्दै जान्छु।
फोनको घन्टिवाट सुरु हुन्छ मेरो बिहानी। यो फोनको काम अरु के नै छ र? हदै भए बिसमा एक फोन आउला, नत्र यो फूटेको कौडि जति पनि प्रयोगमा छैन बोल्नको लागि। तर ठूलो सहारा दिएको छ यो कौडिले, किनकी भनेको बेलामा घन्टि दिन्छ, मेरो आदेशलाई मानेर। भलै म फ्रेन्च राम्रो नवुझौंला, तर घन्टि न हो, भाषा किन वुझ्नु पर्यो र।
न त भाले वास्छन् यहाँ र उठ्नु, न त बासेकै भएपनि उठ्ने हुँ म। एक मनले सोच्छु, यहाँ भाले बासेकै भएपनि फ्रेन्चमा वास्थे होलान, कुकुर भुक्ने नै भए पनि फेन्चमा भुक्थे होलान्। त्यसैले तिनीहरु भएपनि नभएपनि कुनै गुनासो छैन। तर हैन, कुकुर भुकेकै भएपनि वा भनौं भाले डाकेकै भएपनि पहिलो वाक्य चै वुझ्थें होला J; उहि त हो वोंजु भन्थ्यो होला , साल्यु भन्थ्यो होला, बौलाएको भाले परे राति १२ बजे वासे वोन्युई भन्थ्यो होला …., केहि सहारा त पाईन्यो।
विहान ढल्कदै जाँदा ट्रेन पक्डन दौडिन्छु म। ८:२० मा छुट्ने ट्रेनलाई हेला गरेर, पहिल्यै तयार भएपनि ८:१० नबजी हिड्दै हिड्दिन; मरोस, आज वाटोमा अलिक लामा पाईला गरौला भनेर। किन-किन यो ज्यान यति बिहानै हिड्नै मान्दैन।
वाटोमा जाने आउनेको लस्कर। मेरो लामा-लामा पाईला अरु वाटो हिड्नेको तुलनामा एकदम छोटो सावित हुन्छन्। यहाँका मान्छेहरु कति फटाफट हिडेका हुन्। नेपालमा हुँदो हुँ त कस्तो घोडा जस्तो दौडेको भन्थे होलान् । ऊफ कस्तो ठाउँ यो, जहाँ मेरो लामालामा पाईला नि निकै छोटा झै लाग्ने।
ट्रेन स्टेसनको डिस्प्ले वोर्डलाई नियाल्छु म, ८:१८। अझै दुई मिनेट बाँकि ट्रेन आउनलाई। म कल्पिन्छु, म पुल्चोक क्याम्पसको गेटमा २६ नं को गाडिलाई कुरिरहेको वेला १० मिनेट, २० मिनेट अनि आधा घन्टा सम्म वस नआएको संझन्छु अनि तुलना गर्छु र पाउँछु, आकाश पातलको फरक। पैसा तिरेर पनि सुविधा पाउन कुरिनु पर्ने पुल्चौकको वस कुर्ने ठाउँ, उपभोक्ताको हक संझिन्छु म। कतै सेकेन्ड फरको नपरी आउने ट्रेन, ढिलो आएमा सुचना दिने व्यवस्था, कल्पनामै हराउछु म। कम्प्युटर ह्यांग भएर माउसलाई मतलव नगरे जस्तो, दिमाख ह्यांग भएर टोहोलाई रहन्छु म। ह्यांग भएको कम्प्युटरले बेला बेलामा माउसको टुप्पो सारे जस्तो मेरो दिमाखले छोडिदे तुलना गर्न भन्छ मलाई। म आदेश शिरोधार्य गर्छु, अनि उक्लिन्छु आईसकेको ट्रेनमा।
काठमाडौको कोचाकोच वसमा खुट्टा राख्न नपाउने क्षण, धुवाँको मुस्लो मुखै निर परेर रुमालै नभएपनि हातले छेकेको क्षण, प्वाँ प्वाँ पारेर कान वटारिने हर्नको आवाज, मेरो दिमाखको प्रोसेसरले दिमाखको मेमोरीमा लोड गर्छ, अनि भेरिएबल 'ए' मा राख्छ (दिमाखको दाहिने पाटोमा)। अनि खुट्टा ते्र्साएर वस्न पाईने २ तल्ले विजुली वाट चल्ने यो ट्रेन, विना आवाज र आरामदायी यात्राको अनुभव दिलाउने यो वाहान, धेरैजस्तोको हातमा किताव भएको यो क्षणलाई दिमाखको मेमोरीमा भेरिएवल 'वि' ( देव्रे पाटोमा) दिएर राख्छ दिमाखको प्रोसेसरले। अनि सुरु गर्छ कम्प्यारिजनको फंक्सन( तुलना)। किन हो किन, उत्तर दिन्छ NaN (Not a Number). मतलव, तुलना गर्दा फरक यति धेरै आयो कि जसलाई दिमाखको मेमोरिमा राख्न सकिएन अर्थात फरक अनन्त (Infinity)। मेरो दिमाख फेरि ह्वांग, हुन्छ।
उसै त ह्यांग भएर तातिएको दिमाख, ट्रेन भित्रको तातोले अझै तातिन्छ र सुस्ताउँछ, अनि सपना देख्छ केही क्षणलाई। दिमाख किन हो झर्ने ठाँउँ अघि नै फेरी काम गर्न थाल्छ। थपक्क ट्रेनवाट झर भन्छ Gare du Nord (उत्तरको स्टप) मा। म खुरुखुरु मान्छु, निस्कन्छु बाहिर अनि लाग्छु अफिस तिर।
वेलुका उही रुट, उही दिमाख, उही ट्रेन तर भोकाएको भुँडि, कामवाट थकित दिमाख। जति थकित भएपनि अक्सर यो दिमाख तुलना गर्ने काम गरिरहन्छ, ह्यांग हुने नै भए पनि। अनि प्रश्न गरिरहन्छ मलाई किन यस्तो फरक, कस्को कमजोरी, कस्को लापरवाही। म आजित हुन्छु, म अवाक्य हुन्छु, म बिचलीत हुन्छु; मेरो दिमाखको प्रोसेसर मलाई सोधि रहन्छ, तर म नाजवाफ बनिरहन्छु, नाजवाफ बनिरहन्छु।
0 comments